१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
इजेकियल इम्यानुयल
२o८१ बैशाख १९ बुधबार o८:२६:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

नसुल्झिएको रहस्य : कोभिड–१९ बाट किन पुरुष बढी मरिरहेका छन् ?

Read Time : > 3 मिनेट
इजेकियल इम्यानुयल
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२६:oo

वैज्ञानिकहरूले कोभिड–१९ को असर फरक लिंगमा फरक देखिएको तथ्यलाई बेवास्ता गर्नु हुँदैन


अजिता घहरमनीलाई कोभिड–१९ लाग्यो भने बाँच्दिनँ जस्तो लाग्थ्यो । उच्च रक्तचापलगायत स्वास्थ्य समस्यासँग जुधिरहेकीले उनमा यस्तो सोच आउनु स्वाभाविक पनि हो । त्यसैले घहरमनी, उनका श्रीमान् स्कट डनिङ र तिनका छोरा निकै आत्तिएका थिए । उनीहरू मेन राज्यको सुदूर स्थानमा सरे र सामाजिक अन्तरक्रियाहरूलाई सकेसम्म पन्छाए । तर, सतर्कताका बाबजुद २०२१ मार्चमा तीनैजनालाई कोभिड–१९ लाग्यो । सम्भवतः उनीहरू एक नातेदारको मलामी जाँदा कोरोना भाइरसबाट संक्रमित भएका थिए । 

तर, कोरोनाले घहरमनीलाई खासै असर गरेन । बरु उनको श्रीमान् रोगबाट नराम्ररी थला परे । कोभिड–१९ का कारण उनी धेरै कठिनाइका साथ बाँच्न सफल भएका थिए । उमेरका हिसाबले ५० को दशकमा हिँडिरहेका घहरमनीका श्रीमान् नियमित टेनिस खेल्थे । कुनै रोग नभएका डनिङ स्वस्थ खानामा जोड दिन्थे । । तर, कोभिड–१९ का कारण झन्डै आठ महिनासम्म बिरामी बिदामा बस्नुप¥यो । बल्ल आएर उनले राति लिने गरेको अक्सिजन कम गर्न थालिएको छ । 

मेरो परिवारसँग परिचित घहरमनीको श्रीमान्को घटना दीर्घ कोभिड–१९ को प्रतिनिधि पनि हो । कोभिड–१९ बाट पुरुषहरू मर्ने सम्भावना महिलाको भन्दा बढी देखिन्छ । साथै, पुरुषहरू महिलाभन्दा रोगले गम्भीर रूपमा थलिने गरेको र लामो समय अस्पतालमा भर्ना भएर बस्नुपरेको पाइएको छ । महामारीको सुरुबाटै यो भिन्नता विद्यमान छ । खोप लगाएका महिला र पुरुषमा पनि पुरुषहरूको प्रतिरोधात्मक क्षमता छिटो ह्रास हुन्छ । यसको कारण हालसम्म स्पष्ट भइसकेको छैन । 

इतिहासदेखि नै महिलालाई चिकित्सकीय अध्ययनमा समावेश गरिँदैनथ्यो । प्रमुख रूपमा महिलालाई प्रभावित बनाउने स्वास्थ्य समस्यामा पनि पर्याप्त अध्ययन हँुदैन । यो नैतिक रूपमा मात्र गलत छैन, चिकित्सकीय रूपमा मूर्खतापूर्ण छ । यसले गर्दा अधिकतम सेवा प्रदान गर्ने चिकित्सकीय क्षमतालाई असर गर्छ । वैज्ञानिकहरूले कोभिड–१९ का असर फरक लिंगमा फरक देखिएको तथ्यलाई बेवास्ता गर्नु हुँदैन । बरु तिनले रोगलाई राम्ररी पहिचान गर्नका लागि थप अध्ययन गर्नु आवश्यक छ । उपचारलाई सहज बनाउने उत्तम उपाय यही मात्र हो । 

