१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
प्रा.डा. बालमुकुन्द रेग्मी
२o८१ जेठ ५ शनिबार o७:o७:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

खुसी र सिर्जनाको अँध्यारो पाटो

भिडियो गेममा बस्ने लतले व्यक्तिमा चिन्ता, डिप्रेसन, अति सक्रियता, कमजोर आत्मसम्मान र सामाजिक डरजस्ता मानसिक असर पार्न सक्छ

Read Time : > 3 मिनेट
प्रा.डा. बालमुकुन्द रेग्मी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:o७:oo

सुख र खुसी सँगसँगैजस्तो आउने भए पनि यी दुईबीच कुनै एक रोज्नै पर्दा मानिस वस्तुगत र आत्मकेन्द्रित मापदण्डमध्ये एक छान्नुपर्ने स्थितिमा उभिन पुग्छ । गणितीय भाषामा अभिव्यक्त गर्न नसकिए पनि वस्तु र आत्मस्वतन्त्र, आपसमा असम्बन्धित र निषेधात्मक छन् भन्ने आधार देखिँदैन । भौतिकवादीको आँखामा चेतना पदार्थको विशेष अवस्था वा उपज हो; अध्यात्मवादीको हेराइमा ठिक विपरीत । सुख र खुसीलाई व्याख्या गर्ने कसरत भने भौतिकवादी र अध्यात्मवादी दुवै कोणबाट भएका छन् । धेरैले यी दुईको मिश्रित प्रयोग गरेका छन् ।

मानिसको शरीर, अनुहार र मुख्यतः आँखामा झल्किने आनन्दाभूति, सन्तुष्टिको रेखा र अभय भाव, अनि उसको व्यवहारमा झल्किने फुर्ति, कार्यतत्परता र मैत्रीसित प्रत्यक्ष सम्बन्ध राख्ने मुख्य शारीरिक रस डोपामिन, सेरोटोनिन, अक्सिटोसिन र इन्डोर्फिन मानिएका छन् । यो लेख सुख र खुसीलाई परिभाषित गर्नेजस्तो कठिन कामतिर नलागी खुसी हुँदा मानिसको शरीरमा नाप्न सकिने गरी देखिने यिनै रसायनहरूको अवस्था, मानिसलाई त्यस्तो अवस्थामा पु¥याउन सहायक देखिएका गतिविधि र तिनकै मात्रा पनि अतितिर पुग्दा मानिसमा पुग्ने नकारात्मक प्रभावबारे केन्द्रित छ । 

डोपामिन धेरै शारीरिक प्रक्रियाको स्वस्थ सञ्चालनसित जोडिएको हुन्छ । डोपामिनको कमीमा प्रत्यक्ष देखिने गरी पार्किन्सन रोग लाग्छ । जसको मुख्य उपचार मस्तिष्कमा पुगेर डोपामिनमा परिवर्तन हुने लेभोडोपा हो । सामान्य अवस्थामा मस्तिष्कमा डोपामिनको मात्रा बढेअनुसार मानिसमा आनन्दको अनुभूति बढ्ने गरेको र सम्पूर्ण मस्तिष्क खुसी भई व्यक्तिमा सकारात्मक भाव सिर्जना हुने गरेको देखिएको छ । शयन, खानपान र पाचनजस्ता शारीरिक प्रक्रियामा भूमिका खेल्ने सेरोटोनिन व्यक्तिको मानसिक स्थिरता, स्वस्थता र खुसीसित जोडिएको पाइएको छ । मस्तिष्कमा सेरोटोनिनको मात्रा कम भएमा व्यक्तिमा चिन्ता र डिप्रेसनको संकेत देखिने गरेको छ । डिप्रेसनको उपचारमा मस्तिष्कमा सेरोटोनिनको स्वतन्त्र उपलब्धता वृद्धि गर्ने फ्लोक्सेटिन र सेर्टालिनजस्ता औषधिको प्रयोग हुन्छ ।

प्रसूति र स्तनपानमा विशेष भूमिका खेल्ने अक्सिटोसिनले ‘प्रेम हर्मोन’ नाम पनि पाएको छ । मस्तिष्कमा रहेको अक्सिटोसिन यौन उत्तेजना, आपसी विश्वास, रोमान्टिक सम्बन्ध र मातृशिशु प्रेमजस्ता भावनात्मक सम्बन्ध व्यवस्थापनसित जोडिएको पाइएको छ । स्ट्यानफोर्ड विश्वविद्यालय स्कुल अफ मेडिसिनका डिन कार्सनको समूहले सन् २०१४ नोभेम्बरको मोलेकुलर साइकियाट्रीमा भनेका छन्, अति चिन्ता (एन्जाइटी)को लक्षण भएका केटाकेटीको रगत र सेरेब्रोस्पाइनल झोलमा अक्सिटोसिनको मात्रा कम हुन्छ । पछिल्ला अध्ययनले चिन्ताको उपचारमा अक्सिटोसिनले भूमिका खेल्न सक्ने देखाएका छन् ।

