१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
बझाङको थलारा–४ डिख्लामा गएको पहिरो, यही पहिरोमा २३ जना बेपत्ता छन्  । तस्बिर सौजन्य : राजेन्द्र सिंह
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७८ कार्तिक ३ बुधबार ०९:५५:००
Read Time : > 9 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मनसुन बाहिरिएपछि झन् ठूलो वर्षा : १४ जनाको मृत्यु, ३४ बेपत्ता, करिब १४ सय परिवार विस्थापित 

Read Time : > 9 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७८ कार्तिक ३ बुधबार ०९:५५:००

मनसुन बाहिरिएपछि परेको अविरल वर्षाका कारण देशभर १४ जनाको मृत्यु भएको छ । तीन दिनदेखिको वर्षासँगै आएको बाढी र पहिरोमा परी ३४ जना बेपत्ता भएका छन् भने १४ सय परिवार विस्थापित भएका छन् । 

सबैभन्दा धेरै डोटीमा नौजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा ६, सायल गाउँपालिकामा दुई र शिखर नगरपालिकामा एकजनाको मृत्यु भएको हो । पहिरोले घर भत्काउँदा च्यापिएर जोरायल– ३ का ६२ वर्षीय जोगी सार्की र उनकी श्रीमती ६१ वर्षीय झुपारी सार्कीको मृत्यु भएको छ । वडा नम्बर ४ का ४२ वर्षीय शेरबहादुर विक, उनका छोराहरू १८ वर्षीय मोहन र १६ वर्षीय रविन तथा १३ वर्षीया छोरी पवित्रा विकको ज्यान गएको छ । 

सायल– ६ खातिवडाको अलैतवडाका १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिष कुन्जेडाले पनि पहिरोका कारण ज्यान गुमाएका छन् । उनीहरू सबै सुतिरहेका वेला आएको पहिरोमा परेको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए । त्यस्तै, शिखर नगरपालिका– ११ की ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुंगाले लागेर मृत्यु भएको छ । 

सुनसरी र डडेल्धुरामा दुई–दुई तथा कालिकोटमा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी आठ वर्षीया छोरी निसु र चार वर्षका छोरा निहान छन् । पहिरो खसेर कच्ची घर पुरिँदा उनीहरूको ज्यान गएको हो । 

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोले पुर्दा गन्यापधुरा गाउँपालिका– १ भातकाँडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गन्यापधुरा– ३ मा खोलाले बगाउँदा ६५ वर्षीया नर्मदादेवी शाहीको मृत्यु भएको छ । त्यस्तै, कालिकोटमा महावै गाउँपालिका– ७ की १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । 

सबैभन्दा धेरै बेपत्ता बझाङमा भएका छन् । थलारा गाउँपालिका– ४ डिख्लामा मंगलबार बिहान करिब ४ बजे आएको पहिरोमा पुरिएर दुई परिवारका २३ जना बेपत्ता भएका हुन् । डिख्लामा पहिरोले सात घर बगाएको छ । अन्य घरका मानिसले भागेर ज्यान जोगाए पनि दुई परिवार सुतिरहेका वेला पुरिएका हुन् । स्थानीय शिक्षक मानबहादुर साउदका अनुसार बेपत्ता हुनेमा गगने सार्कीको परिवारका १८ र नरे पार्कीको परिवारका पाँचजना छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । हुम्लामा एकै घरका ६ जना बेपत्ता भएका छन् । पहिरोले घर बगाउँदा खार्पुनाथ गाउँपालिका– ५ खर्पेल गाउँका धनवीरे शाहीको परिवारका ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ६५ वर्षीय धनवीरेसहित ५५ वर्षीय कलबहादुर, ३० वर्षीया धोक्ची, १० वर्षीय अलिन्द, ६ वर्षीय हुमेश र दुई वर्षका बालक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिए । 

कैलालीको लम्की–चुहा नगरपालिकामा माछा मार्न गएका तीनजना बाढीले बगाएर बेपत्ता भएका छन् । सोही नगरपालिका– ३ का ६१ वर्षीय खडकबहादुर घर्तीमगर, २६ वर्षीय खडक रानामगर र ३५ वर्षीय विक्रम घर्तीमगर स्थानीय खोलामा सोमबार साँझ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

