मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:२२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ उपविजेता फुटबल खेलाडीलाई पाँच लाख र प्रशिक्षकहरूलाई तीन लाख दिने सरकारको निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:२२:oo

१३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन गरी उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यले जनही पाँच लाख रुपैयाँ पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले माल्दिभ्सको राजधानी मालेमा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता खेलाडीहरूलाई पुरस्कारस्वरूप जनही पाँच लाख दिने निर्णय गरेको हो ।

यसैगरी, नेपाली टोलीका प्रशिक्षकहरूलाई पनि जनही तीन लाख रुपैयाँ दिने निर्णय भएको छ । मालेको राष्ट्रिय रंगशालामा भारतले नेपाललाई ३–० ले पराजित गर्दैै सर्वाधिक आठौँपटक उपाधि उचालेको थियो । नेपालले पहिलोपटक साफ च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात र ऐतिहासिक नतिजा निकालेको हो । नेपालले दुई दशकपछि माल्दिभ्स र श्रीलंकाविरुद्ध जित निकाल्यो । 

किरण चेम्जोङ कप्तान, नेपाली टोली

फाइनल गुमाउँदा दुःख लागेको छ, तर समग्र प्रदर्शनबाट सन्तुष्ट छु । हारबाट धेरै कुरा सिकेको छु, यसले आगामी दिनमा राम्रो हुनेछ ।

साफको उद्घाटन खेलमै नेपालले तत्काल साबिक विजेता माल्दिभ्समाथि १–० को सनसनी जित हात पारेको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्यो । साफ इतिहासमा नेपालले पहिलोपटक लगातार दुई खेलमा स्पष्ट तीन अंक बटुलेको हो । नेपाल तेस्रो खेलमा भारतसँग १–० ले पराजित भयो । राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै शीर्ष स्थानमा रही फाइनलको स्थान पक्का गर्‍यो । नेपालले राउन्ड रोबिन लिगमा दोस्रो स्थान रक्षा गर्न चार खेलबाट सात अंक जोडेको थियो । 

घर फर्कियो नेपाली टोली
नेपाली फुटबल टोली सोमबार बिहान स्वदेश फर्किएको छ । टोली एक महिनापछि नेपाल फर्किएको हो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली खेलाडी २५ भदौमा कतार प्रस्थान गरेका थिए । टोलीमा सहभागी मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी तथा डिफेन्डर रोहित चन्द भने आएका छैनन् । अलमुताइरी माल्दिभ्सबाटै कुवेत तथा चन्द इन्डोनेसिया पुगेका छन् । अलमुताइरीले साफ नै नेपाली टोलीसँग प्रशिक्षकका रूपमा आफ्नो अन्तिम खेल भएको घोषणा गरेका थिए ।

लामो समय राष्ट्रिय टोलीसँगै व्यस्त रहेकाले प्रशिक्षक अलमुताइरीले आराम गर्ने जनाएका छन् । यद्यपि, उनी पुनः नेपाली टोलीका मुख्य प्रशिक्षक हुने वा होइनन् भन्ने केही निर्णय भइसकेको छैन । 

 खेलाडीको भव्य स्वागत
स्वदेश फर्किएको टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, एन्फाका अधिकारी तथा समर्थकहरूले भव्य स्वागत गरेका छन् । टोलीलाई बाजागाजासहित स्वागत गरिएको थियो । 

सो क्रममा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले साफ च्याम्पियनसिपको फाइनल पुग्नु ठूलो उपलब्धि भएको बताएका छन् । ‘साफमा हामीलाई सुरुदेखि नै गाह्रो थियो, तर हामीले यात्रा सुरु गर्‍यौँ,’ चेम्जोङले भने, ‘२८ वर्षपछि फाइनल पुगेर हामीले इतिहास रच्यौँ ।’ तर, फाइनलमा चुक्दा अर्को इतिहास बनाउने अवसर खेर फालेको उनले बताए । ‘हामी अर्को इतिहास रच्ने एकदम नजिक थियौँ, त्यसमा हामी चुक्यौँ, अवसर गुमायौँ,’ उनले भने, ‘तर, नेपाल २८ वर्षपछि फाइनल पुग्नु पनि ठूलो उपलब्धि हो ।’

उनले प्रतियोगितामा खेलाडी तथा टोलीको प्रदर्शनबाट सन्तुष्ट भएको बताए । ‘फाइनल गुमाउँदा दुःख लागेको छ, तर समग्र प्रदर्शनबाट सन्तुष्ट छु,’ उनले भने, ‘हारबाट धेरै कुरा सिकेको छु, यसले आगामी दिनमा राम्रो हुनेछ ।’ उनले फाइनलमा भारतसँग मध्यान्तरपछि सुरु भएको पाँच मिनेटभित्रै नेपालले खेल गुमाएको विश्लेषण गरेका छन् । ‘मध्यान्तरपछिको पाँच मिनेटमा हामीले खेल गुमायौँ,’ उनले भने, ‘हारबाटै धेरै कुरा सिकिन्छ ।’