Skip This
कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण : पूर्वगृहमन्त्री बादल र पूर्वआइजिपी खनालको नाम हटाएर जाहेरी दर्ता, पूरक निवेदन दिने तयारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o९:५२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण : पूर्वगृहमन्त्री बादल र पूर्वआइजिपी खनालको नाम हटाएर जाहेरी दर्ता, पूरक निवेदन दिने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५२:oo

सर्लाहीका कुमार पौडेलको ‘इन्काउन्टर’ घटनामा प्रहरीले जाहेरी दर्ता गरेको छ । तर, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम भने जाहेरीमा छैन । सर्वाेच्च अदालतले थापा र खनालविरुद्ध समेत जाहेरी दर्ता गर्न आदेश दिएको थियो । 

गत २० असोजमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको थियो । जसमा थापा र खनालविरुद्ध किटानी जाहेरी छैन । उनीहरूलाई समेत विपक्षी बनाई पूरक निवेदन दर्ता गर्ने पीडित पक्षको तयारी छ । ‘यो पुरानै जाहेरी सर्वोच्चको आदेशपछि दर्ता भएको हो । त्यो वेलामा उहाँहरू बहालवाला भएकाले प्रहरीले नाम किटेको जाहेरी लिँदैन भनेर राखिएन,’ यस मुद्दामा कानुनी रूपमा सहयोग गरिरहेका अधिवक्ता इन्द्र अर्यालले भने, ‘प्रहरी महानिरीक्षकले खटाएको प्रहरीहरूको नाम किटेकै छ । यसमा ज–जसको भूमिका छ, विपक्षीबाटै खुलाई पाऊँ भनिएको छ । अब छुटेका नामसहित पूरक निवेदन पर्छ । सरकारी कार्यालय खुलिसके छिट्टै नै दर्ता हुन्छ ।’

यद्यपि जिल्ला र प्रदेश प्रहरीका प्रमुखको भने नामै किटेर जाहेरी दिइएको छ । प्रदेश २ का तत्कालीन प्रमुख हरिबहादुर पाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्लाका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराई, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्यकुमार कार्कीलाई कसुरदार भन्दै अनुसन्धान र कारबाहीको माग गरिएको छ । 

जाहेरीमा ‘प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत रही प्रहरी महानिरीक्षकबाट खटाई खटिई गएका प्रहरी हवल्दार सत्यनारायण मिश्र र विनोद शाहलाई विपक्षी बनाइएको छ । ‘सर्लाही, लालबन्दी नगरपालिका–१ लखन्देही जंगलनजिक भएको घटनामा मुख्य सुटर’ प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहलाई पनि विपक्षी बनाइएको छ । साथै, घटना भएका बखत जिल्ला अस्पताल सर्लाहीमा कार्यरत डा. वीरेन्द्रकुमार मण्डल र बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई समेत कसुरदार भनिएको छ ।

‘लास हेर्दा खुट्टामा जुत्ता लगाएको छ, जुत्ता खोली हेर्दा पैतालामा गोली हानेको घाउ थियो । जिन्स पाइन्ट अनि टिसर्ट लगाएको लास छ,’ जाहेरीमा भनिएको छ, ‘शरीरभरि गोलीले बनाएका घाउचोट छन्, तर पाइन्ट र टिसर्टमा कुनै प्रकारको गोलीले बनाएको प्वाल तथा च्यात्तिएको पनि थिएन । कन्चटमा ठूलो घाउ थियो । शरीरमा तथा लगाएको लुगा पाइन्टमा पनि प्वाल देखिएको छैन । यसरी हेर्दा नियन्त्रणमा लिएर लुगा खोलेर गोली हानेको अवस्था देखिन्छ ।’ 

जाहेरीमा प्रदेश सांसददेखि मेयरसम्मको नाम
बागमती नगरपालिकाका मेयर भरतकुमार थापाका साथै अन्य स्थानीय नेतालाई विप्लव समूहले द्वन्द्वकालमा उठाएको पैसा जनतालाई नै फिर्ता गर्न वक्तव्य निकालेको थियो । सोही समयदेखि पौडेललाई पूर्वमाओवादी नेताहरूले ‘समस्या’ ठानेको जाहेरीमा जनाइएको छ । ‘सो कुरा मिति २०७६ असारमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले कुमार पौडेलको हत्या सम्बन्धमा अवरुद्ध संसद्लाई दिएको जवाफमा बताएका छन् । कुमार पौडेलका सम्बन्धमा स्थानीय जनप्रतिनिधिहरूको अनुरोधको आधारमा गरिएको प्रहरी कारबाहीमा मारिएका हुन्, साथै लोकतन्त्रको रक्षाका निम्ति गरिएको कारबाहीमा मारिएको कुरासमेत गृहमन्त्रीले सो जवाफमा भनेका छन्,’ जाहेरीमा छ । 

विपक्षी नबनाइए पनि पूर्वआइजिपी र गृहमन्त्रीबारे जाहेरीको व्यहोरामा उल्लेख छ । साथै प्रदेश सांसदलाई समेत घटनामा संलग्न रहेको आरोप लगाइएको छ ।