डोटीमा सायल गाउँपालिका– १ का ६४ वर्षीय वीरे रोकाया छत्रेखोलामा बाढीले बगाएर बेपत्ता भएका छन् । जुम्लामा हिमा नदीको बाढीले ल्याएको दाउरा संकलन गर्ने क्रममा बगाएर हिमा गाउँपालिका– ६ बागबजारकी ३३ वर्षीया रत्ना शाही बेपत्ता भएकी छिन् । 

‘तीन दिनदेखि मुलुकको पश्चिमी क्षेत्रमा घनघोर वर्षा भएको छ । पहाडका गाउँमा पहिरो गएको छ । खोला र नदीमा बहाव बढेको छ । बाढीका कारण तराईका बस्ती डुबानमा परेका छन्,’ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने, ‘बाढी र पहिरोमा परी ज्यान गुमाउने, बेपत्ता हुने र विस्थापित हुनेको संख्या बढिरहेको छ ।’ 

डोटीमा सबैभन्दा धेरै चार सय ५० परिवार विस्थापित भएका छन् । डोटी प्रहरीका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार दिपायल सिलगढी नगपालिका– ७ कोइरेलीका तीन सय र केआइसिंह गाउँपालिका– ४ का एक सय ५० जना विस्थापित भएको चन्दले जानकारी दिए । 

त्यस्तै, पहिरोले बझाङ थलारामा तल्लो डिख्ला र माथिल्लो डिख्लाका तीन सय परिवार विस्थापित भएका छन् । उनीहरू महेन्द्रधारमा रहेको त्रिभुवन माविमा बसिरहेका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट बर्दियाको राजापुर– १ चनौरामा एक सय ५३ घरपरिवार विस्थापित भएका छन् । बर्दियाकै गेरुवा– २ का राजीपुर, सनककट्टी र बनकट्टीमा ८० परिवार विस्थापित भएका छन् । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ ओदाली र ऐरिया क्षेत्रमा एक सय ५० परिवार विस्थापित भएका छन् । कञ्चनपुरकै दोधाराचाँदनी– १० का शान्तिटोल, बैदीफाँटा र निशानी टोलका एक सय २० परिवार विस्थापित बनेका छन् । 

कैलालीमा सयभन्दा बढी परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार लम्की–चुहा र टीकापुर नगरपालिका तथा जानकी र कैलारी गाउँपालिका बासिन्दा बढी प्रभावित भएका छन् । 

झापामा कन्काई नदी सतर्कताको तह पार गरेर बस्ती पस्दा गौरीगन्ज– १ स्थित टपु बस्तीका १८ परिवार विस्थापित भएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार उनीहरूलाई गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ । गौरीगन्ज– १ कै हुक्लाबारी पनि वरिपरिबाट कन्काई नदीले घेरिएको छ । त्यहाँ ८५ घरपरिवार छन् । तीमध्ये सुरक्षित भएर केही घरमै बसेको र केही परिवार नजिकै रहेको चर्चमा बसेको प्रजिअ तिमिल्सिनाले बताए । त्यस्तै, कालिकोटको महावै–७ मा आएको पहिरोले १२ घरपरिवार विस्थापित बनेका छन् । 

कञ्चनपुर : महाकालीको भँगालोमा फसेका एकै परिवारका पाँचको १८ घन्टापछि उद्धार
सोमबार मध्यरातमा महाकाली नदी गाउँ पसेपछि बाढीमा फसेका कञ्चनपुरको भीमदत्त नगरपालिका खल्लामछेट्टीको एकै परिवारका पाँचजनाको १८ घन्टापछि हेलिकोप्टरमार्फत उद्धार भएको छ । महाकालीमा पानीको सतह बढेसँगै भँगालो गाउँ पसेको थियो । मध्यरातदेखि घरमै फसेका पुष्करसिंह नायकको परिवारका सदस्यको मंगलबार साँझ पाँच बजेतिर सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार पुष्करसँगै शान्ति नायक, सुरज नायक, अर्जुन नायक र अशोक नायक बाढीमा फसेका थिए । खल्लामछेट्टी जिल्लाको दुर्गम बस्ती हो । सदरमुकाम महेन्द्रनगरबाट झन्डै ३५ किलोमिटर उत्तरमा छ । स्थानीय युवा किसनसिंह खड्काका अनुसार उक्त गाउँमा झन्डै सय घर डुबानमा परेका छन् । 

