१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ १ मंगलबार o९:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाढीको प्रभाव : कञ्चनपुरमा डेढ सय बिघा केराखेती नष्ट

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:१३:oo

मनसुन सकिएपछि अविरल रूपमा परेको वर्षाले तटीय क्षेत्रका स्थानीयले लगाएको केराखेतीमा ठूलो नोक्सानी पुर्‍याएको छ ।  वर्षा र बाढीले कञ्चनपुरमा डेढ सय बिघाको केराखेती नष्ट भएको छ । अविरल वर्षा र बाढीले फलेको केरा खेतमै डुबान र ढलेर नष्ट भएसँगै व्यावसायिक रूपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् । व्यावसायिक रूपमा केराखेती गरिरहेका किसानको व्यवसाय नै चौपट भएको छ । 

भीमदत्त नगरपालिका– १० जिमुवाका केरा किसान कृष्णदत्त भट्टले दुई बिघामा लगाएको केराखेती वर्षाले नष्ट गरिदिएको बताए । ‘मैले दुई बिघा जमिनमा तीन हजार बोट लगाएका थिएँ,’ उनले भने, ‘६ सय घरी केरा बेचेँ, दुई सय घरी केरा नष्ट भयो ।’  लालझाडी गाउँपालिका– ३ नन्दगाउँका बहाली रानाले १५ कट्ठामा केराखेती गरेका थिए । ‘केरा बेच्ने समयमा पानी आएर नष्ट भयो,’ उनले भने, ‘बाँकी बचेको केरा बेच्नका लागि समेत साहु पाइएको छैन ।’ 

पुनर्वासका केरा किसान जनक धामीले वर्षा र बाढीले आफ्नो पाँच बिघाको केरामध्ये ६० प्रतिशत नष्ट भएको बताए । ‘जमिनमा पूरै पानी भरिएकाेले गिलो हुन्छ,’ उनले भने, ‘फलेको केरामा भारी लोडले थाम्न नसक्ने अवस्थामा फलेको केरा खेतमै ढल्यो, पानीमा परेर कुहियो ।’ विपद्ले केरा किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताउँदै उनले केरा किसानका लागि विशेष राहत, क्षतिपूर्तिको व्यवस्था नगरे कैयौँ किसान केराखेतीबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताए ।

‘व्यावसायिक रूपमा केराखेती गरिरहेका किसानलाई यस सिजनमा ठूलो घाटा भएको छ,’ उनले भने, ‘बैंकको ब्याज र लगानी उठाउनसमेत समस्या भएको छ, यसमा सरकारी निकायले ध्यान दिनुपर्छ ।’ 

ad
ad