१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Friday, 09 May, 2025
२o७८ कार्तिक २२ सोमबार १७:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारी कुटेलगत्तै बोर्डका सिइओ रेग्मीले मागे माफी, मन्त्रीले मागे स्पष्टीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार १७:३५:oo

भाइटीकाको दिन भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सदाझैँ भिडभाड थियो। चाडबाडको वेला भएकोले सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो। सुरक्षा जाँचमा खटिने कर्मचारी उसैगरी चेकजाँचमै व्यस्त थिए।

त्यो दिन बिहान लन्डनबाट आएका यात्रुहरू जहाजबाट ओर्लिएर विमानस्थलको आगमन गेटतर्फ आइरहेका थिए। उनीहरूलाई आगमन जाँच कक्षमा प्रहरीले पालैपालो चेकजाँच गरिरहेको थियो। चेकजाँचकै क्रममा एकजना यात्रु अलि अस्वभाविक व्यवहार देखाउँदै चेकजाँच कक्षमा आइपुगे। उनी ब्यागेज गुडाउँदै आएका थिए। चेकजाँचमा खटिएका कर्मचारीले ब्यागेजभित्र ६ वटा मदिराका बोतल भेटे, ती व्यक्ति को हुन्, कर्मचारीले चिनेनन्।  जाँचपासमा खटिएका नासु सुमन थापाले उनलाई कतिजनाको सामान हो यो भनेर सोधे। थापाले यत्ति शब्द निकाल्नेबित्तिकै मदिरा सेवन गरेका ती व्यक्तिले उनलाई थप्पड प्रहार गरे। ‘म को हो चिनेको छस् भन्दै झापड हानेपछि थापा बोल्न सकेनन्। ती झापड हान्ने व्यक्ति थिए, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मी।

कर्मचारीलाई झापड हानेलगत्तै रेग्मीले म देश चलाउने मान्छे हुँ भन्दै अरू कर्मचारीलाई समेत हप्काए। होहल्ला हुन थालेपछि विमानस्थलमा खटिएको प्रहरी टोली उक्त स्थान पुग्यो। रेग्मीले प्रहरीलाई समेत हप्काए। विमानस्थलमा खटिएका अन्य कर्मचारीहरू त्यहीँ जम्मा भए। विमानस्थलका भन्सार अधिकृतले रेग्मीलाई समाएर भित्र लगे।

रेग्मीले कर्मचारीलाई हात हालेपछि विमानस्थलमा कर्मचारीहरू एकैठाउँ भेला भएका थिए। उनीहरूले भन्सार विभागका प्रमुख भन्सार प्रशासक महेश भट्टराईलाई खबर गरे। केहीबेर आगमनको चेकजाँच कक्षमा हल्लीखल्ली चलिरह्यो। भट्टराईले उक्त घटनाबारे विभागका महानिर्देशक नारायण सापकोटालाई जानकारी गराए। त्यसपछि रेग्मीलाई भन्सार छली ऐनअनुसार कारबाही गर्ने निर्णय भयो। भन्सार विभागले सिइओ रेग्मीलाई ५ हजार जरिवाना तिराउने निर्णय गर्याे।

भन्सार विभागमा प्रमुख भन्सार प्रशासक महेश भट्टराईले कर्मचारीलाई अभद्र व्यवहार गरेपछि रेग्मीलाई तत्कालै कारबाही गरिएको जानकारी दिए। रेग्मीले ल्याएको मदिराको मात्रा बढी भएकोले चारवटा बोत्तल भन्सारले जफत गरेको थियो। आफूमाथि कारबाही हुने भएपछि रेग्मीले चिठी लेखेर नासु थापासमक्ष माफी मागेका थिए। ‘रेग्मी र उहाँको टिमले कर्मचारी र प्रहरीलाई नराम्रो व्यवहार गरेपछि हामीले तत्कालै जरिवाना तिरायौँ। उहाँले भन्सार कार्यालयका कर्मचारीलाई गरेको अभद्र व्यवहारको तत्कालै माफी माग्नुभयो,’ उनले भने।

घटनाबारे मन्त्री आलेद्वारा रेग्मीसँग सोधपुछ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रेग्मीसँग सोधपुछ गरेको छ। पर्यटनमन्त्री प्रेमबहादुर आलेले उक्त विषयमा सोधपुछ गर्दा रेग्मीले आफूले हातपात नगरेको बयान दिएका छन्। उनले कर्मचारीसँग सामान्य भनाभन चलेको भने स्विकारेका छन्। रेग्मीले आफूले गरेको गल्तीको क्षमायाचनासमेत गरिसकेकोले उक्त विषयलाई नतन्क्याउन मन्त्री आलेसमक्ष अनुरोधसमेत गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले सामान्य विषयमा सोधपुछ भएको जानकारी दिए।