१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o६:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

तिहारका जुवाडेले भरिए काठमाडौं र भक्तपुरका प्रहरी हिरासत

२४३ जुवाडे पक्राउ, ६२ लाखभन्दा धेरै बरामद

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:२३:oo

दसैँमा चोरीका अभियुक्तले भरिभराउ उपत्यकाका प्रहरीको हिरासत कक्ष तिहारमा जुवाडेले भरिएका छन् । काठमाडौं र भक्तपुरबाट मात्रै दुई सय ४३ जुवाडे पक्राउ परेका हुन् । ललितपुरबाट भने एकजना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंमा दुई सय नौजना जुवाडे पक्राउ पर्दा ४६ लाख ३८ हजार २५ रुपैयाँ र भक्तपुरबाट पक्राउ परेका ३४ जनासँग १५ लाख ८१ हजार नौ सय २० रुपैयाँ गरी ६२ लाख १९ हजार नौ सय ४५ रुपैयाँ बरामद भएको छ । 

‘तिहारमा धेरै जुवाखालमा अप्रेसन चल्यो । धेरै जुवाडे पक्राउ परेपछि हिरासत कक्ष नै भरिए,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘अधिकांश हिरासतमै छन् । केही भने धरौटीमा छुटेका छन् ।’ जुवाखालमा पक्राउ पर्नेमा राजनीतिक दलका जिल्ला तथा क्षेत्रीय तहका नेतासमेत छन् । प्रहरीका अनुसार लक्ष्मीपूजाका दिन बौद्ध जोरपाटीको नयाँबस्ती ओलाङचुङगोला गुम्बास्थित सागर लामाको घरबाट पक्राउ परेका बर्मा लामालाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेज अस्पतालमा राखिएको छ । लामा कांग्रेस दोलखा जिल्ला किमिटी सभापति हुन् । उनी केही समयअघि मात्रै जिल्ला सभापतिमा निर्वाचित भएका थिए । उनी जुवा खेलेको खालबाट प्रहरीले १८ जुवाडे पक्राउ गरेको थियो भने ६ लाख ३२ हजार पाँच सय रुपैयाँ र ४८ थान कौडा बरामद गरेको थियो । 

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जुवाखालबाट पक्राउ परेकाहरूलाई जुवा ऐनअन्तर्गत कारबाही हुने बताए । उनले भने, ‘पर्वका वेला जुवाखालबाट धेरै जुवाडे पक्राउ परे । उनीहरूको पृष्ठभूमिका सम्बन्धमा त हामीलाई थाहा हुने विषय होइन । कानुनी नजरबाट हेर्दा जुवाखालमा पक्राउ परेका सबै जुवाडे हुन् । उनीहरूलाई जुवा ऐनअन्तर्गत कारबाही हुन्छ ।’ 

त्यस्तै, भाइटीकाको दिन भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका– ८ सुडाल पुरीगाउँका ५२ वर्षीय मणिराम पुरीको घरबाट १५ जुवाडेसहित कांग्रेस चाँगुनारायण नगर समितिका सहसचिव चन्द्रशेखर खत्री र कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का सचिव जनक खत्री पक्राउ परेका थिए । उनीहरूको खालबाट प्रहरीले १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ र दुई बुक तास बरामद गरेको थियो । धरौटी रकम बुझाएर उनीहरू हिरासतमुक्त भइसकेका छन् । उनीहरूलाई प्रहरीले २४ घन्टा पनि हिरासतमा नराखी तारेखमा छाडेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिव श्रेष्ठले पक्राउ परेका सबैलाई तारेखमा छाडिएको बताए ।  ‘टीकाको दिन जुवाखालबाट १५ जुवाडे पक्राउ परेका थिए । उनीहरूबाट १२ लाख रुपैयाँभन्दा धेरै रकम बारामद भएको छ । उनीहरूलाई तारेखमा छाडेका हौँ,’ उनले भने, ‘तारेखमा राख्नुको अर्थ हिरासतमुक्त गरेको भन्ने होइन ।’ 

 प्रहरी भन्छ– ललितपुरमा जुवा खाल नै नखुलेपछि कोही पक्राउ परेन
काठमाडौं र भक्तपुरबाट ठूलो संख्यामा जुवाडे समातिँदा ललितपुरमा भने एकजना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । जिल्लाभर जुवाखाल नै नखुलेको प्रहरीको दाबी छ । पर्वआसपास गरिएका सुरक्षा कारबाहीका कारण यस वर्ष जुवाखाल नखुलेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी उज्वल महर्जनले बताए । ‘यस वर्ष ललितपुरमा कोही जुवाडे पक्राउ परेन । किनभने यहाँ जुवाखाल नै खुलेनन्,’ उनले भने, ‘हामीले पर्वआसपास सुरक्षा कारबाही कडा तुल्यायौँ । जुवा नखेल्न सबैलाई सचेत गरायौँ । त्यसैले जुवाखाल नखुलेको हो ।’ 

ad
ad