१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
टोङ झाओ
२o८१ जेठ २ बुधबार o७:४६:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चीनले किन बढाइरहेछ आणविक अस्त्र ?

अमेरिका र चीनबीच रचनात्मक वार्ता सुरु भएन भने परिणाम खतरनाक हुन सक्छ

Read Time : > 3 मिनेट
टोङ झाओ
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४६:oo

अमेरिकाले चीनसँग आणविक शक्तिको भन्दा पनि ‘आपसी नाजुकपन’बारे कुरा गर्ने वेला भएको छ । बेइजिङले आणविक अस्त्र तीव्र गतिमा विस्तार गरिरहेको कुरा सबैसामु स्पष्ट छ । भू–उपग्रहीय तस्बिरले चीनले एक सय नयाँ अन्तर–महादेशीय ब्यालेस्टिक मिसाइल भण्डारण क्षेत्र विकास गरिरहेको देखाएको छ । अघिल्लो महिना चीनले सारा पृथ्वीको चक्कर लगाउने आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण गर्‍यो । यस्तो हाइपरसोनिक मिसाइल सफल परीक्षण गर्ने पहिलो मुलुक बनेको छ, चीन । अमेरिकाका वरिष्ठ सैन्य अधिकारीले यसलाई पछिल्लो समयको ‘उल्लेखनीय घटना’को रूपमा व्याख्या गरेका छन् । चीनले सन् २०३० सम्ममा हतियार चार गुणा बनाउने पेन्टागनको चिन्ता छ । 

अमेरिका र चीनबीच रचनात्मक वार्ता सुरु भएन भने परिणाम खतरनाक हुन सक्छ । केही अमेरिकी विज्ञको तर्कमा चीन अमेरिकाको मिसाइल प्रतिरक्षा प्रणालीलाई निष्प्रभावी बनाउने मार्ग खोजिरहेको छ । पछिल्लो हाइपरसोनिक मिसाइल परीक्षण यसै उद्देश्यबाट प्रेरित भएको उनीहरू बताइरहेका छन् । अमेरिकाको मिसाइल प्रतिरक्षाका कारण बेइजिङका आणविक विज्ञ आफ्नो मुलुकमाथि अमेरिकी आणविक हमला हुँदा पनि प्रत्याक्रमण गर्न नसकिने अवस्था रहेको मान्छन् । प्राविधिक रूपमा यो सही होला, तर यहाँ बृहत्तर भूराजनीतिक तस्बिर बिर्सनु हुँदैन । अमेरिकाको मिसाइल प्रणालीको क्रमिक विकास र चीनको तुलनात्मक आकस्मिक वृद्धिबीच तुलना हुँदैन । 

चिनियाँ राष्ट्रपति सीले मार्च महिनामा ‘उन्नत रणनीतिक रक्षात्मक प्रणालीको निर्माण वृद्धि’ गर्न निर्देशन दिए । सीको सो निर्देशनले चीन आफ्नो कमजोर आणविक क्षमताप्रति चिन्तित रहेको देखाउँछ । किनकि, चीनको मनमा भोलि शक्तिसंघर्षको महत्वपूर्ण घडीमा अमेरिकाको सबलताले चीनको वृद्धिलाई कमजोर बनाउन सक्छ भन्ने चिन्ता छ । चिनियाँ अधिकारीहरू चीनको आर्थिक र सैन्य वृद्धिबाट अमेरिका त्रस्त रहेको मान्छन् । अमेरिका बलपूर्वक भए पनि आर्थिक (केही समयपछि) र सैन्य रूपमा (लामो अवधिमा) आफूलाई उछिन्नबाट चीनलाई रोक्ने प्रयासमा रहेको चिनियाँ अधिकारी सोच्न थालेका छन् । मानवअधिकार, विधिको शासन, हङकङ र ताइवानको विषयमा अमेरिकाको बढ्दो दबाबलाई यसको प्रमाणका रूपमा हेर्न थालेका छन् । यी कार्यबाट अमेरिकाले चिनियाँ सरकारको वैधानिकतामा प्रश्न उठाउन, देशलाई अस्थिर बनाउन र चीनको राष्ट्रिय एकतामा भाँजो हाल्न खोजेको उनीहरूको विश्लेषण छ । 

एक दशकअघि छोटो समयका लागि म बेइजिङमा विदेश मामिलासम्बन्धी निजामती कर्मचारीको रूपमा कार्यरत थिएँ । विगत सात वर्षदेखि बेइजिङमा बसेर स्वतन्त्र आणविक नीतिविज्ञको रूपमा काम गरिरहेको छु । म स्पष्ट छु, बेइजिङको आणविक वृद्धि वासिङ्टनलाई सम्भावित रणनीतिक आक्रमण परित्याग गर्न लगाउने र ‘आपसी नाजुकता’को सम्बन्ध स्वीकार गराउने प्रयास हो । आपसी नाजुकताको सम्बन्धमा एक मुलुकले अर्को मुलुकलाई आक्रमण गर्दा दुवै मुलुक जवाफी आक्रमण हुने डरमा हुन्छन् । अमेरिका यस्तो सम्बन्ध निर्माण गर्ने चिनियाँ चाहना सम्बोधन गर्न इच्छा देखाइरहेको छैन । यसैले अमेरिकाको ‘पूर्ण सुरक्षा’ हासिल गर्ने लक्ष्यप्रति बेइजिङमा डर छाएको छ । दुई मुलुकबीच आणविक प्रतिस्पर्धा बढ्न नदिने हो भने अमेरिकाले चीनसँग ‘आपसी आणविक नाजुकपन’को सम्बन्ध स्विकार्ने वेला भएको छ । 

