Skip This
तराईका आदिवासीको तिहार : बिहान लख्खी पूजा, राति हुक्काहुक्की
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
झापाको गौरादह–९ स्थित बैराती बजार व्यवस्थापन समितिले सोमबार आयोजना गरेको सामूहिक हुक्काहुक्की कार्यक्रममा हुक्काहुक्की खेल्दै आदिवासी । तस्बिर : नयाँ पत्रिका
चिरञ्जीवी घिमिरे नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o९:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तराईका आदिवासीको तिहार : बिहान लख्खी पूजा, राति हुक्काहुक्की

Read Time : > 2 मिनेट
चिरञ्जीवी घिमिरे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o९:२२:oo

लक्ष्मीपूजाको बिहान ‘लख्खी पूजा’ गर्ने आदिवासीले औँसीको कालो रातमा सन्ठी र दियो बालेर पितृलाई उज्यालो दिने गर्छन् 

पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया, गनगाई, माझीलगायत आफूलाई भूमिपूजक दाबी गर्छन् । विशेषगरी झापा र मोरङमा बसोवास गर्ने उनीहरू लक्ष्मी पूजाका दिन भूमिलाई पूजा गर्छन् ।

उनीहरू लक्ष्मी पूजालाई ‘लख्खी’ पूजा भन्छन् । ‘पहाडिया हिन्दू समुदाय लक्ष्मी पूजाको दिन धन–सम्पत्तिको पूजा गर्छन् । हामीचाहिँ भूमिको पूजा गर्छौँ । त्यो हाम्रो लख्खी पूजा हो,’ नेपाल आदिवासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजपुरिया भन्छन्, ‘भूमिले अन्न दिन्छ । भूमिले हाम्रो जीवन बचाउँछ । त्यसैले हामी भूमिको पूजा गर्छौँ ।’ उनीहरूले भूमिको पूजा गर्दै ‘लोकेर धान हेकाबेका, हामार धान दूधेरटेका भन्छन् । अर्थात् अरूको धान बाङ्गोटिङ्गो भए पनि मेरो धानचाहिँ दूधैदूधले भरियोस् । आदिवासीले धानमा किरा नलागोस्, राम्रो फलोस् भनेर औँसीको रातमा खेतमा माटोको दियो बाल्ने गरेको ताजपुरियाले बताए । 

नित्यानन्द ताजपुरिया, महासचिव नेपाल आदिवासी जनजाति महासंघ

पहाडिया हिन्दू समुदाय लक्ष्मी पूजाको दिन धन–सम्पत्तिको पूजा गर्छन् । हामीचाहिँ भूमिको पूजा गर्छौँ । त्यो हाम्रो लख्खी पूजा हो । भूमिले अन्न दिन्छ, जीवन बचाउँछ । त्यसैले भूमिको पूजा गर्छौँ ।

आदिवासी र सन्ठीको सम्बन्ध
आदिवासी समुदायमा सन्ठी (जुट)को ठूलो महत्व छ । लख्खी पूजापछि उनीहरू पाटालाई हुक्का बनाएर पितृलाई सम्झन्छन् । बिहान लख्खी पूजा गरेका आदिवासीले औँसीको कालो रातमा सन्ठी र दियो बालेर पितृलाई उज्यालो दिने नित्यानन्द बताउँछन् । ‘हामी अरूले जस्तो सोह्रश्राद्ध गर्दैनौँ । पितृलाई औँसीको रातमा सन्ठी र दियोको उज्यालो दिएर सम्झन्छौँ,’ उनी भन्छन्, ‘दादो–दादे, नानानानी (हजुरबुबा–हजुरआमा) हुक्का दे भन्दै सन्ठीको आगो बालेर आकाशतिर फाल्ने चलन छ । पितृलाई यहीँबाट हुक्का चढाएका छौँ ग्रहण गर्नू भन्छौँ ।’ हुक्काहुक्की खेल्ने काम सामूहिक रूपमा गरिन्छ । लक्ष्मी पूजाको दिन औँसीको रातमा जुट (सन्ठी)ले बनाएको हुक्का बालेर आकाशतिर फाल्दै आदिवासी समुदायले हुक्काहुक्की खेल्ने गरेका छन् । 

