मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ कार्तिक २९ सोमबार ०६:३४:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमाले दशौँ महाधिवेशन : वरिष्ठ उपाध्यक्षका तीन प्रमुख आकांक्षी

Read Time : > 4 मिनेट
२०७८ कार्तिक २९ सोमबार ०६:३४:००

वडा र पालिका अधिवेशनसँगै अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट गरेर एमाले अध्यक्ष केपी ओलीले दशौँ महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय नेतृत्वको कोसिस गरेका छन् । तर, पार्टीमा अध्यक्षपछिको दोस्रो वरीयतामा रहेको वरिष्ठ उपाध्यक्षका लागि तीन शक्तिशाली नेताले दाबेदारी पेस गरेका छन् । एमालेले विधान महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी रहने गरी दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिने विधान पारित गरेको छ । 

महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र पार्टी विभाजनमा ओलीलाई साथ दिएका पूर्वमाओवादी समूहका नेता रामबहादुर थापा बादल वरिष्ठ उपाध्यक्षका आकांक्षी देखिएका छन् । अहिले पोखरेल, नेम्वाङ र थापा तीनै नेता ओलीनिकट छन् । ओली समूहमै पनि नेम्वाङ र थापाका भिन्दाभिन्दै समीकरण पनि छन् । एमालेले विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष अध्यक्षपछिको दोस्रो वरीयता हुने र त्यसपछि चार उपाध्यक्ष रहने विधान पारित गरेको छ । नयाँ पत्रिकासँगको कुराकानीमा एमाले संसदीय दलका उपनेता नेम्वाङले पार्टीको आसन्न दशौँ महाधिवेशनमा अध्यक्षपछिको दोस्रो वरीयताको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने संकेत गरेका छन् ।

‘हाम्रा अध्यक्ष केपी ओलीले एउटा परिस्थितिमा क्लास दोहोर्‍याउँदिनँ भन्नुभएको थियो, तर अहिले जुन ढंगले एमालेमाथि घेराबन्दी भइरहेको छ, यस्तो अवस्थामा पार्टी र मुलुकका लागि तपाईंको नेतृत्व फेरि आवश्यक छ भनेर हामीले पुनः अध्यक्षमा निर्वाचित हुनुहोस् भनेर उहाँलाई आग्रह गरेका छौँ । र उहाँ नै नेतृत्वमा आउनुपर्छ भन्ने टुंगोमै पुगिसकेका छौँ,’ नेम्वाङले भने, ‘त्यसैले अध्यक्षबारे अन्यथा सोच्ने कुरा भएन, त्यसभन्दा बाहेकका पदमा विचार गर्ने हो, मलाई धेरै साथीहरूले तपाईंले अहिलेसम्म जुन भूमिका र जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ, त्यस हिसाबले उपयुक्त पदमा दाबी गर्नुस् भन्ने सुझाव दिइरहनुभएको छ ।’ 

स्थायी समिति सदस्य रहेका नेम्वाङ संसदीय दलमा ओलीपछिको दोस्रो वरीयतामा छन् । ओलीले सरकारको नेतृत्व गर्दा र त्यसपछि प्रतिपक्षको भूमिकामा रहँदा उनको अनुपस्थितिमा संसदीय दलमा नेम्वाङले नै समग्र नेतृत्व गर्दै आएका छन् । महाधिवेशन नजिकिँदै गर्दा महासचिवका दाबेदार विष्णु पौडेल र दशबुँदे सहमतिका पक्षधर नेताहरूस“ग नेम्वाङले संवाद बढाएका छन् । 

विधानअनुसार तेस्रोपटक महासचिव बन्न नसक्ने भएकाले पोखरेलका लागि वरिष्ठ उपाध्यक्ष बाध्यकारी दाबेदारी बनेको छ । दुईपटक महासचिव भइसकेका ईश्वर पोखरेलले पनि निकटस्थहरूलाई आफूले पनि वरिष्ठ उपाध्यक्षमै दाबी गर्ने बताउँदै आएका छन् । उनले केही अन्तर्वार्तामा समेत वरिष्ठ उपाध्यक्षमा आफ्नो स्वाभाविक दाबेदारी रहने बताएका छन् । 
पोखरेलले विधान महाधिवेशनदेखि नै निकट प्रतिनिधिमार्फत त्यही पदमा आफ्नो दाबी रहने प्रस्ट संकेत गर्दै आएका छन् । तर, ओलीको जोड नेम्वाङ वा थापामध्येबाटै वरिष्ठ उपाध्यक्ष बनाउने तयारी रहेको उच्च स्रोतले जनाएको छ । चुनाव भएमा भने नेम्वाङले पोखरेललाई कडा चुनौती दिने अवस्था छ । 