कैलाली : माछा मार्न गएका तीन बेपत्ता
कैलालीको लम्की–चुहा नगरपालिकामा माछा मार्न गएका तीनजना बाढीले बगाएर बेपत्ता भएका छन् । सोही नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडकबहादुर घर्तीमगर, २६ वर्षीय खडक रानामगर र ३५ वर्षीय विक्रम घर्तीमगर स्थानीय खोलामा सोमबार साँझ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

जिल्लामा बाढीबाट एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार लम्की–चुहा र टीकापुर नगरपालिका तथा जानकी र कैलारी गाउँपालिका बढी प्रभावित भएका छन् । टीकापुरमा कर्णाली नदीको भँगालो नै गाउँ पसेको छ । वडा नम्बर ५ शाहीपुरमा तटबन्ध भत्काएर नदी गाउँ पसेपछि जिल्लाको पूर्वी क्षेत्रमा त्रास फैलिएको छ । टीकापुरका ५, ६, ७ र ८ वडाका दर्जनौँ बस्तीमा कर्णाली पसेको छ । नदीको बाढी गाउँ पसेपछि प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय विद्यालय र सुरक्षित ठाउँमा सार्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । सुरक्षित स्थानमा जानका लागि दिउँसोबाटै गाउँगाउँमा माइकिङसमेत गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

आइतबारदेखिको अविरल वर्षासँगै कर्णाली नदीमा बाढीको सतह खतराको संकेतभन्दा दुई मिटरमाथि नाघेको छ । चिसापानीमा रहेको जल मापन केन्द्रमा कर्णाली नदीमा पानीको सतह १२.८० मिटर मापन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नदीमा बाढीको सतह १०.८० मिटर पुगेमा खतराको तह मानिन्छ । 

कर्णालीको बहाव बढेर रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा पसेपछि जानकी गाउँपालिका– ९, खैरीफाँटामा ५० घरधुरीमा बाढी छिरेको छ । प्रभावित परिवारलाई मंगलबार बेलुकीसम्म स्थानीय विद्यालयहरूमा सारिएको छ । त्यहाँ नहरमाथि बनेको पुलको एकातिरको भाग बाढीले भत्काउँदा आवतजावत पूर्ण रूपमा बन्द भएको छ । बाढीले रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको बाँधमा समेत क्षति हुन थालेको छ । बाँधको छेउबाट बाढीले बगाउन थालेको र बाढीको सतह कम नभए बाँधमा ठूलो क्षति हुन सक्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । रानीजमरा सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा छ । बाँध र केही किलोमिटर मूल नहर निर्माण भइसकेको छ । 

ठूलीगाड दोभानमा फसेका दुईको उद्धार हुन सकेन
मोहन्याल गाउँपालिका– ४ खिमडीस्थित ठूलीगाड दोभानमा मंगलबार बिहान फसेका दुईजनाको साँझ अबेरसम्म उद्धार हुन सकेको छैन । स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती बिर्मादेवी बुढामगर दोभानमा फसेका हुन् । उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगे पनि खराब मौसमका कारण उद्धार प्रयास सफल हुन सकेन । ‘भिजिबिलिटी’ कम हुँदा हेलिकोप्टरबाट उद्धार हुन नसकेको जिप्रका प्रवक्ता विष्टले बताए । अविरल वर्षासँगै कैलालीको भाँसु भिरमा गएको पहिरोले सोमबार बेलुकीबाट अवरुद्ध भीमदत्त राजमार्ग भने मंगलबार दिउँसोबाट सञ्चालनमा आएको छ । 

