१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Wednesday, 02 July, 2025
गणेश लम्साल विराटनगर
२o७८ कार्तिक २५ बिहीबार १२:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ कारागारका एकजना कैदीको शंकास्पद मृत्यु

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १२:o७:oo

मोरङ कारागारमा  एक कैदीको शंकादस्पद  मृत्यु भएको छ। श्वास फेर्न समस्या भएपछि बिहीबार राति १ बजे उपचारका लागि अस्पताल लाने क्रममा ४३ वर्षीय कैदी नारायण थापाको बाटैमा मृत्यु भएको हो। 

मोरङको रतुवामाई नगरपालिका इटहरा घर भएका कैदी थापालाई  जबर्जस्ती करणी कसुरमा १० वर्ष कैद सजाय भएको थियो। उनले ६ वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए। 

कैदी थापाको मृत्यु शंकास्पद भएको भन्दै कारागारका कैदीबन्दीहरूले छानबिन हुनुपर्ने माग गरेका छन्। 

१६ कात्तिकमा नियुक्त भएका  चौकीदार कार्तिक कामतको समूहले विपक्षी समूहको भन्दै यातना दिँदा थापाको मृत्यु भएको कैदीबन्दीहरूको आरोप  छ। 

मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले कैदी थापाको मृत्यु अचानक बिरामीले गर्दा भएको र चौकीदारले कैदीहरूलाई यातना नदिएको बताए। उनले भने , ‘यातना दिएको हामीले कुनै जानकारी पाएका छैनौँ। त्यस्तो त नहुनुपर्ने हो।’ 

कैदी अभिषेक गिरीको सरुवा प्रकरणले अशान्त मोरङ कारागार 

कैदीबन्दीहरूका अनुसार काठमाडौंबाट सरुवा गरेर ल्याउन खोजिएका कैदी अभिषेक गिरीको प्रकरणले गर्दा मोरङ कारागारमा विवाद चर्किएको छ। गिरीको समूहमा रहेका र भर्खरै नियुक्त भएका चौकीदार कार्तिक कामतको समूहले आफना विपक्षी समूहलाई छानीछानी आन्तरिक प्रशासनको फाइदा उठाउँदै यातना दिन थालेको छ। मृत्यु भएका कैदी थापालाई पनि गिरीविरुद्ध प्रदर्शनमा उत्रिएकै कारण कामत समूहले यातना दिएकै कारण जिउ दुखेर श्वास फेर्न समस्या भएकै कारण मृत्यु भएको कैदीबन्दीहरूको आरोप छ।  

काठमाडाैं डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई गृहमन्त्री बालकृष्ण खाणले सरुवा गरेर  पठाउन निर्देशन गरेदेखि  नै शान्त रहेको मोरङ कारागारमा  अशान्ति  बढेको हो। गिरीलाई मोरङ ल्याउन हुँदैन भन्दै १९ असोजमा  कैदीबन्दी र उनीहरूका आफन्तहरू प्रदर्शनमा उत्रिएका थिए। त्यसपछि सरुवा स्थगित भएपनि पुनः गिरीको विपक्षमा रहेका  कारागारका पुराना चौकीदार नवीन राईलाई बल प्रयोग गरेर  सुनसरी सरुवा गरी कैदी गिरीलाई १६ कात्तिकमा मोरङ ल्याइएको थियो। गिरी आएपछि असुरक्षा बढेको भन्दै १६ कात्तिकमा कारागारभित्रका कैदीबन्दी दिनभरि छतमा बसेर  प्रदर्शनमा उत्रिएका थिए। त्यसपछि गिरीलाई सप्तरी सरुवा गरिएको थियो। काठमाडौंबाट आएका गिरीलाई चौकीदार बनाउने योजना असफल भएपछि  गिरीका विपक्षी किरण गुरुङलाई चौकीदार नियुक्त गरिएको थियो।

त्यसपछि फेरि  २३ कात्तिकमा मोरङ कारागारमा गिरी पक्ष र चौकीदार किरण गुरुङ समूहबीच दोहोरो झडप भएको थियो। गिरीको पक्षमा रहेका कैदी कार्तिक कामतको समूहले आफूलाई यातना दिएको भन्दै चौकीदार गुरुङ नेतृत्वको आन्तरिक प्रशासनविरुद्ध विद्रोह गरेपछि दोहोरो झडप भएको थियो।  झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भएका थिए। त्यसपछि अभिषेक गिरीको विपक्षमा रहेका गुरुङ र उनको समूहका नाइके र भाइनाइके १४ जनालाई कारागार विभागको निर्देशनमा सुनसरी र झापा सरुवा गरिएको थियो ।  

विराटनगरको मधुमारा स्थायी घर भएका गुन्डानाइके अभिषेक गिरी व्यक्ति अपहरण र फिरौती असुली आरोपमा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका थिए। गिरीलाई काठमाडौं अदालतले आठ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि डिल्लीबजार कारागारमा रहेका कैदी गिरीले कांग्रेस नेतृत्वको सरकार आएसँगै सरुवाका लागि पहुँच प्रयोग गरेका थिए। उनलाई घरपायक सरुवा गराउन गृहमन्त्री बालकृष्ण खाणले कारगार विभागलाई निर्देशन गरेका थिए।