१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Wednesday, 25 June, 2025
जितबहादुर हमाल
२o७८ कार्तिक १६ मंगलबार o९:२२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रमाइलो पर्व तिहारको सन्देश

Read Time : > 2 मिनेट
जितबहादुर हमाल
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार o९:२२:oo

तिहारले दाजुभाइ तथा दिदीबहिनीबीचको हार्दिकतापूर्ण सम्बन्धलाई नवीकरण गर्न तथा मानव  जीवनमा विभिन्न रूपमा प्रभाव पार्ने जीवजन्तुको सम्मान गर्न सिकाउँछ

दसैँपछिको महान् चाड तिहार भोलिदेखि नेपालीको घरआँगनमा भित्रिँदै छ । हाम्रा हरेक राट्रिय चाडपर्वलाई सामाजिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक रूपमा विशेष महत्व दिइन्छ । साथै, यस्ता चाडलाई समाजमा आपसी भ्रातृत्व एवं एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।

दाजुभाइ तथा दिदीबहिनीको भेटघाट र आशीर्वाद साटासाट गर्ने, परिवारसँगै बसेर थकाइ मेटाउने, सुख–दुःख साटासाट गर्ने, विगतका द्वन्द्व वा मनमुटाव केही भए बिर्सेर सकारात्मक सोचको विकास गर्ने अवसरका रूपमा तिहार पर्वलाई लिने गरिन्छ । पर्वको उद्देश्यअनुरूप एकअर्काबीच भाइचाराको विकास र विस्तार गर्ने तथा रिसराग, द्वेष र गलत प्रतिस्पर्धाको अन्त्य गर्दै सबैमा सद्भाव, प्रेमभाव, भ्रातृत्व र एकताको भावनालाई विकास गर्न सकियो भने तिहारजस्ता राष्ट्रिय चाडहरूको महत्व झनै बढ्नेछ । 

प्रकृति एवं मानव जीवनमा उपयोगी सन्देशवाहक पक्षी काग, बफादार जनावर कुकुर, प्रोटिनयुक्त दूध दिने र खाद्यान्न उत्पादनका लागि मल दिने गाई तथा खेत जोतेर बालीनाली उत्पादनमा सहयोग पु-याउने गोरु आदिको पूजा गर्ने संस्कार आफैँमा वैज्ञानिक र व्यावहारिक देखिन्छ । पराम्परादेखि चल्दै आएको, नेपालीको मन–मस्तिष्कमा बस्न सफल एउटा छुट्टै उमंग र उत्साहको वातावरण सिर्जना गर्ने तिहार पर्वलाई विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना संक्रमणले प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा प्रभाव पारेको छ । अझै पनि नागरिकहरू ढुक्कसाथ आवातजावत गर्ने वातावरण बनिसकेको छैन । कोरोना महामारीका कारण होटेल व्यवसाय, यातायात, शैक्षिक, पर्यटनलगायत क्षेत्रमा संलग्न व्यक्तिलाई बेरोजगार बनाउनुका साथै अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको छ । 

तिहार पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको हार्दिकतापूर्ण सम्बन्धलाई नवीकरण गर्न तथा मानव जीवनमा विभिन्न रूपमा प्रभाव पार्ने जीवजन्तुको सम्मान गर्न सिकाउँछ । यसले स्वदेश तथा विदेशमा बसेका नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ । यतिखेर घर आउन नसक्ने परदेशीलाई गाउँघर र परिवारको अत्यधिक सम्झना आउने गरेको पाइन्छ । दिदीबहिनीको हातबाट सप्तरंगी टीका, सयपत्री र मखमलीको माला, बुबाआमा र साथीभाइसँगको भेटघाटको अवसर तिहारले जुराइदिने गरेको छ । काम या अध्ययनका क्रममा टाढा पुगेका आफन्तहरूसित पनि भेटघाट हुन सक्ने भएकाले दसैँ, तिहारजस्ता पर्वको विशेष महत्व रहेको छ । देउसी, भैलोजस्ता मौलिक गीत तथा भाकाका माध्यमबाट आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्नुका साथै मनोरञ्जन प्रदान गर्दै समाजमा जनचेतनामूलक सन्देश प्रवाह गर्ने काम पनि तिहारमा भइरहेको हुन्छ । 