तत्कालीन नेकपाको शक्तिसंघर्ष र पार्टी विभाजनमा पनि साथ दिएको भन्दै ओली मन्त्रिपरिषद्का गृहमन्त्रीसमेत रहेका बादलले पनि एमाले महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षको भूमिका खोजेका छन् । प्रतिनिधि छनोटमा पूर्वमाओवादीको झिनो उपस्थिति छ । तर, एकताका सन्देश दिन आफूहरूलाई सम्मानजनक भूमिका दिनुपर्ने पूर्वमाओवादी नेताहरूको माग छ । पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले पार्टी एकताको निरन्तरताका रूपमा महाधिवेशन हुन लागेकाले सर्वसम्मति नै उपयुक्त हुने धारणा राखे । 

‘तलैदेखि सहमतिमै प्रतिनिधि चयन भएको छ । यसले सबै प्रकारका प्रवृत्तिलाई मिलाएर लैजानुपर्छ र कसैको हारजितभन्दा पनि सबैले जित्ने मान्यता बोकेको छ । मूलतः सहमतिबाटै महाधिवेशनबाट नेतृत्व चयनको आधार खडा गरेको छ,’ नेता रायमाझीले भने, ‘विधान महाधिवेशनमा पार्टीको राजनीतिक विचार र कार्यदिशा, विधान नै सर्वसम्मत भइसकेकाले अब नेतृत्वमा सर्वसम्मति हुँदैन भन्न सकिने कुनै आधार नै छैन ।’ 

वरिष्ठ उपाध्यक्षमा अहिलेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको पनि आकांक्षा छ । स्रोतका अनुसार ओलीले उपाध्यक्ष ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष तथा सो आयोग अध्यक्ष रहेका अमृत बोहरालाई सल्लाहकार कमिटीको अध्यक्ष बनाउने तयारी गरेका छन् । यसबाहेक ओलीले निकटस्थ नेताहरूमार्फत सर्वसम्मत नेतृत्व चयनका लागि आन्तरिक गृहकार्य पनि सुरु गरेका छन् । तर, अहिले पदाधिकारीमा रहेका नेताहरू र पूर्वमाओवादी समूह तथा नयाँ आकांक्षीसहितलाई पदाधिकारीमा समेट्नुपर्ने ओलीमाथि चुनौती छ । 

८५ प्रतिशत प्रतिनिधि छनोट, पूर्वमाओवादी र दशबुँदे सहमति पक्षधर नेतामाथि दबाब
आगामी १० देखि १२ मंसिरसम्म चितवनमा सम्पन्न हुने दशौँ महाधिवेशनका लागि एमालेले शनिबार स्वदेश र प्रवासमा प्रतिनिधि छनोट सम्पन्न गरेको छ । आइतबार साँझसम्म करिब ८५ प्रतिशत प्रतिनिधि छनोट भएको सचिव तथा प्रचार उपसमितिका संयोजक योगेश भट्टराईले बताएका छन् ।‘अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको छ ।’

छनोट भएका ९० प्रतिशतभन्दा धेरै प्रतिनिधि सर्वसम्मत चुनिएका छन् भने त्यसबाहेकका प्रतिनिधि मात्रै मतदान प्रक्रियाबाट निर्वाचित भएका छन् । यसले महाधिवेशनको दुई साताअगावै अध्यक्षसहित केन्द्रीय नेतृत्व पनि सर्वसम्मत चुन्न सकिने आधार खडा गरेको नेताहरूको दाबी छ । न्यून प्रतिनिधिका कारण दशबुँदे सहमति गरेर एमालेमै बसेका नेताहरूमाथि पनि ओलीले अगाडि सार्ने सहमतिको प्रस्ताव स्विकारेर बढ्नुपर्ने मनोवैज्ञानिक दबाब सिर्जना भएको छ ।

