मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २३ मंगलबार ०६:२७:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

स्थानीय तह र आमनिर्वाचनमा पनि सहकार्य गर्ने विषयमा पार्टीभित्र छलफलपछि निर्णय हुन्छ : रामचन्द्र पौडेल

अन्तर्वार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २३ मंगलबार ०६:२७:००

सत्तागठबन्धनको बैठकले यहाँको नेतृत्वमा एउटा समन्वय समिति बनाएको छ, यसले के गर्छ ? 
पहिलो त अहिले तत्कालै हुन लागेको राष्ट्रिय सभाको चुनाव तथा प्रतिनीधिसभा र प्रदेश सभाको उपचुनावमा पाँच दलका बीचमा सहकार्य गर्छ । त्यसपछि देशमा लोकतन्त्रको सुरक्षा, संविधानको रक्षा, राष्ट्रियता, प्रजातन्त्र र वर्तमान संवैधानिक व्यवस्थाको संरक्षण गर्ने यसको मूलभूत उद्देश्य हो । अरू कार्यचाहिँ हाम्रो पार्टीको बैठकपछि तय हुन्छ । पार्टीले दिएको एजेन्डा, पार्टीले दिएको निर्देशन र पार्टीको म्यान्डेटमा रहेर यसको कामलाई अगाडि बढाउने भनेका छौँ । 

निकट भविष्यमै स्थानीय तहको र आमनिर्वाचन पनि आउँदै छ, गठबन्धनबीचको सहकार्य त्यहाँसम्म पनि जान्छ? 
अब अहिले तत्काललाई राष्ट्रिय सभा चुनाव र उपचुनावको कुरा हो । स्थानीय तह र आमनिर्वाचनमा पनि सहकार्य गर्ने विषयमा पार्टीभित्र सरसल्लाहपछि मात्रै निर्णय हुन्छ । समय, परिस्थिति र आवश्यकताअनुसारका निर्णय गर्दै जाने हो । 

सरकारको काम प्रभावकारी बनाउन समितिको आफ्नो भूमिका के हुन्छ ? 
सरकारको काममा त हस्तक्षेप गर्ने कुरा भएन । त्यस उद्देश्यले बनेको होइन, पाँच दलको गठबन्धनमा एकता कायम राख्नलाई मात्रै समन्वय गर्न बनेको समिति हो । राष्ट्रका मुद्दामा समयअनुसार सरकारलाई सुझाव दिन्छौँ । समितिमा उठेका विषय र विचार समितिले प्रधानमन्त्रीलाई दिन्छ । 

बैठक कहिले बसाल्नुहुन्छ, यसले कार्यविधि के बनाउँछ ? 
यसलाई अलिकति फर्मल रूप हामी पार्टीको कार्यसमितिपछि दिन्छौँ । कार्यसमितिमा प्रस्तुत गरेर त्यसपछि ३० गते पछि हाम्रो बैठक हुन्छ ।

समिति नबनाउँदा के फरक हुन्छ ? 
अहिले गठबन्धनकै बारेमा विभिन्न किसिमका अनिश्चयका कुरा पनि अड्कलबाजीहरू पनि भइरहेको अवस्थामा यसलाई एकताबद्ध गरेर अहिलेको व्यवस्था, अहिलेको सरकार, अहिलेको गठबन्धनलाई सुचारु र संगठित बनाएर लैजाने उद्देश्यका लागि र आपसी सहकार्यका लागि बनेको हो । 

सरकारको काममा हामी हस्तक्षेप त गर्दैनौँ भन्नुभयो, तर कहिलेकाहीँ सरकारबाट विवादित निर्णय हुन्छन्, ती निर्णय नहुन् भन्नेमा त चासो होला नि ? 
सुझाव त हामी दिन सक्छौँ, तर यसरी सरकारको काममा त अर्को संस्थाले हस्तक्षेप गर्न मिल्दैन । गठबन्धन कायम रहुन्जेल समिति कायम रहन्छ । 

समितिमा एकजना सरकारको प्रतिनिधि भनेर सञ्चारमन्त्रीलाई पनि राख्नुभएको छ, त्यसको केही अर्थ छ कि ? 
होइन, त्यो समन्वयका लागि हो । सरकारसँग कोअर्डिनेसन गर्न भनी राखेको हो ।