टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
तस्बिर : नयाँ पत्रिका
यम बम काठमाडाैं
२०७८ कार्तिक २३ मंगलबार ०८:५६:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जलविद्युत् आयोजनामा बाढीपहिरोको मार

सिन्धुपाल्चोकको भैरवकुण्ड जलविद्युत् आयोजनाले सात वर्षमा सात विपद् खेप्यो, भोटेकोसी, सुनकोसी आयोजना पनि विपत्तिले आहत

Read Time : > 5 मिनेट
यम बम, काठमाडाैं
२०७८ कार्तिक २३ मंगलबार ०८:५६:००

उत्पादन थालेको एक महिनामै जुरे पहिरोको चपेटामा परेको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ लार्चास्थित भैरवकुण्ड जलविद्युत् आयोजनाले सात वर्षमा सातवटा विपद् खपेको छ । तीन मेगावाट क्षमताको आयोजना बाढीपहिरो, सुक्खा पहिरो र भूकम्पले ठप्प छ ।  सिन्धुपाल्चोकको भोटेकोसी नदीमा ०५७ मा ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना सञ्चालनमा आएको थियो । उत्साहित लगानीकर्ताले भैरवकुण्ड जलविद्युत् आयोजना पनि अघि बढाए । भैरवकुण्डले २२ जेठ ०७१ बाट व्यावसायिक उत्पादन थाल्यो । तर, करिब डेढ महिनापछि १६ साउनमा जुरे पहिरो (तत्कालीन राम्चा र माँखा गाविसको बीच) खस्यो । पहिरोले आयोजनाको ट्रान्समिसन लाइनको एक दर्जन पोल बगायो । एक सय ४५ जनाको ज्यान लिएको जुरे पहिरोले भोटेकोसी, सुनकोसी जलविद्युत् आयोजना पनि ठप्प बनायो ।

सोही वर्ष असोजबाट पुनः उत्पादन थालेको भैरवकुण्ड १२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भूकम्पको चपेटामा पर्‍यो । भूकम्पले हेडवक्र्स, टनेल, पेनस्टक पाइप, पावरहाउस, स्विचयार्डसँगै ट्रान्समिसन लाइनमा क्षति गर्‍यो । सोही वर्ष भदौमा फेरि पहिरो खसेपछि इन्टेक रहेको स्थानमा क्षति पुग्यो । त्यसपछि पनि भैरवकुण्ड आयोजना सञ्चालनको प्रयास भयो । मर्मतपछि सञ्चालनमा आएको मात्र थियो, २१ असार ०७३ को राति उत्तरी सीमानाका तातोपानी–बाह्रबिसे सडक भत्काउने गरी भोटेकोसी नदीमा बाढी आयो । बाढीले ४५ मेगावाटको माथिल्लो भोटेकोसीसँगै निर्माणाधीन मध्य भोटेकोसी जलविद्युत् आयोजनाको बाँध पनि भत्कायो । भैरवकुण्डको ट्रान्समिसन लाइनमा क्षति पु¥यायो । भैरवकुण्ड खोला भोटेकोसीमा मिसिन्छ । 

२२ असोज ०७४ मा पहिरो खस्दा भैरवकुण्डको हेडबक्समा पुनः क्षति पुग्यो । टनेलभित्र बालुवा जम्मा हुँदा उत्पादन बन्द भयो । असोज ०७५ बाट पुनः उत्पादन सुरु भएकोमा १७ असार ०७६ मा चाकुखोलामा आएको पहिरोले ट्रान्समिसन लाइनमा क्षति हुँदा आयोजना बन्द भयो । भैरवकुण्डमाथि विपद् रोकिएन । ११ मंसिर २०७६ बाट पुनः उत्पादन थालिएकामा २८ पस ०७६ मा पहिरो खसेपछि ड्याम क्षेत्र नै ध्वस्त भयो । योबीचमा आयोजना करिब एक वर्ष ठप्प रह्यो । १० माघ ०७७ बाट पुनः उत्पादन थाले पनि १ असार ०७८ को बाढीले हेडबक्समा बनाएको संरचना बगाएपछि आयोजना करिब–करिब सधैँका लागि बन्द भएको छ । 

