१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २६ शुक्रबार o८:oo:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग चार दिन सर्‍यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार o८:oo:oo

लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख तथा तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग पूर्वनिधारित समयभन्दा चार दिन पछि गर्ने भएको छ । यसअघि एन्फाले २९ कात्तिकमा लिग सुरु गर्ने जनाएको थियो । एन्फाले ब्रोडकास्टिङ सम्झौता र क्लबसँगको छलफलपछि लिग ३ मंसिरबाट सुरु गर्ने निर्णय गरेको हो । 

लिगको उद्घाटन खेलमा ललितपुर क्लब सातदोबाटो र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । यो खेल फ्लर्ड लाइटमा हुनेछ । ए डिभिजन लिगको इतिहासमा पहिलोपटक राति खेल हुन लागेको हो । यसपटक एन्फा लिग विभिन्न चार रंगशालामा हुने भएको छ । काठमाडौंको दशरथ रंगशालामा फाइनल हुनेछ भने पोखरा रंगशाला, ललितपुरको च्यासल तथा सातदोबाटोको एन्फा कम्प्लेक्समा लिग सञ्चालन हुने एन्फाले जनाएको छ । 

एन्फाका महासचिव इन्द्रमान तुलाधारले सबैसँगको छलफलपछि लिग सार्ने निर्णय भएको जानकारी दिएका छन् । ‘ब्रोडकास्टिङका लागि समय चाहिने र सहभागी क्लबसँग सल्लाहपछि लिगको मिति सरेको हो,’ महासचिव तुलाधरले भने । एन्फाले लिगको प्रत्यक्ष प्रसारणका लागि कान्तिपुर टिभीसँग बिहीबार सम्झौता गरेको छ ।

‘प्रत्यक्ष प्रसारण तयारीका लागि टिभीले समेत केही दिन मागेको छ, सहभागी क्लबहरूले पनि सातामा एक राउन्ड मात्र बिदाको दिन खेल गर्ने सहमति गरेका छन्, यसकारण लिगको मिति सरेको हो,’ उनले भने । उनका अनुसार ए डिभजिन लिग सातामा तीन दिन मात्र हुनेछ । ‘लिगका खेलहरू शुक्रबार, शनिबार र आइतबार मात्र हुनेछ,’ उनले भने।

लिग विजेतालाई ७५ लाख
लिगको विजेताले ७५ लाख तथा उपविजेताले ५० लाख तथा तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् । यसपटक लिगको अंक तालिकामा पुछारमा रहने दुई क्लब बी डिभिजनमा घटुवासमेत हुनेछन् । 

यसपटक एन्फाले व्यक्तिगत विधाको पुरस्कारमा पनि परिवर्तन गरेको छ । यसअघि लिगमा उत्कृष्ट चार विधाका खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिन्थ्यो । यसपटकदेखि मोस्ट भ्यालुएबल प्लेअरलाई गोल्डेन बल, सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट, उत्कृष्ट गोलरक्षकलाई गोल्डेन ग्लोभ्स प्रदान गरिनेछ । युवा प्रतिभावान् खेलाडीलाई इमर्जिङ अवार्डसमेत प्रदान गरिनेछ ।

लिगमा ललितपुरबाट सर्वाधिक ६ र काठमाडौंका ५ क्लबहरूले प्रतिस्पर्धा गर्नेछन् । विभागीय क्लबका रूपमा त्रिभुवन आर्मी, नेपाल पुलिस तथा एपिएफले भाग लिनेछन् । गत वर्ष आर्मी उपविजेता बन्दा मच्छिन्द्र क्लबले पहिलोपटक ए डिभिजन लिगको उपाधि जितेको थियो । प्रत्येक खेलको विजेताले ५० हजार रुपैयाँ पाउनेछ । खेल बराबरी भए दुवै क्लबले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।