नौवटै जिल्लामा राहत पठाउने प्रदेश सरकारको निर्णय
सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरोपीडितको उद्धार, राहत, व्यवस्थापनलगायतका लागि प्रदेशका नौवटै जिल्लामा राहत पठाउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्ले विपत् व्यवस्थापन, राहत र उद्धारका लागि जिल्ला विपत् व्यवस्थापन समितिहरूलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । 

जुम्ला : बाढीले बगाएर एक बेपत्ता, खानेपानी, पुल र सडकमा क्षति 
हिमा नदीको बाढीले ल्याएको दाउरा संकलन गर्ने क्रममा बगाएर हिमा गाउँपालिका– ६ बागबजारकी ३३ वर्षीया रत्ना शाही बेपत्ता भएकी छिन् । दिनभर खोजी गरे पनि शाही नभेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । 

त्यस्तै, तातोपानी गाउँपालिकामा काठेपुल, सडक, विद्यालय भवन, खानेपानी संरचनालगायतमा क्षति पु¥याएको छ । तातोपानी– ५ मा तीनवटा गाउँका बासिन्दाले पिउने खानेपानीको संरचना बगाएपछि समस्या निम्तिएको स्थानीय नारायणी चौलागाईंले बताइन् । तातोपानी– ४ स्थित नेत्रज्योति माविमा पनि बाढीले क्षति गरेको छ । विद्यालयको कम्पाउन्डदेखि कोठासम्म भत्काएको छ । तिला गाउँपालिका– ४ साँपुल्ली गाउँमा एक सय ९६, नुवाकोटका दुई सय २०, रावतवाडाका ४५ घरधुरी प्रभावित भएका छन् । तिला– १ स्थित रारा र कठिना जोड्ने काठेपुल बगाएको छ । राराकै नौ पानीघट्ट डुबानमा परेका छन् । तिला– २ डुन्डेलीमा रहेका नौवटा घर तिला नदीको जोखिममा रहेकाले सामान सुरक्षित स्थानमा सारिएको छ । वर्षाले नाग्म–गमगडी राजमार्ग बन्द भएको छ । 

झापा : १८ परिवार विस्थापित, सुरक्षित स्थानमा सारियो 
बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित भएका छन् । कन्काई नदी सतर्कताको तह पार गरेर बस्तीमा पस्दा गौरीगन्ज– १ स्थित टपु बस्तीका १८ परिवार विस्थापित भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार ती परिवारलाई गौरीगन्ज गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै, गौरीगन्ज– १ कै हुक्लाबारी पनि वरिपरिबाट कन्काई नदीले घेरिएको छ । त्यहाँ ८५ घरपरिवार छन् । तीमध्ये सुरक्षित भएर केही घरमै बसेको र केही परिवार नजिकै रहेको चर्चमा बसेको प्रजिअ तिमिल्सिनाले बताए । 

सिन्धुपाल्चोक : मेलम्चीमा चार महिनापछि बनेको अस्थायी पुल पनि बगायो, दसैँ मान्न आएकाहरू मेलम्चीपारि नै रोकिए 
गत १ असार र १६ साउनमा मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजार क्षेत्रलाई बगर बनायो । भे्रमाथाङ र यांग्रीलार्केबाट झरेको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरी थांपालको बरुवा क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको थियो । त्यसयता घरदेखि बजारसम्म आउजाउ गर्न सास्ती व्यहोर्दै आएका मेलम्चीपारिका बासिन्दाका लागि दसैँका लागि अस्थायी पुल बनाइए । मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थांपाल गाउँपालिकाले अस्थायी पुल बनाउन बजेट हालेका थिए । अस्थायी पुल नै भए पनि स्थानीय केही हदसम्म खुसी भए । तर, त्यो खुसी दुई दिन पनि टिकेन । हेलम्बु र मेलम्चीमा बनाइएका अस्थायी पुल तीन दिनयताको वर्षासँगै आएको बाढीले बगाएपछि दसैँ मान्न टाढाटाढाबाट आएका आफन्तहरू पुल बगाएसँगै मेलम्चीपारि नै रोकिएका छन् । 

हेलम्बुको तिम्बु, हल्दे र चनौटेमा बनाइएको फलामे अस्थायी पुल बाढीले बगाएको हो । पुल बगाएपछि मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ र चनौटेपारि सबै बस्तीका स्थानीय मारमा परेका छन् । अहिले एक गाउँबाट अर्को गाउँसम्म हिँडडुल गर्न पनि नसक्ने अवस्था छ । 