यो समयमा प्रकृति पनि असाध्यै सुन्दर, मनमोहक देखिने गरेको छ । न त वर्षा, न त गर्मी, निलो स्वच्छ आकाश, खेतमा धानका बालाहरू लहलह झुलिरहेका देखिन्छन् । कलकल सफा पानी बगिरहेका नदीनालाहरू, हरियालीयुक्त वनजंगलले सबैलाई मन्त्रमुग्ध पार्छन् । स्वच्छ सुन्दर वातावरणले तनावग्रस्त भएको दिमागलाई समेत शीतलता प्रदान गर्छ ।

जसरी यो समयमा स्वच्छ, सुन्दर र शान्त वातावरण हुन्छ, त्यसरी नै एक नेपालीप्रति अर्को नेपालीको सद्भाव, सहयोग र प्रेमभाव रह्यो भने पक्कै पनि हाम्रा चाडबाडको महŒव प्रगाढ हुँदै जानेछ । कसैले पनि यो राष्ट्रिय चाडलाई भड्किलो र तडकभडकयुक्त बनाउनु हुँदैन । साँझबिहान छाक टार्ने समस्या हुने परिवारले पनि आ–आफ्नो गच्छेअनुसार चाडबाड मनाउन सक्ने वातावरण समाजमा कायम राख्नकै लागि पनि हुनेखानेहरूबाट अनावश्यक तडकभडक रोकिनुपर्छ । पटक–पटक सरकारको नेतृत्व गर्ने राजनीतिक दलहरूले पुनर्वितरणकारी नीति लिई प्रत्येक गरिब र विपन्नहरूको दीर्घकालीन उत्थानका लागि कार्यक्रम ल्याई कमसेकम उनीहरूको आधारभूत आवश्यकतासहित गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा उचित आवास र सबै नागरिक आफ्नो काममा व्यस्त हुने प्रबन्ध गर्न सकेमा नागरिकमा खुसी छाउन सक्छ ।

यति हुन सक्यो भने सबै नेपालीले राष्ट्रिय चाडपर्व खुसीसाथ मनाउन सक्नेछन् र सबैमा राष्ट्रियताको भावना मजबुत हुँदै जानेछ । केन्द्रदेखि स्थानीय स्तरसम्मका सरकारले आफूमा भएका कमीकमजोरी सुधार्दै देश र जनताको हितमा काम गर्ने हो भने नागरिकले दुःखी हुनुपर्ने अवस्थाको अन्त्य हुन लामो समय लाग्दैन । उनीहरूले पारदर्शी रूपमा लोकतान्त्रिक मूल्यमान्यताअनुसार सुशासनका आधारभूत मान्यताअनुरूप शासन सञ्चालन गरी गरिब तथा निमुखा जनताको हितमा काम गर्न सक्नुपर्छ । मुख्यतः सत्ताको बागडोर सम्हाल्नेहरू इमानदार, सक्षम, पारदर्शी र जवाफदेही हुन नितान्त आवश्यक छ ।

नेतृत्वमा इमानदारी भयो भने कर्मचारीतन्त्रमा पनि सुधार हुनेछ, प्रशासनमा देखिएका कमीकमजोरी र विकृतिको अन्त्य भई हामी नेपाललाई विश्वसामु एक सुन्दर र विकसित नमुना देश बनाउन सक्नेछौ । हामी सबै नागरिकहरू शिक्षित र सम्पन्न हुनेछौँ । अनि मात्र सबैले खुसी र प्रफुल्लित मुद्रामा तिहारजस्ता राष्ट्रिय चाड मनाउन सक्नेछन् । अनावश्यक तडकभडक, विसंगति र विकृतिको अन्त्य गर्दै कसैले पनि भेदभाव भएको महसुस नगरी खुसीसाथ पर्वहरू मनाउने वातावरण सिर्जना गर्नु आजको राष्ट्रिय आवश्यकता हो ।