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकअनुसार अमेरिकामा कोभिड–१९ बाट मर्ने कुल मृतकमा महिलाको हिस्सा ४५.६ प्रतिशत छ भने पुरुषको ५४.४ प्रतिशत । (जबकि अमेरिकामा पुरुषको संख्या महिलाको भन्दा थोरै कम छ ।) कोभिड–१९ का गम्भीर असरको सबैभन्दा जोखिममा रहेको ६५ देखि ८४ वर्ष उमेरसमूहमा मर्नेमध्ये ५७.९ प्रतिशत अमेरिकी पुरुष छन् भने बाँकी ४२.१ प्रतिशत महिला । ब्रुकिङ इन्स्टिच्युटका अनुसार कोभिड–१९ का कारणले अमेरिकामा महिलाभन्दा कम्तीमा पनि ६५ हजारभन्दा बढी पुरुषको मुत्यु भएको छ । विश्वभर कोभिड–१९ का कारण मर्ने पुरुषको संख्या ५० प्रतिशतभन्दा बढी छ । 

सन् २०२१ जुलाईमा सम्पन्न एक अध्ययनले महिलाको तुलनामा कोभिड–१९ संक्रमित पुरुषहरूलाई श्वासप्रश्वास समस्या पर्ने सम्भावना झन्डै ५० प्रतिशत बढी हुने र अस्पताल भर्ना हुने दर २२ प्रतिशत बढी रहेको देखाएको छ । कोभिड–१९ खोपले कहिलेकाहीँ सिर्जना गर्ने जटिलता पनि महिलामा भन्दा पुरुषमा देखिने सम्भावना बढी छ । इजरायलमा भर्खरै गरिएको एक अध्ययनले पी–फाइजर–बायोएनटेक खोपले मुटुको मांसपेशी सुन्नाएको देखायो । यो समस्या १६ वर्षमाथिको पुरुषमा हुने सम्भावना १८ गुणा उच्च देखियो । 

कोभिड–१९ ले पुरुषलाई किन बढी प्रभावित बनाउँछ भन्ने कुरा हालसम्म रहस्य नै रहेको छ । यसलाई थप प्रस्ट पार्नका लागि अनुसन्धानको आवश्यकता छ । किनकि, यसका पछाडि धेरै तत्‍वको भूमिका हुन सक्छ । रोगले फरक लिंगमा पार्ने फरक असरको अध्ययन गर्न चिकित्सकीय समुदाय उदार हुन आवश्यक छ । 

पी–फाइजर खोपले दिने प्रतिरोधात्मक क्षमता पनि पुरुषमा छिटै घट्ने प्रमाण पाइएको छ । इजरायलमै भएको अर्को एक पछिल्लो अध्ययनले पी–फाइजर खोपको दोस्रो डोज लगाएको ६ महिनापछि एन्टिबायोटिकको स्तर महिलाको तुलनामा पुरुषमा उल्लेख्य कम पाइयो । ६५ वर्षभन्दा बढी उमेरका पुरुषमाझ निश्चित प्रकारको एन्टिबडी स्तर उही उमेरका खोप लगाएका महिलाको तुलनामा ४६ प्रतिशत कम पाइएको थियो । महिला–पुरुषमा कोभिड–१९ को असर किन यस्तो भिन्न देखिएको छ ? यसको कारण के हो ? 
केही विज्ञका अनुसार पुरुषहरूमाझ खोप लगाउने दर न्यून रहेकाले कोभिड–१९ बाट हुने मृत्युदरमा तिनमा उच्च छ । अमेरिकामा ५० प्रतिशतभन्दा केही बढी पुरुषले मात्र खोप लगाएका छन्, जबकि खोप लगाउने महिलाको दर ५५ प्रतिशत पुगेको छ । तथापि, खोप दरले मात्रै पुरुषमा देखिएको कोभिड–१९ को विषम स्थितिलाई व्याख्या गर्न सक्दैन । किनकि, कोभिड–१९ ले गराउने मृत्यु तथा अन्य जटिलता खोपको आगमनअघि पनि कायम थियो । 