मेलम्चीनजिकै इन्द्रावती नदीमा हालेको ह्युमपाइप बाढीले बगाएकाले पाँचपोखरी थांपाल जाने यातायात बन्द भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले बताए । निर्माणकै क्रममा रहेको बाहुनेपाटीस्थित मध्यपहाडी लोकमार्गको मोटरेबल पुलबाट साना गाडी शिखरपुर र ज्यामिरे हुँदै भोताङसम्म पुगेका छन् । तर, वर्षात्ले कच्ची सडक हिलाम्मे भएकाले गन्तव्यसम्म पुग्न अनिश्चित छ ।

कतिपय सवारीसाधन बीचबाटोमै अल्झिएका छन् । मेलम्चीको झोलुंगेपुल तरेर पाल्चोक र तिपेनी क्षेत्र गएका स्थानीय खराब बाटोको कारण समस्यामा परेका छन् । मेलम्चीबाट दिनभर हिँडेर बरुवा, थांपाल, मानेखर्क, भोताङ पुगेका बासिन्दाले स्थानीय सरकारसँग सहज रूपमा हिँड्न सक्ने बाटो बनाउन माग गरेका छन् । दसैँको फूलपातीअघि मेलम्ची खोला र इन्द्रावती नदी तरेर जाने पाँच ठाउँमा हालेको ह्युमपाइप बाढीले बगाएकोले मेलम्चीपारिको बस्ती पुग्ने यातायात आइतबारदेखि बन्द भएको छ । दसैँको टीका लगाउन गएका आफन्तजन मेलम्ची निस्कन सकेका छैनन् । 

सुदूरपश्चिमका पहाडी जिल्लामा यातायात ठप्प
लगातारको वर्षाले सुदूरपश्चिमको पहाडी जिल्लाका सडक अवरुद्ध भएका छन् । बैतडी–दार्चुला महाकाली राजमार्गको विभिन्न ठाउँमा पहिरो गएको छ । दोगडाकेदारको खोचलेक, डिलाशैनीको बागाबगरलगायतका ठाउँमा पहिरो खसेको छ । यस्तै, अत्तरिया–डडेल्धुरा दशरथचन्द राजमार्गको जोरायल गाउँपालिकाको गैरामा पनि पहिरो खसेको छ । 

बैतडी–बझाङ जयपृथ्वी राजमार्गको चिरबित्थड, केदारस्यु तथा सिगास गाउँपालिकाको ज्याफुमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोसँगै रूख ढलेर सडक रोकिएकाले यात्रुहरू अलपत्र परेका छन् । महेन्द्रनगरबाट पुरचौडी बैतडीका लागि हिँडेका गोविन्द धामीले सोमबार रातिदेखि मंगलबार साँझसम्म आधा दर्जन बसका यात्रुहरू खोड्पे–बङाङ सडकको ज्याफूमा अलपत्र परेको बताए । प्रहरी र सिगास गाउँपालिकाका अध्यक्षलाई दिनभर फोन गर्दा पनि बाटो खुलाउन कोही नआएको उनले गुनासो गरे । 

हुम्ला : एकै घरका ६ बेपत्ता
पहिरोले घर बगाउँदा हुम्लाको खार्पुनाथ गाउँपालिका– ५ खर्पेल गाउँका धनवीरे शाहीको परिवारका ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ६५ वर्षीय धनवीरेसहित ५५ वर्षीय कलबहादुर, ३० वर्षीया धोक्ची, १० वर्षीय अलिन्द, ६ वर्षीय हुमेश र दुई वर्षका बालक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिए । गाउँमा पहिरोको जोखिम बढेकाले स्थानीयहरू विस्थापित भएर माडुमा आश्रय लिएर बसेको स्थानीय प्रकाशबहादुर शाहीले जानकारी दिए ।

सोमबार रातिदेखि सेतीको बाढीमा फसेका बैतडी ढुंगाडका विष्णु चन्द भन्छन्–रातभर रुवाबासी चल्यो, आकाश हेरेर दिन बित्यो