मर्फिन, कोकिन र कोडिनजस्ता इन्डोर्फिन समूहका रसायनलाई शारीरिक अभ्यासका क्रममा दुखाइ र तनाव कम गर्न मस्तिष्कले बनाउने आनन्ददायी रसको रूपमा लिइन्छ । कतिपयले मांसपेशीको दुखाइ महसुस हुन नदिने र अझ असीम आनन्द (युफोरिया) को अनुभव गराउनेचाहिँ रगत र मस्तिष्कबीच आवतजावत गर्न सक्ने इन्डोक्यानाबिन्वाइड वर्गका रसायनलाई मानेका छन् । यी शक्तिशाली हर्मोनहरू अप्ठेरोलाई कम र आनन्दलाई बढी अनुभव गराएर दुखाइ कम गर्ने प्राकृतिक औषधिको भूमिका खेल्छन् । यिनले खेलाडीलाई दुखाइको पर्वाह नराखी प्रतिस्पर्धामा खरो उत्रिनमा सघाउँछन् । आनन्दानुभूतिसित जोडिएका यी रसहरू स्वस्थ शरीरभित्रै निर्माण हुन्छन् । स्वस्थ जीवनशैली, सन्तुलित आहारविहार, योगध्यान, शारीरिक श्रम, व्यायाम, सामाजिक गतिविधिमा सहभागिता, मनोरञ्जन, हाँसो आदिबाट शरीरमा यिनको सन्तुलन रहन्छ । यहाँ यी चार किसिमका रस उल्लेख गरिए पनि यस्तै भूमिका खेल्ने अरू कैयन रस शरीरमा निर्माण र उपयोग हुन्छन् । यिनको आपसमा विविध अन्तर्क्रिया पनि हुन्छ । 

एक हिसाबले हाम्रो शरीर विभिन्न रसायन र विद्युतीय गुणहरूको संयोग हो । रसायन र विद्युतीय सञ्चारबीच यति गहिरो सम्बन्ध छ कि शरीरमा रसहरूले देखाउने प्रभाव कतिपय अवस्थामा उपयुक्त विद्युतीय हस्तक्षेपबाट पनि सम्भव हुन्छ । यस्तै, स्नायुको आवेग र रसायन प्रसारणबीच सम्बन्ध स्थापित गरेबापत सर हेनरी ह्यालेट डेल र ओटो लोएवीलाई सन् १९३९ को नोबेल पुरस्कार दिइएको थियो ।आनन्ददायी रसहरूको खोजी ः केही दशकयता कम्युटर, मोबाइल, भिडियो गेमजस्ता डिजिटल मनोरञ्जनका साधनको व्यापक प्रयोग हुन थालेको छ र यिनबाट मानव मस्तिष्कमा आनन्ददायी रसको व्यापक वृद्धि हुन थालेको छ । कतिपय अवस्थामा हौसला, सहयोग र उपचारकै रूपमा प्रयोग हुन सक्ने यस्ता आधुनिक आविष्कारहरूबाट कहिलेकाहीँ मानव स्वास्थ्य र समाजकै अहित पनि हुन पुगेको छ ।

भौतिक भेटघाट नचाहिने सामाजिक सञ्जालले मानिसलाई क्षणभरमै धेरैबाट माया मिलेको अनुभूति लिने अवसर दिएको छ । फेसबुकमा एउटा फोटो राख्न नभ्याउँदै प्राप्त हुने प्रशंसाले व्यक्तिको मस्तिष्कमा डोपामिन रसाउन थाल्छ । भिडियो गेम खेल्दा एम्फिटामिन सुई लगाएपछि जत्तिकै मात्रामा मस्तिष्कमा डोपामिन रसाएको कुरा सन् १९९८ मै हामरस्मिथ अस्पताल, लन्डनका एमजे केपलगायतले प्रसिद्ध जर्नल ‘नेचर’मा बताएका थिए । पछि भिडियो गेमबारे सोच्यो कि सेरोटोनिन सक्रिय भई आनन्दको सञ्चार हुन्छ र अझ बढी खेल्न मन लाग्ने गर्छ ।

