मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मानवी कपुर
२०७८ कार्तिक १८ बिहीबार ०९:०९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा पनि छ जातीय विभेद

Read Time : > 2 मिनेट
मानवी कपुर
२०७८ कार्तिक १८ बिहीबार ०९:०९:००

अमेरिकाका कलेजहरूले अत्यधिक घृणित तर नितान्त भारतीय वा दक्षिण एसियाली अनुभव जात व्यवस्थालाई पहिचान गर्न थालेका छन् । क्यालिफोर्निया विश्वविद्यालय, डेभिस जातीय विभेदको सामाजिक व्यवस्थालाई विश्वविद्यालयको भेदभावविरोधी नीतिअन्तर्गत राख्ने अमेरिकाकै पहिलो सार्वजनिक संस्था बन्न पुगेको छ । नोभेम्बर २०१९ मा ब्रान्डिस विश्वविद्यालय, मासाचुसेट्सले जातीय विभेदलाई प्रतिबन्ध लगाएको थियो । र, यही अक्टुबरमा निजी क्षेत्रबाट सञ्चालित मेन्स कल्बी कलेजले जातका आधारमा हुने विभेदमाथि प्रतिबन्ध लगाएको छ । 

जात व्यवस्था मूलतः भारतीय समुदायहरूमा व्यापक रहेको छ, यद्यपि भारतमा मात्र सीमित भने छैन । अर्थात् जात व्यवस्था हिन्दू धर्म मान्ने भारतइतर क्षेत्रका समुदायमा पनि देख्न सकिन्छ । जात व्यवस्था जन्मका आधारमा हुने पहिचानको ‘हाइरार्की’ हो । जात व्यवस्थाले ‘तल्लो’ भनिएका जातिहरूमाथि शताब्दीयौँदेखि पूर्वाग्रह राख्दै वा अत्याचार गर्दै आएको छ । जात व्यवस्था हाइरार्कीको सबैभन्दा तल्लो तहका एवं प्रभावित दलित समुदायले भारतबाहेक अन्य मुलुकका शिक्षण संस्थामा पनि चरम विभेद खेपिरहेका छन् । दलित एवं अन्य पिछडिएका जातसँग जोडिएका विद्यार्थी नियमित रूपमा आफ्नो छालाको रंग वा पहिरनमा टिप्पणी भोगिरहेका छन् । र, व्यक्तिविशेषको जात चिनाउने थरलाई लिएर प्रहसनका पात्र बनिरहन्छन् । 

‘मैले जीवनभर जातीय विभेद भोग्दै आएकी छु, तर क्यालिफोर्निया विश्वविद्यालय डेभिसमा पनि विभेद भोग्नुपर्ला भन्ने सोचेकी थिइनँ’ यो भनाइ एक विद्यार्थी नेता जे कौरको अनुभव हो । उनको यो भनाइ सामाजिक न्यायका लागि स्थापित संस्था इक्वेलिटी ल्याब्सको प्रेस विज्ञप्तिबाट उद्धृत गरिएको हो । ‘स्नातक तहमा अध्ययन गर्दैगर्दा विशेषतः दक्षिण एसियाली एवं सिख वृत्तहरूमा जातसँग सम्बन्धित सूक्ष्म आक्रमण (माइक्रो–एग्रेसन)हरू झेलेकी छु,’ कौर थप्छिन् । यस्ता अनुभव कौर मात्र होइन, उनीजस्ता कैयौँ विद्यार्थीको पनि अनुभव हो । अमेरिकी विश्वविद्यालयहरू दिनप्रतिदिन यी भेदभावलाई पहिचान गरेर त्यसबारे संवेदनशील हुनु अमेरिकामा अध्ययनरत करिब दुई लाख दक्षिण एसियाली मूलका विद्यार्थीका लागि महŒवपूर्ण कदम हो । वास्तवमा अमेरिकामा दक्षिण एसियाली मूलका अन्तर्राष्ट्रिय विद्यार्थीको समूह सबैभन्दा ठूलो छ । भारतले जातीय विभेदलाई नश्लीय विभेदजत्तिकैको अपराध हो भन्ने संयुक्त राष्ट्र संघको प्रस्तावलाई खारेज गरेको थियो । भारतले खारेज गरे पनि अमेरिकाका विश्वविद्यालयका परिपत्रहरूले जात व्यवस्थालाई विभेदकै रूपमा लिँदा यसले अन्ततः कार्यस्थलमा हुने जातीय विभेदलाई पनि न्यूनीकरण गर्नेछ । 