सोमबार राति ९ बजे सेतीको बाढी बस्तीतिर आयो । सक्नेहरू ज्यान बचाउन धमाधम बस्ती छाडेर बैतडीतिर लागे । अशक्त, वृद्धवृद्धा, महिला र बालबालिका तर्न नसकेर यतै अड्कियौँ । मेरो अनुमानमा बस्तीमा अहिले ६० जनाजति छौँ ।

तर, हामी पनि सबै भेट्न पाएका छैनौँ । चार ठाउँबाट नदी बस्तीमा पसेकाले बस्तीभित्रै पनि वारिपारिको अवस्था बनेको छ । सोमबार रातिदेखि नै बिजुली छैन । नेपाल टेलिकमको मोबाइल चलेको छैन । एनसेलको सिम मात्र चलेको छ । बिजुली नभएकाले ब्याट्री चार्ज गर्न पाइएको छैन । दिनभरि उद्धारको आशामा कहिले नदीतिर त कहिले आकाशतिर हेरेर बितायौँ । तर, कतैबाट कोही आएनन् । रात परेपछि सबै आत्तिन्छौँ ।

साँझ पर्न थालेदेखि निकैबेरसम्म रुवाबासी चल्यो । परपरबाट रोएको, चिच्याएको, गुहार–गुहार भनेको सुनिन्थ्यो । तपाईंसँग कुरा गरिरहँदा अहिले पनि साना केटाकेटी रोएको आवाज आइरहेको छ । मेरो मन पनि निकै आत्तिएको छ । पानी परिरहेकाले कुन वेला बगिने हो भन्ने ठोगान छैन । 

यसकारण मनसुन बाहिरिएपछि ठूलो वर्षा भयो : रामप्रसाद अवस्थी सूचना अधिकारी, जल तथा मौसम विज्ञान विभाग

२५ असोजमै मनसुन बाहिरिएको हो । तर, अहिले हामीकहाँ दुई किसिमका मौसम सक्रिय छन् । एउटा बंगालको खाडी, बिहार र उत्तर प्रदेशतर्फबाट बहने न्यूनचापीय वायु प्रणाली सक्रिय छ ।

जसले पूर्वी नेपालका केही क्षेत्रमा वर्षा गराइरहेको छ । पश्चिमतर्फ भने हिउँदयाममा सक्रिय हुने वायु प्रणाली समयभन्दा अगावै सक्रिय हुँदा वर्षा भएको हो । पाकिस्तान र अफगानिस्तान हुँदै बहने वायु प्रणाली सक्रिय हुँदा हिउँदमा वर्षा हुन्छ । ३१ असोजबाटै यो प्रणाली सक्रिय भएको छ । यो पश्चिमबाट पूर्वतर्फ अघि बढेको छ । त्यसैले पश्चिममा बुधबारबाट वर्षा कम हुन थाल्छ ।

गण्डकी, बागमती, लुम्बिनी, प्रदेश १ र २ मा बुधबार पनि वर्षा कायम रहन्छ । बिहीबारपछि मात्रै नेपालको मौसम सफा हुन्छ । मनसुन बाहिरिएपछि अविरल वर्षा भएको यो १३ वर्षपछि हो । सन् ००८ मा यस्तै भएको थियो । त्यसवेला पश्चिम नेपालमा तीन सय मिलिमिटरसम्म वर्षा भएको थियो । यसपटक तीन सय ६१ मिलिमिटर वर्षा भएको छ । करिब १३ वर्षपछि यो क्रम दोहोरिएको छ । विगतमा पनि यस्तो भएकाले अहिलेको वर्षा अनौठो होइन । 

बैतडीमा लोकेश साउद, बझाङमा सम्राट सिंह, डोटीमा कर्ण चन्द, धनगढीमा तेजराज भट्ट, कञ्चनपुरमा मोहन विष्ट, धरानमा देवेन्द्र कार्की, झापामा चिरञ्जीवी घिमिरे, सिन्धुपाल्चोकमा रामकृष्ण थापा, हुम्लामा नरजन तामाङ, जुम्लामा मानदत्त रावल