भौतिक होस् वा डिजिटल, प्रयोगकर्तालाई क्षणिक खुसी वा सिर्जनशीलता दिएर दीर्घकालमा व्यक्ति र समाजमा नकारात्मक परिणाम ल्याउन सक्ने मनोरञ्जनका सबै उपाय र साधनमाथि निगरानी र सावधानी आवश्यक छ 
 

नेदरल्यान्डको राडबौड विश्वविद्यालयका इसाबेला ग्रानिकको अमेरिकन साइकोलोजिस्ट नामक जर्नलको सन् २०१४ जनवरी अंकमा प्रकाशित समीक्षाअनुसार भिडियो गेम खेल्दा बालबालिकाको सिकाइ, स्वास्थ्य र सामाजिक सीपमा वृद्धि हुन सक्छ । समीक्षाले हिंसात्मक देखिने खेलसहित कुनै पनि प्रकारको भिडियो गेम खेल्नाले बालबालिकाको रचनात्मकता बढेको देखायो, तर कम्प्युटर वा सेल फोनजस्ता अन्य प्रविधि उपयोगबाट बच्चामा त्यस्तो सिर्जनाशीलता विकास नभएको देखायो ।

इन्डोक्यानाबिन्वाइडलाई सक्रिय बनाउने चक्करमा कतिपय व्यक्तिमा जुवातास खेल्ने, बाजी थाप्ने, गाँजा वा भाङ सेवन गर्ने लत देखिएको छ । पछिल्ला दिनमा टिकटक र पब्जीजस्ता अनलाइन गतिविधि पनि थपिएका छन् । भिक्टर एपन्डले मन पर्ने भिडियो गेमबाट आनन्द आउनुको कारण गेम खेल्ने क्रममा शरीरमा एन्डोर्फिन र डोपामिनको मात्रामा हुने वृद्धिलाई मानेका छन् ।

अँध्यारो पक्ष : उचित मात्रामा प्रयोग हुँदा खुसी, आनन्द र सिर्जनशीलता वृद्धि गर्ने मनोरञ्जनका यस्ता उपायको अत्यधिक प्रयोग हानिकारक हुन पुग्छ । निश्चित मात्राभन्दा बढी भएमा माथि उल्लेख गरिएका सबै रसायनले अवाञ्छित प्रतिक्रिया देखाउन थाल्छन्, कतिपय अवस्थामा तिनले मानसिक र शारीरिक स्वास्थ्यमा हानि पनि पुर्‍याउन सक्छन् । डोपामिन धेरै हुँदा व्यक्तिमा उच्च कामवासना, चिन्ता, सुत्न कठिनाइ, उन्माद, तनाव, अधैर्यजस्ता समस्या देखिन सक्छन् ।

अत्यधिक सेरोटोनिनले पखाला लाग्ने, मांसपेशी कठ्यांग्रिने, ज्वरो आउने, जीउ काम्नेदेखि व्यक्तिको मृत्युसम्म गराउन सक्छ । अत्यधिक इन्डोक्यानाबिन्वाइडबाट व्यक्तिमा आतंकित, चिन्तित, पागलपनको भावना, अधैर्य, दृश्य र श्रवण भ्रम, वाकवाकीजस्ता समस्या देखिन सक्छन् । अत्यधिक अक्सिटोसिनबाट व्यक्तिमा बेचैनी, अस्थिरता, निद्रा, लोसोपन, बोली अस्पष्ट हुने, होस गुमाउनेजस्ता समस्या देखिन सक्छन् ।

डोमिनिक ब्लिसले नेसनल जियोग्राफिकको २०२० मार्च अंकमा लेखेजस्तै भिडियो गेममा बस्ने लतले व्यक्तिमा चिन्ता, डिप्रेसन, अति सक्रियता, निच आत्मसम्मान र सामाजिक डरजस्ता मानसिक असर पार्न सक्छ । भिडियो गेम खेलेका कारण आफ्नो ज्यान गुमाउनेहरूको संख्या विश्वमा ठूलो छ । आनन्दको खोजीमा लागु पदार्थ सेवन गर्नाले समाजमा निम्तिएको विकराल समस्या त हाम्रो अगाडि छँदै छ । भौतिक होस् वा डिजिटल, प्रयोगकर्तालाई क्षणिक खुसी वा सिर्जनशीलता दिएर दीर्घकालमा व्यक्ति र समाजमा नकारात्मक परिणाम ल्याउन सक्ने मनोरञ्जनका सबै उपाय र साधनमाथि हामी सबैको निगरानी र सावधानी आवश्यक छ ।

ad
ad