मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
झापाको शिवसताक्षी–१ स्थित धरमपुरमा एक कृषकले लगाएको धानमा वर्षाले पुर्याएको क्षति । तस्बिर : नयाँ पत्रिका
२०७८ कार्तिक २ मंगलबार १६:२५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

झापामा ५० प्रतिशत धानबालीमा क्षति

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २ मंगलबार १६:२५:००

लगातारको बेमौसमी वर्षाका कारण झापामा पाक्न लागेको धानबालीमा ठूलो क्षति भएको छ । दुई दिनदेखिको वर्षाले किसानलाई ठूलो घाटा पुर्‍याएको हो ।  कृषि ज्ञान केन्द्र झापाका अनुसार ५० प्रतिशत धानबालीमा क्षति पुगेको छ । झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रमा धान खेती गरिएको ज्ञान केन्द्र झापाका प्रमुख नीलकलम सिंहले जानकारी दिए । यसको ५० प्रतिशत क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति भएको उनले बताए । 

‘यसपटक धानको उत्पादन घट्ने निश्चित भयो । केही ठाउँमा आफैँ पुगेर र केही स्थानीय तहको कृषि शाखा, कृषकसँग सम्पर्क गरेर डाटा राखेका हौँ,’ उनले भने, ‘क्षति अझै हुन पनि सक्छ । मंगलबार परेको वर्षाले ठूलो क्षति पुर्‍यायो । पानी अझै परे झन् क्षति हुन सक्छ । क्षतिको प्रतिशत बढ्न सक्छ ।’ 

बिजी– ११, हर्दिनाथ– १ लगायतका धान काट्ने वेला भएको थियो । यी धानलाई पानीले ठूलो असर गरेको उनले बताए । यस्तै पसाउन लागेका अन्य धानमा समेत ठूलो असर परेको ज्ञान केन्द्र प्रमुख सिंहले बताए । 

धानबाली पानीले डुबाएको छ । अधिकांश खेतमा धान लडेको छ । ‘बिउका लागि त काम नलाग्ने नै भयो । पानी अझै परे अन्न पनि काम लाग्दैन । पानी खेतबाट कटाउन सके कमसेकम केही अन्न त बचाउन सकिन्छ कि भन्ने छ,’ उनले भने, ‘लडेका धान अब उठ्न मुस्किल छ । भाटा लगाएर उठाउन पनि सम्भव छैन ।’

 झापाका मेचीनगर, अर्जुनधाराका उत्तरी क्षेत्रबाहेक दक्षिणी क्षेत्रका अधिकांश खेत डुबेको उनले बताए । समयमा मल नपाएर दुःख गरेर खेती गरेका किसान धानबाली डुबान भएपछि चिन्तामा छन् । 

दक्षिणी क्षेत्रका अधिकांश विपन्न किसानले अधियाँमा खेती गर्दै आएका छन् । खेतमा मानिस लगाउने, ट्याक्टर लगाउनेदेखि मलसमेत ऋण लिएर किनेर खेती गर्दै आएका छन् । धान बेचेर ऋण तिर्ने आसमा बसेका गरिब किसानको खेत पानीले डुबाएपछि किसान चिन्तामा छन् । धानबाहेक तरकारीमा पनि क्षति पुगेको ज्ञान केन्द्र प्रमुख सिंहले बताए ।