केही अमेरिकी विज्ञको तर्कमा चीन अमेरिकाको मिसाइल प्रतिरक्षा प्रणालीलाई निस्प्रभावी बनाउने मार्ग खोजिरहेको छ । पछिल्लो हाइपरसोनिक मिसाइल परीक्षण यसै उद्देश्यबाट प्रेरित भएको उनीहरू बताइरहेका छन् । 

विगतमा पनि यस्तो कदम उठाइएको इतिहास छ । यसको विकल्प खतरनाक भएकाले पनि प्रयास गर्नुपर्छ । सन् १९८५ मा रेगन–गोर्बाचोभद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको थियो– ‘आणविक युद्ध कहिल्यै पनि जित्न नसकिने भएकाले यो युद्ध कदापि लडिनु हुँदैन ।’ यो वक्तव्यले शीतयुद्धको तापलाई कम गर्न सघाएको थियो । अमेरिकी र चिनियाँ नेतृत्वबीच यस्तै आपसी प्रतिबद्धता भएमा आजको नयाँ हतियारको दौडलाई निस्तेज बनाउन सघाउँछ । विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउन पनि सघाउनेछ । 

नयाँ व्यवस्थाले अमेरिका शान्तिपूर्ण सह–अस्तित्व स्विकार्न तयार छ र अमेरिकाले चीनको मूल स्वार्थलाई चुनौती दिँदैन भनेर बेइजिङ विश्वस्त हुनेछ । अमेरिका–चीन सम्बन्धको भावी अवधिबारे थप आत्मविश्वास विकास भएपछि बेइजिङले वासिङ्टनसँग व्यापार विवाद, साइबर आक्रमणजस्ता अन्य द्विपक्षीय समस्यामा सहकार्य गर्न थप सक्रियता लिन सक्छ । निश्चित रूपमा विपरीत असर पनि हुन सक्छ । चीनले दबाबको रणनीतिले काम गरेको सोचेर थप सैन्य वृद्धि गर्दै अमेरिकाबाट थप छुट पाउन सकिने निष्कर्ष निकाल्न सक्छ । अमेरिकाबाट आणविक आक्रमण नहुने आश्वासनलाई चीनले अन्य आक्रामक व्यवहार गर्ने छुटको रूपमा हेर्ने खतरा पनि छ । जस्तो, चीनले साउथ चाइना सीका विवादित टापु कब्जा गर्दा अथवा ताइवानसँग बलपूर्वक एकीकरण गर्दा पनि अमेरिकाले बेवास्ता गर्नेछ भन्ने ठान्न सक्ने सम्भावना पनि छ । यी जोखिम न्यूनीकरण गर्न अमेरिकाले विभिन्न कदम उठाउन सक्छ । 

मुख्यतः ‘आपसी नाजुकपन’को सम्बन्धका फाइदा धेरै छन् । त्यसैले अमेरिकाले यसबारे खुला रूपमा छलफल गर्न चीनलाई निमन्त्रणा गर्नुपर्छ । चीनले आपसी नाजुकपनको सम्बन्धबाट के अपेक्षा गर्छ भन्ने कुरा दुई पक्षले सहमत हुन सक्ने संरचनामा प्रस्तुत गर्नुपर्छ । बेइजिङले आफ्नो क्षेत्रीय सैन्य क्रियाकलाप तथा ताइवानसम्बन्धी योजनाबारे अमेरिकाको चिन्तालाई सम्बोधन गर्नुपर्छ । यसको विकल्पमा पूर्वी एसियास्थित अमेरिकी मित्रसँग सैन्य विश्वास विकास गर्नेबारेमा छलफल गर्नेदेखि क्षेत्रीय विवादमा सैन्य शक्ति प्रयोग नगर्ने सहमति गर्न सकिन्छ । यो सबका लागि चीन लचिलो हुनुपर्छ । 

अमेरिका–रुसबीच कायम आपसी नाजुकपनको सम्बन्धका बाबजुद अमेरिकाले मस्कोको मानवअधिकारको आलोचना गर्न रोकेको छैन । भोलि अमेरिका–चीनबीच ‘आपसी नाजुकपन’को सम्बन्ध विकास भएमा अमेरिकाले चीनलाई चिनियाँ अधिकारीले चाहेजसरी सम्मान गर्नेछैन । मुख्य कुरा, सम्बन्धलाई स्थिर बनाउन एकतर्फी रूपमा गरिने आणविक वृद्धिले भन्दा दुवै पक्ष सहमत हुने व्यवहार महत्वपूर्ण हुन्छ । यो कुरा दुई पक्षले जति छिटो बुझ्यो, त्यति नै चाँडै परिवर्तन आउनेछ । आपसी आणविक संवेदनशीलताको स्वीकारोक्ति द्विपक्षीय सम्बन्धलाई थप रचनात्मक मार्गमा हिँडाउने एक भरपर्दो र महत्वपूर्ण कदम हुनेछ ।

टोङ झाउ बेइजिङस्थित कार्नेगी इन्डाउमेन्ट फर इन्टरनेसनल पिसको आणविक नीति कार्यक्रममा सिनियर फेलोका रूपमा छन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य 

ad
ad