मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फोटो।
२०७८ कार्तिक ४ बिहीबार १७:१२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेमौसमी वर्षाले ओखलढुंगामा २,२९३ हेक्टरकाे अन्नबाली नष्ट

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ४ बिहीबार १७:१२:००

बेमौसमी वर्षाले ओखलढुंगामा दुई हजार २९३ हेक्टर धान, फापर र कोदोबाली नष्ट गरेको छ । कात्तिक लागेपछि सुरु भएको वर्षाले जिल्लाका ८ वटै स्थानीय तहमा भित्र्याउने वेला भएको दुई हजार हेक्टर बढीको धान, फापर र कोदो बालीमा क्षति गरेको हो।

स्थानीय तहका कृषि शाखामार्फत कृषि ज्ञान केन्द्र ओखलढुंगाले संकलन गरेको विवरणअनुसार चार हजार ४०३ हेक्टरमा लगाइएको धानबालीमध्ये ८८० हेक्टर, सात हजार ७५१ हेक्टरमा लगाइएको कोदो बालीमध्ये एक हजार ३९५ हेक्टर र ९३ हेक्टरमा लगाइएको फापरमध्ये १८ हेक्टरमा क्षति पुगेको केन्द्रका अधिकृत टीका बानियाँले बताए। भित्र्याउने वेलामा बेमौसमी वर्षाले कृषि बालीमा क्षति गरेपछि यसवर्ष उत्पादन घट्ने अनुमान गरिएको छ। यद्यपि कति प्रतिशत घट्छ भन्ने यकिन भइनसकेको उनले बताए।

केन्द्रले जिल्लामा भएको क्षतिको विवरण प्रदेशको कृषि विकास निर्देशनालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइसकेको छ। जिल्लाका किसानले राहत माग गरिरहेको भए पनि माथिल्लो निकायबाट राहतका कार्यक्रम नआएसम्म जिल्ला कृषि ज्ञान केन्द्रसँग कुनै राहत प्याकेज नहुने अधिकृत बानियाँको भनाइ छ। ‘धमाधम भित्र्याउने वेलाको बालीमा क्षति पुग्यो। क्षतिको विवरण लिएर माथिल्लो निकायमा पठाएका छौँ। हामीसँग तत्काल किसानलाई राहत दिने कार्यक्रम हुँदैन,’ बानियाँले भने, ‘मन्त्रालयले राहतका कार्यक्रम ल्यायो भने हामी जिल्लाका किसानलाई सिफारिस गर्छौँ।’ स्थानीय सरकारहरूले आवश्यकता महसुस गरे आफ्नो क्षेत्रका किसानलाई राहत दिन सक्ने उनको भनाइ छ।

लगातारको वर्षाका कारण पाकेर पहेँलपुर भएको धानबालीमा पानी र हावाहुरीले क्षति गरेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । दसैँ सकिएलगत्तै धान भित्र्याउने तयारीमा जुटेका किसानलाई बेमौसमी पानी र हावाहुरीले धानबाली सोतर बनाएपछि चिन्ता थपिएको मोलुङ गाउँपालिका वडा नम्बर ४ हर्कपुरका किसान खडानन्द खतिवडाले बताए। ‘खेतमा गयो भने बैराग लाग्ने भएको छ। यो कात्तिके झरीले किसानको गाँस खोस्यो,’ खतिवडाले भने, ‘हामी त मर्कामा पर्यौँ, कसलाई गुनासो गर्नु र खै ? कोही किसानका समस्या बुझ्न आउँदैनन्।’ सरकारले किसानका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने उनको माग छ।

वर्षभरि अर्मपर्म गरेर लगाएको बाली भित्राउन नपाउँदै नष्ट भएपछि भोकमरीको सम्भावना बढेको सुनकोसी गाउँपालिका वडा नम्बर–८ का किसान कृष्ण श्रेष्ठ बताउँछन्। ‘वर्षभरि खान गरेको खेती, पाक्ने वेलामा यसरी नष्ट हुन्छ,’ उनले भने, ‘प्राविधिक हिसाबले मल, बिउ, गोडमेल त मिलाएरै उत्पादन बढाउन प्रयास गरिएको थियो। प्रकृतिले हामी किसानलाई ठग्यो।’ जिल्लाको मोलुङं गाउँपालिका–४ हर्कपुर र जरायोटारमा सबैभन्दा बढी क्षति पुगेको छ।