भूकम्पताका मर्मतपछि सञ्चालनमा आएको भैरवकुण्ड जलविद्युत् आयोजना 

‘आयोजना सुरु गर्दा पहिरो थिएन, भूकम्पपछि हरेक वर्ष पहिरो खस्न थाल्यो । जताजता बाँध र इन्टेक बनायो । अब आयोजना चलाउन नसकिने स्थिति बनेको छ,’ भैरवकुण्ड हाइड्रोपावर प्रालिका अध्यक्ष रामकाजी पौडेलले नयाँ पत्रिकासँग भने, ‘२४ करोड रुपैयाँबराबरको त क्षति नै भयो ।’ आयोजना डिजाइन गर्दा कमजोर भूगोल र भूकम्पको प्लेट रहेकै क्षेत्रमा आयोजना बनेको पौडेल स्वीकार गर्छन् ।सामान्य मर्मत गरेर आयोजना चलाउने निर्णयमा पुगेका लगानीकर्ताले ३.७ मेगावाट क्षमताको माथिल्लो भैरवकुण्ड जलविद्युत् आयोजनाको लाइसेन्स लिएका छन् । अहिलेको आयोजनाको ड्याम र इन्टेक खोलाको उत्तर–पश्चिममा छ भने अब त्यहाँभन्दा केही किलोमिटर उकालोमा खोलाको दक्षिण–पश्चिममा ड्याम र इन्टेक बनाएर माथिल्लो भैरवकुण्ड चलाउने योजना छ ।

 नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् प्राडा नरेन्द्रराज खनालका अनुसार भोटेकोसी र सुनकोसी क्षेत्रको भूबनोट नै अत्यधिक कमजोर छ । ‘भूकम्पछि भूगोल झनै कमजोर बनेको छ, ठूला पहिरो गएका छन् । हिमताल फुटेर आउने बाढीले जलविद्युत्देखि मानववस्तीमा क्षति गर्ने गरेको छ,’ उनले भने ।

जोखिममा लगानी
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार बाढीपहिरोबाट जलविद्युत् आयोजनामा यस वर्ष मात्र १० अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ । ‘जलविद्युत् क्षेत्र बाढीपहिरोको जोखिममा पहिलेदेखि नै थियो, यो वर्ष झनै क्षति भयो,’ इप्पानका उपाध्यक्ष मोहन डाँगीले भने, ‘निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० आयोाजनामा क्षति पुगेको प्रारम्भिक आकलन छ ।’

दोर्दी कोरिडोर, मस्र्याङ्दी कोरिडोर र मादी कोरिडोरमा निर्माणाधीन तथा निर्माण सकिएका धेरैजसो जलविद्युत् आयोजनामा क्षति पुगेको उनले बताए । यसअघिल्ला वर्षमा औसतमा तीन–चार करोड क्षति हुने गरेको इप्पानले जनाएको छ । माथिल्लो भोटेकोसी आयोजनाले २०७३ को बाढीमा सबैभन्दा ठूलो क्षति व्यहोरेको थियो । मितेरी पुलभन्दा २० किलोमिटरमाथि जाङ्जाम्बो हिमतालबाट १२ सय मिटर उत्तरमा रहेको एउटा सानो हिमताल फुट्दा आएको बाढीले माथिल्लो भोटेकोसीको बाँध भत्काएको थियो । अहिले बाँध पुनर्निर्माणपश्चात् आयोजना सञ्चालनमा छ । त्यतिखेर निर्माणाधीन मध्यभोटेकोसीको बाँध पनि भत्किएको थियो, यो आयोजना अझै सकिएको छैन । डाँगीका अनुसार हिमनदीमा निर्माण भएका र अरू खोलामा रहेका आयोजना विपद्को जोखिममा छन् । भोटेकोसी नदीको मुहान तिब्बतमा छ । 