प्रतिनिधि छनोट सबै सकिँदासम्म दशबुँदे सहमतिसँगै एमालेमै रहेका समूहबाट सयभन्दा केही माथि तथा पूर्वमाओवादी समूहबाट डेढ सय हाराहारीले महाधिवेशनमा सहभागी हुने संकेत देखिएको नेताहरूको दाबी छ । भूगोल र गैरभूगोलबाट पूर्वमाओवादी समूहका प्रदेश र जिल्लास्तरीय सिनियर नेतालाई नछुटाई प्रतिनिधि बनाइएको छ । पूर्वमाओवादी समूहका नेताहरू पनि प्रतिनिधि संख्याको हिसाब–किताब गर्ने पक्षमा देखिएका छैनन् । उनीहरू सबै सर्वसम्मत नेतृत्व चयनका पक्षमा उभिएका छन् । ‘प्रतिनिधि जति चुनिएर आए, सबै पार्टीबाटै आएका हुन् । हामी कुनै हिसाब–किताब गर्ने पक्षमा छैनौँ । सहमतिमै चुनिएर आएपछि हामी पूर्व कि पश्चिम समूहबाट भन्ने पक्षबाट भनेर हेर्ने पक्षमै छैनौँ,’ स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले भने ।

आइतबार साँझसम्म प्रदेश १ मा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर, बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुरमा प्रतिनिधि छनोट भएका छन् । त्यस्तै, उपत्यका विशेष प्रदेशसहित पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीबाट प्रतिनिधि छानिएका छन् । गण्डकी प्रदेशबाट गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, मुस्ताङ र मनाङमा प्रतिनिधि छनोट भएको छ भने लुम्बिनीमा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दियामा प्रतिनिधि छनोट भएका छन् । 

त्यस्तै, कर्णाली प्रदेशका हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको र कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी रहेको एमालेले जनाएको छ । केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्र्रदेश कमिटीहरू, प्रदेश सम्पर्क कमिटीहरू र प्रवास समन्वय कमिटीहरूबाट पनि प्रतिनिधि चयन भइसकेको तथा पार्टीका केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालयबाट पनि प्रतिनिधि चयन सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ । 

    विधानले महासचिव हुन रोकेकाले बाध्यता
विधानअनुसार तेस्रोपटक महासचिव बन्न नसक्ने भएकाले ईश्वर पोखरेलका लागि वरिष्ठ उपाध्यक्ष बाध्यकारी दाबेदारी बनेको छ ।  पोखरेलले विधान महाधिवेशनदेखि नै निकट प्रतिनिधिमार्फत  आफ्नो दाबी राखेका छन् । अध्यक्षमा ओलीलाई चुनौती दिने अवस्था नभएकाले सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष खोजेका छन् ।

     संसदीय दलमा दोस्रो भूमिकापछि पार्टीमा
स्थायी समिति सदस्य सुवास नेम्वाङ संसदीय दलमा ओलीपछिको दोस्रो वरीयतामा छन् । ओलीले सरकारको नेतृत्व गर्दा र त्यसपछि प्रतिपक्षको भूमिकामा रहँदा उनको अनुपस्थितिमा संसदीय दलमा नेम्वाङले नै समग्र नेतृत्व गर्दै आएका छन् । महासचिवका दाबेदार विष्णु पौडेल र दशबुँदे सहमतिका पक्षधर नेताहरूसँग संवादमा छन्। 

   दुःखमा ओलीलाई साथ, अहिले ओलीको साथ
तत्कालीन नेकपाको शक्तिसंघर्ष र पार्टी विभाजनमा पनि साथ दिएको भन्दै रामबहादुर थापा बादलले एमाले महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षको भूमिका खोजेका छन् । प्रतिनिधि छनोटमा पूर्वमाओवादीको झिनो उपस्थिति छ । तर, एकताका सन्देश दिन आफूहरूलाई सम्मानजनक भूमिका दिनुपर्ने पूर्वमाओवादी नेताहरूको माग छ ।

८५ प्रतिशत प्रतिनिधि चयन भए
योगेश भट्टराई, प्रचार विभाग प्रमुख, एमाले

अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । ३० कात्तिकेसम्म प्रतिनिधिको अभिलेख पठाउन निर्देश गरिसकिएको छ ।