आदिवासी समुदायले घरका देवता र महाराज थानमा हुक्का चढाएर घरपरिवारका सदस्यको सुस्वास्थ्यको कामना पनि गर्ने नित्यानन्द बताउँछन् । सन्ठीको हुक्का आधा जलिसकेपछि त्यसलाई नाघ्ने प्रचलन छ । 

तर, पछिल्लो समय युवा पुस्ताले संस्कृतिप्रति बेवास्ता गर्दा राजवंशी, ताजपुरिया, गनगाई, माँझी समुदायको संस्कृति नै लोप हुने अवस्थामा पुगेको गौरादह–७ की आदिवासी अगुवा अमला राजवंशी बताउँछिन् । ‘युवा पुस्ता बिदेसिने क्रम पनि बढेको छ । त्यसकारण हुक्काहुक्की पहिलाको जस्तो हुँदैन । युवाले यो मनाउन खासै चासो दिँदैनन्,’ उनी भन्छिन्, ‘युवा पुस्तालाई सिकाउन भए पनि हामी लक्ष्मीपूजाभन्दा अगाडि नै हुक्काहुक्की खेल्न थालेका छौँ ।’

राज्यको बेवास्ताका कारण पनि आदिवासी समुदायको संस्कृति लोप हुने अवस्थामा पुगेको गौरादहका आदिवासी अगुवा गौरिसिंह राजवंशी बताउँछन् । ‘स्थानीय सरकार छ । यसले पनि हामीलाई चाहेजति अघि बढाउन सकेको छैन,’ उनले भने, ‘हाम्रो संस्कार संस्कृतिको जगेर्नाका लागि जति खर्च गर्नुपर्ने हो । त्यति भएको छैन ।’ यद्यपि, हुक्काहुक्कीले आदिवासीको ऐतिहासिक पहिचान दर्शाएको उनले बताए । 

जुट खेती हराउँदै 
प्रत्येक वर्ष लक्ष्मी पूजाका दिन आदिवासी राजवंशी, ताजपुरीया, गनगाई, माझीललगायतलाई सन्ठी (जुट) अनिवार्य छ । खेतबाट इलुवा (एक प्रकारको घाँस) ल्याएर सन्ठीलाई बाँधेर हुक्का बनाइन्छ ।

आदिवासी समुदायमा सन्ठी (जुट)को निकै महत्व छ । विगतमा यी समुदायले जुटको खेती बिघौँ–बिघामा गर्थे । तर, पछिल्लो समय जुटको खेती हराउँदै गएको छ । ‘अहिले त हामीले सन्ठी दक्षिणबाट ल्याउनुपर्छ । त्यो पनि निकै खोज्नुपर्छ । अहिले त सन्ठी खेती नै देखिँदैन,’ नित्यानन्द भन्छन्, ‘राज्यले भएका जुट मिल बन्द गर्‍यो । कृषकको सन्ठी बिक्री हुनै छाड्यो । राज्यका कारण सन्ठी पाउनै मुस्किल छ ।’

कृषि ज्ञान केन्द्र झापाका अनुसार आर्थिक वर्ष ०७६/०७७ भन्दा आर्थिक वर्ष ०७७/०७८ मा जुटको उत्पादन झापामा घटेको छ । आर्थिक वर्ष ०७६/०७७ मा २९२ हेक्टरमा जुट लगाइएको थियो भने आर्थिक वर्ष ०७७/०७८ मा पाँच सय ५० मा झरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए । ‘यो खेती निकै झन्झटिलो छ । प्रशोधनमा निकै मिहिनेत लाग्छ,’ उनले भने, ‘यसले बजार पनि पाउन छाड्यो । अनुदानका कार्यक्रम पनि छैनन् ।’


 

ad
ad