२०७६ को सुक्खा पहिरो र १ असार ०७८ को बाढीले क्षतिग्रस्त भैरवकुण्ड जलविद्युत् आयोजना । १ असार ०७८ को बाढीले हेडबक्सका संरचना बगाएपछि आयोजना ठप्प छ ।

भोटेकोसीमा माथिल्लो भोटेकासी ४५ मेगावाट तथा सुनकोसीमा २.६ मेगावाटको सानो सुनकोसी र १० मेगावाटको सुनकोसी सञ्चालनमा छन् । यसैगरी, १११ मेगावाटको रसुवागढी भोटेकोसी, १०२ मेगावाटको मध्यभोटेकोसी, ६२ मेगावाटको भोटेकोसी–५ र ३३.५ मेगवाटको भोटेकोसी खोला आयोजना पनि यही नदीमा सञ्चालन हुनेछन् । जलवायु परिवर्तनका कारण हिमताल बढेको भनेर मोटामोटी भन्न सकिए पनि नदीमा पानीको बहावका विषयमा अध्ययन गरिनुपर्ने जलवायुविज्ञ अजय दीक्षित बताउँछन् । ‘हिउँ पग्लने दर, हिमपातको संख्या तथा सुक्खा र वर्षायाममा नदीको बहावलाई विश्लेषण गरिनुपर्ने हुन्छ । हिमताल फुटेर बाढी आउने हो, जसले संरचनासँग मानव वस्तीलाई क्षति गर्ने गरेको पाइयो,’ उनले भने। 

जल तथा मौसम विज्ञान विभागले नदीको बहावबारे विस्तृत अध्ययन गरेको छैन, न त हिउँ पग्लने दरको । यद्यपि, वार्षिक तीन–चारपटक नदीको बहावको विश्लेषण भए पनि सन् २०१६ यताको तथ्यांक सार्वजनिक छैन । ‘यसलाई तापक्रम, वर्षा, हिमपात र हिउँ पग्लने दर हेर्नुपर्ने हुन्छ,’ जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विक्रम श्रेष्ठले भने, ‘नदीमा पानीको बहाव घट्दैमा पानीको सतह घट्ने होइन । यसबारे हामीले विस्तृत अध्ययन गरिसकेका छैनौँ ।’

सन् १९६२ देखि २०१५ सम्मको तथ्यांक हेर्दा जलविद्युत् आयोजना पनि रहेका माईखोला, मोदीखोला, झिमरुक खोला, लाङटाङ खोला, शारदाखोला, बागमतीमा पानीको बहाव घट्दो अवस्थामा छ । तर, दूधकोसी, सुनकोसीलगायत नदीमा भने पानीको बहाव घटेको छैन । साना जलविद्युत् लगानीकर्ताले हिउँदमा पानीको बहाव कम हुँदा समस्या भइरहेको बताएका छन् । आर्थिक रूपले संकटग्रस्त जलविद्युत् आयोाजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिले पनि पानी सुक्ने समस्यालाई औँल्याएको छ । सम्झौताको तुलनामा ऊर्जा बिक्रीबाट आम्दानी कम हुनुमा न्यूनतम ९.६ प्रतिशत कारण पानीको बहाव रहेको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक रहेका ऊर्जा मन्त्रालयका तत्कालीन सहसचिव प्रवीणराज अर्यालले बाढीपहिरोबाट मुहानमा क्षति, पानीको अन्यत्र प्रयोग र आयोजनाको विस्तृत अध्ययनमा त्रुटिका कारण साना जलविद्युत् आयोजनाले पानीको समेत समस्या भोग्नुपरेको बताए ।

भोटेकोसीमाथिका चार हिमताल जोखिममा : इसिमोड
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गत वर्ष सार्वजनिक गरेको अध्ययनअनुसार भोटेकोसीमाथि रहेका सानाठूला गरी एक सय ७३ हिमतालमध्ये लुमुचिमी र गाङ्सीच्छो गरी चारवटा ताल जोखिममा छन् । ती ताल जतिखेर पनि फुट्न सक्छन् । तर, अन्तर्देशीय सूचना आदानप्रदान संयन्त्र त परै जाओस्, कतिपय जोखिमयुक्त क्षेत्रमै पूर्वसूचना प्रणालीका लागि राडार जडान गरिएको छैन । 

