१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रसुवागढी नाका खुलाउन उच्चस्तरीय अनुगमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:२८:oo

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नेपाल सरकारका उच्च अधिकारीहरूले अनुगमन गरेका छन् । वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको नेतृत्वमा आएको टोलीले रसुवागढी नाकाको स्थलगत अवलोकन गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । ‘चिनियाँ पक्षले सामानको आयात किन बढाएनन्, नेपालतर्फको अवस्था के रहेछ भनेर टोलीले स्थलगत अवलोकन गर्नुभएको छ,’ उनले भने, ‘शुक्रबार आउनुभएको उहाँहरू शनिबार फर्कनुभएको छ ।’

स्थलगत रूपमा अवलोकनका लागि आएका टोलीलाई प्रमुख जिल्ला अधिकारी जैसीले नाकामा रहेको यार्डलाई विस्तार गर्न आग्रह गरिएको बताए । ‘रसुवागढी नाकामा रहेको यार्डलाई विस्तार गर्न आग्रह गरेका छौँ, अहिले ६–७ वटा गाडीमा मात्र सीमित भइरहेको छ, छेउमै भूकम्पका वेलामा पहिरो गई माथिबाट बगेर आएर थुप्रिएको माटोलाई सफा गरेर थप विस्तार गर्न सकियो भने कम्तीमा पनि २० वटाभन्दा बढी गाडी अट्न सक्ने हुन्छ,’ उनले भने, ‘चीनले पनि सामान बढाउने भनेको छ, त्यसैले पनि यार्डलाई विस्तार गर्नुपर्ने भनेर टोलीलाई भनेका छौँ ।

 स्थलगत अवलोकनपछि वाणिज्य मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले नाकामा देखिएका समस्या व्यवस्थापनमा लागिपर्ने बताए । ‘चीनबाट सामान बोकेर नेपाल आउने कन्टेनरको संख्या थोरै छ, यसलाई बढाउन नेपालतर्फको यार्ड विस्तार गर्नेछौँ, नाकालाई सहज सञ्चालन गर्न पहल गर्नेछौँ,’ उनले भने, ‘चिनियाँ पक्षले सामानको आयात बढाउने भने पनि बढाएको छैन, नाकामा देखिएका यहाँका समस्या समाधान गर्न लागिपर्नेछौँ ।’ मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणको कामलाई तीव्रता दिन सडक विभागका महानिर्देशकलाई अनुरोध गर्नेसमेत उनले बताए ।  

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको दुई वर्ष भइसकेको छ । कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । ०७६ माघ १५ देखि ०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ नौवटा कन्टेनरमा सामान आयात भइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्न स्वास्थ्यको मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

कोरोना भाइरसको महामारी सुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन । अहिले कोटा प्रणाली सञ्चालित व्यापार पर्याप्त नभएको गुनासो व्यापारीले गरिरहेका छन् । कोटा प्रणालीअनुसार दैनिक नौ चिनियाँ कन्टेनरमा सामग्री नेपाल आयात भइरहेको छ । तर, यो परिमाण निकै कम भएको व्यापारीले बताएका छन् । सिजनअनुसारको सामान ल्याइए पनि तोकिएको समयमा सामान नेपाल आइनपुगेको व्यवसायीले बताएका छन् ।

कोरोना संक्रमण सुरु हुनुअघि सयभन्दा बढी नेपाली कन्टेनरमा सामान नेपाल आयात हुने गरेको थियो । व्यवसायीका अनुसार चीनको गोन्जाओबाट ल्याइएको सामान नेपाल २० देखि २३ दिनभित्रमा नेपाल आइपुग्ने गरेको थियो, तर अहिले नेपाल सामान आइपुग्न तीन महिनाभन्दा बढी लाग्ने गरेको व्यवसायीले बताएका छन् ।

ad
ad