केही अध्येताले पुरुषको उच्च मृत्यु भ्रमपूर्ण बताएका छन् भने अरूले मास्कको प्रयोग वा पहिलेदेखि विद्यमान स्वास्थ्य अवस्थाले यो भिन्नता निम्त्याएको व्याख्या गरेका छन् । उदाहरणका लागि सुरुमा चीनमा पहिलोपटक यो लैंगिक भिन्नता महसुस भएको थियो । त्यसवेला अध्येताले चिनियाँ पुरुषले महिलाको तुलनामा उच्च धूमपान गर्ने कारण कोभिड–१९ का गम्भीर असर तिनमा बढी देखिएको बताएका थिए । फरक काम र मास्क प्रयोगको तत्परताजस्ता सामाजिक पक्षहरूले प्रभाव पारेको हुन सक्छ । तर, उल्लेखनीय पक्ष कोभिड–१९ संक्रमणको सबैभन्दा धेरै जोखिममा रहेको रोजगारी मानिने अत्यावश्यक सेवा तथा गृह–स्वास्थ्य सहयोगीमा बढी महिला नै काम गर्छन् । 

कोभिड–१९ को प्रभावमा देखिएको भिन्नताका पछाडि जैविक व्याख्याहरू पनि विद्यमान छन् । तर, ती प्रारम्भिक अनुमान मात्र भएकाले तिनको थप अध्ययन तथा स्पष्टताको आवश्यक छ । यल विश्वविद्यालयका अध्येताले संक्रमणविरुद्धको रोगप्रतिरोधात्मक प्रतिक्रिया महिला र पुरुषबीच फरक रहेको ठोस प्रमाण भेटेको बताएका छन् । क्षयरोगजस्ता रोग पुरुषमा धेरै भेटिन्छ । त्यसैगरी, हेपाटाइटिस सी भाइरस तथा एचआइभी संक्रमित पुरुषहरूमा पनि ती भाइरसको मात्रा महिलामा भन्दा बढी पाइन्छ । तिनै अध्येताले कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक प्रणाली पुरुष र महिलाको फरक हुने पाए । तिनको अध्ययनमा सहभागी कोभिड–१९ संक्रमित पुरुषमा प्रोटिनको रक्त तह उच्च थियो । यो प्रोटिनले प्रतिरोधात्मक प्रतिक्रियालाई नियमन गर्छ र प्रोटिनको मात्रा उच्च भएकाले कोरोना भाइरसविरुद्धको प्रतिक्रिया अनावश्यक बढी हुन्छ । 

केही अनुसन्धाताले महिला–पुरुषमा कोभिड–१९ को असर फरक पर्नुमा हार्मोनल तत्‍वको पनि भूमिका हुने तर्क गरेका छन् । टेस्टोस्टेरोनले पुरुषको प्रतिरोधात्मक प्रतिक्रियालाई दबाउन सक्छ । त्यस्तै, इस्ट्रोजेनले महिलामा एन्टिबडी निर्माण गर्ने ‘बी सेल’ थप बढाउन सक्छ । इस्ट्रोजेनले मुटुको मांसपेशी सुन्नाउने प्रतिरोधात्मक कोषलाई नियन्त्रणमा राख्न सक्छ । यी अनुमान मात्र हुन् । कोभिड–१९ ले पुरुषलाई किन बढी प्रभावित बनाउँछ भन्ने कुरा हालसम्म रहस्य नै रहेको छ । यसलाई थप प्रस्ट पार्नका लागि अनुसन्धानको आवश्यकता छ । किनकि, यसका पछाडि धेरै तत्‍वको यसमा भूमिका हुन सक्छ । रोगले फरक लिंगमा पार्ने फरक असरको अध्ययन गर्न चिकित्सकीय समुदाय उदार हुन आवश्यक छ । पुरुषमा देखिएको उच्च मृत्युदरलाई सम्बोधन गर्न पुरुषमाझ खोप र बुस्टर डोज प्रचार गर्र्नुपर्छ । कोभिड–१९ को मृत्युदरमा देखिएको भिन्नतालाई अध्ययन गरेर यसपछाडिको कारण पत्ता लगाएकामा यसले रोग (र, अन्य संक्रमणात्मक रोग)लाई थप बुझाउन सघाउँछ । जुन रोगको उपचारमा सहयोगी हुन सक्छ ।

ad
ad