इसिमोडको अध्ययनमा हिमताल फुटेर भोटेकोसीमा बाढी आए १६ हजार जनसंख्या प्रभावित हुन सक्छ । तीन हजार दुई सय ७१ रोपनी खेतबारीमा असर पुग्न सक्छ । भोटेकोसी जलाधारमा जलविद्युत् आयोजनासँगै थुप्रै भौतिक संरचना पनि रहेकाले चार अर्ब डलरबराबरको क्षति हुन सक्ने आकलन गरिएको छ । भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल विद्युत् आयोजना कारण बस्ती झनै जोखिममा परेको दाबी गर्छन् । ‘ड्याम हुँदैनथ्यो भने बाढी आउँदा पनि बहाव धेरै हुँदैनथ्यो, यसले तटीय क्षेत्रका वस्ती नै जोखिममा छन्,’ उनले भने, ‘सुरुङ बनाउँदा माथिबाट पहिरो खस्ने गरेको छ ।’ जलविद्युत्लगायतका भौतिक संरचना बनाउँदा विपद्को जोखिमबारे पनि विस्तृत अध्ययन हुनुपर्ने उनी बताउँछन् ।
विज्ञहरूका अनुसार हिमपहिरो वा चट्टान हिमतालमा खसेमा फुट्न सक्छ वा बाँधमाथिबाट पानी बाहिर जाने हुन्छ । त्यस्तै, कमजोर बनोटमा बनेका तालको बाँध फुट्न सक्छ । नेपालको हिमाली क्षेत्रमा मात्र सानाठूला गरी दुई हजार ७० वटा हिमताल छन् । 

इसिमोडले २१ माघ ०७५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार तापक्रम वृद्धिका कारण सन् २१०० सम्म दुईतिहाइभन्दा बढी हिमनदी पग्लिएर सकिनेछन् । विश्वव्यापी तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियस रहे हिन्दूकुश क्षेत्रका हिमनदी एकतिहाइ पग्लिने र औसत वृद्धि २ डिग्री सेल्सियस हुन गए हिमनदी दुईतिहाइ सुक्ने चेतावनी दिइएको छ । १२ डिसेम्बर २०१५ मा फ्रान्सको पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा विश्वव्यापी तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा कम राख्ने तथा १ दशमलव ५ डिग्रीभन्दा माथि बढ्न नदिने उल्लेख छ । ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले तापक्रम वृद्धि मुद्दा हिमाली मुलुकका लागि अहं भएको बताए । नेपालले कार्बन उत्सर्जनलाई सन् २०४५ भित्र शून्यमा झार्ने लक्ष्य पनि प्रस्तुत गरेको छ । 

त्यसका लागि नेपालले गत साता मात्र राष्ट्रिय अनुकूलन योजना– २०२१/५०, हानिनोक्सानीसम्बन्धी राष्ट्रिय कार्यढाँचा र खुद शून्य उत्सर्जनमा दीर्घकालीन रणनीति स्वीकृत गरेको छ । नेपालको वार्षिक तापक्रम वृद्धिदर औसत ०.०५६ डिग्रिसेल्सियस छ, जसले हिमालमा हिउँको भण्डारण झन्डै २९ प्रतिशतले घटिसकेको र हिमतालको संख्या ११ प्रतिशतले बढेको वन तथा वातावरण मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । ‘पृथक भौगोलिक अवस्था र विभिन्न उचाइँमा अवस्थित पारिस्थितिकीय क्षेत्र, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, गरिबी तथा सीमान्तकृत समुदाय र न्यून क्षमताका कारण नेपाल विश्वकै सबैभन्दा संकटासन्न र जोखिमयुक्त मुलुकमध्येमा पर्न गएको देखिन्छ,’ वन मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।