अमेरिकी प्रविधि कम्पनीहरूमा भएका ‘जातीय विभेद’को चक्र भारतका ‘प्रिमियर’ भनिने विशिष्ट संस्थानहरूबाट सुरु हुन्छ, जहाँ चरम जातिवाद हाबी भएको देख्न सकिन्छ
 

अमेरिकामा जात व्यवस्था रहेको यथार्थ हो । निम्न उदाहरणले सो यथार्थलाई उजागर गर्छ । सन् २०२० को जुनमा एक दलित इन्जिनियरमाथि भएको विभेदका सन्दर्भमा क्यालिफोर्नियाको न्यायिक रोजगार एवं आवास विभागले कम्प्युटर नेटवर्किङ कम्पनी सिस्को र कम्पनीका पूर्वव्यवस्थापकद्वयविरुद्ध मुद्दा दायर गरेको छ । र दुवै व्यवस्थापक तथाकथित ‘उपल्लो जात’का भारतीयहरू थिए । द वासिंगटन पोस्टको एक रिपोर्टअनुसार सिस्को घटनापछि इक्वेलिटी ल्याब्समा फेसबुक, गुगल, माइक्रोसफ्ट, इन्टरनेसनल बिजिनस मेसिन (आइबिएम) जस्ता प्रविधि कम्पनीबाट जातीय विभेद भएका उजुरी पर्न थालेका छन् । इक्वेलिटी ल्याब्सका कार्यकारी निर्देशक थेनमौजी सौन्दराराजनका अनुसार ती उजुरीमा जातिसूचक गालीगलौज एवं मजाक, दुव्र्यवहार, कर्मचारी भर्नामा पक्षपात, आन्तरिक मूल्यांकनमा विभेद एवं यौन दुव्र्यवहार रहेका थिए । ‘जातीय विभेदबाट प्रताडित अमेरिकीका लागि अझै पनि सिलिकन भ्यालीमा जातीय उत्पीडनका सबै तत्व मौजुद छन् । यी तत्वको सञ्जालले आफ्नै एक उपत्यका अर्थात् भ्याली खडा गरेको छ,’ सौन्दराराजन लेख्छन् । सो भ्यालीलाई सन् २०२० जुलाईमा छापिएको एक लेखमा सौन्दराराजनले ‘अग्रहारम भ्याली’ नामांकन गरेका थिए । स्मरण रहोस्, भारतमा ब्राह्मण वा अन्य तथाकथित माथिल्लो जातका मानिस मात्रै बसोवास गर्ने केही सीमित ठाउँलाई अग्रहारम भनिन्छ ।

अमेरिकाका प्रविधि कम्पनीहरूमा भएको ‘जातीय विभेद’को यो चक्र भारतका ‘प्रिमियर’ भनिने विशिष्ट संस्थानहरूबाट सुरु हुन्छ अर्थात् भारतीय प्रौद्योगिकी संस्थान (आइआइटी) हरूमा चरम जातिवाद देख्न सकिन्छ । यी संस्थानमा अधिकांश प्राध्यापक एवं विद्यार्थी तथाकथित माथिल्लो जातका हुन्छन् । प्राध्यापक अजन्था सुब्रमण्यमका भाषामा भन्ने हो भने यी संस्थानमा सफलता पूर्णरूपमा ‘मेरिट’ अर्थात् सक्षमतामा आधारित हुन्छ, जहाँ संरचनागत लाभलाई पुरै उपेक्षा गरिन्छ,’ सौन्दराराजन थप्छन् । आइआइटीहरू भारतका प्रतिष्ठित इनिजियरिङ कलेजहरू हुन् जहाँ एक सिटका लागि हजारौँ आवेदन आउँछन् । माथि उल्लेख गरिएझैँ यी संस्थानमा ब्राह्मण समुदायकै वर्चस्व रहेको छ, यसै कारणले दक्षिण भारतको इन्जियरिङ संस्थान आइआइटी–मद्रासलाई ‘अय्यर अयंगर टेक्नोलोजी’ पनि भनिन्छ (अय्यर र अयंगर दक्षिण भारतका तमिल ब्राह्मणहरू हुन्) । हालै आइआइटी–खडगपुरमा आरक्षणबाट भर्ना भएका दलित–आदिवासी विद्यार्थीलाई प्राध्यापक सीमा सिंहले अभिमुखीकरण कक्षामा ‘ब्लडी बास्टर्ड’ अर्थात् नाजायज सन्तान भनेर तुच्छ गालीगलौज गरेकी थिइन् । यस अर्थमा भारतका प्रिमियर भनिएका संस्थानहरूले अमेरिकाका प्रविधि कम्पनीका लागि इन्जिनियर मात्रै होइन, जातिवादीहरू पनि उत्पादन गरिरहेको छ । 
स्क्रल डट इनबाट