मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
असार पहिलो साता आएको बाढीले कमला नदीको पुल भत्काएको थियो । यो पुल केही दिनमै सञ्चालन गर्ने तयारी थियो ।
दीपक अधिकारी काठमाडाैं
२०७८ कार्तिक १ सोमबार ०७:३८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

असारयताका बाढीले भत्काएका पुल अझै अलपत्र

पप्पुले बनाएको कमला नदीको पुल सञ्चालनमा नआउँदै भासियो, चार महिना बित्दा पनि पुनर्निर्माण हुने नहुने ठेगान छैन

Read Time : > 4 मिनेट
दीपक अधिकारी, काठमाडाैं
२०७८ कार्तिक १ सोमबार ०७:३८:००

देशभरका थुप्रै नदी र खोलाहरूमा पुल छैनन् । एउटै पुल बन्दा सामान्य बन्ने दैनिकी पुल नहुँदा कष्टपूर्ण छ । विकासमा बेवास्ता, परियोजना छनोट र बजेट विनियोजनको झन्झटिलो प्रक्रिया, ठेक्कामा हुने बदमासी, ठेकेदारले गर्ने ढिलासुस्तीलगायतले आवश्यकताअनुसार पुल बन्न सकेका छैनन् ।

त्यसमाथि वेलावेलाको प्राकृतिक विपत्तिले पुलसँग जोडिएका नागरिकका सपना धुमिल बनाइरहेको छ । गत असारयता देशका विभिन्न नदी र खोलाहरूमा आएका बाढीले नागरिकका थुप्रै त्यस्ता सपना टुटाइदिएको छ । बाढीले बगाएका र क्षति पु¥याएका पुल चार महिना बित्दासमेत पुनर्निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन । पुल नहुँदा नागरिकले दैनिक सास्ती भोगिरहेका छन् । जिल्ला ब्युरोको रिपोर्टः

सिरहा र धनुषा जिल्ला जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा पुल निर्माणको काम करिब सकिएको थियो । तर, असारको पहिलो साता कमला नदीमा आएको ठूलो बाढीले सिरहा नगरपालिका– ६ बसपिट्टातर्फको दोस्रो पायाँ भात्काइदियो । हेर्दाहेर्दै स्ल्याब नदीमा खस्यो । केही दिनभित्रै पुल सुरु गर्ने तयारी थियो । यसबाट उत्साही भएका स्थानीयको खुसी क्षणमै खोसियो ।

पुल भासिएपछि प्रदेश २ का तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको नेतृत्वमा भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी, हुलाकी सडक आयोजनाका पदाधिकारीलगायत प्राविधिकले अवलोकन गरे । कमला नदीका साइट इन्जिनियर जयनाथ यादवले प्राविधिक टोलीको निष्कर्षका आधारमा पुल निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्सले नै बनाउने बताएका थिए । तर, न अहिलेसम्म प्राविधिकहरूको प्रतिवेदन सार्वजनिक भएको छ, न काम नै अघि बढेको छ । 

कमला नदीमा पुल बनाउन ०६८ सालमा पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्र्डस जेभीले निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर, निर्माणले गति लिएन । इन्जिनियर यादवका अनुसार त्यसमाथि पप्पुले पुलको पाया गुणस्तरीय बनाएन । कम्तीमा ३५ मिटर जमिनमुनिसम्म खनेर पाया निर्माण गर्नुपर्नेमा १४ मिटरमा धसाएर पाया उठाएपछि कमजोर पूर्वाधार बन्यो । अर्का इन्जिनियर मनि दासले पनि कमजोर पूर्वाधारकै कारण पुल भासिएको बताए । उनले भने, ‘३५ मिटर तलसम्म खनेर पुलको पाया राख्नुपर्नेमा साढे १४ मिटर मात्र हुँदा पानीको बहाव थेग्न नसकेर भासिएको हो ।’

मस्र्याङ्दी नदीमा आएको बाढीले बेलिब्रिज, झोलुंगे र काठे गरी दशवटा पुल बगायो । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत पर्ने तिमाङखोलाको बेलिब्रिज बगेको त पाँच महिना नै भयो । निर्माणको सुरसार नै छैन । 

 भैरहवा : राजमार्गकै पुल भत्कियो, नयाँ बनाउन प्रक्रिया सुस्त
१० भदौमा परेको मुसलधारे पानीले देवदहको घोडाहा र सुनवलको तुरिया खोलामा ठूलो बाढी आयो । बाढीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने घोडाहा पुल र तुरिया खोलाको पुुल भत्काइदियो । राजमार्गकै पुल भत्किएकाले त्यसको ठूलो प्रभाव पर्‍यो । त्यसैले बुटवल–नारायणगढ सडक परियोजनाले बाढी कम भएपछि तुरिया खोलामा बेलिब्रिज र घोडाहामा डाइभर्सन बनाएर तत्काल सडक सुचारु गर्‍यो । साथै, नयाँ पुल निर्माणको काम पनि अघि बढायो । 

परियोजना प्रमुख प्रदीप शाक्यका अनुसार पुरानो पुल भएकै स्थानमा नयाँ पुल निर्माणको कामअघि बढाइएको हो । यसअघि सरकारले सो सडकखण्डलाई चार लेनमा विस्तार गर्ने लक्ष्यसहित टेन्डर आह्वान गरी निर्माण कार्य अगाडि बढाएको थियो । यहीबीच पुल भत्किएकाले सोही स्थानमा अर्को दुई लेनको पुल निर्माण कार्य अघि बढाइएको शाक्यले बताए । ‘सो सडकखण्ड चार लेन बनाउने काम भइरहेको छ,’ योजना प्रमुख शाक्यले नयाँ पत्रिकासँग भने, ‘पुरानो पुललाई दुई लेनकै बनाउने र अब दुई लेनकै नयाँ पुल थप्ने गरी काम भइरहेको छ ।’

 पुल बगेको साढे तीन महिना भयो, निर्माणको प्रक्रियासमेत अघि बढेन
गत १ असारकै दिन सिन्धुपाल्चोकको मेलम्चीको बाढीलेजस्तै मनाङमा मस्र्याङ्दी नदीमा आएको बाढीले बेलिब्रिज, झोलुंगे पुल र थुप्रै काठेपुलमा क्षति पुर्‍यायो । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत पर्ने चामे गाउँपालिका– १ तिमाङखोलाको बेलिब्रिज १३ जेठमै बाढीले बगाएको थियो ।

सो बेलिब्रिज सडक विभागले एक वर्षअघि मात्र निर्माण गरेको थियो । १ असारको बाढीले १० वटा झोलुङे पुल र ४ वटा काठेपुल बगायो । हाल तिमाङखोला र तिमाङ छहरामा अस्थायी काठेपुल निर्माण गरिएको छ । काठेपुलबाट यात्रु र सवारी साधन जोखिम मोलेर ओहोरदोहोर गरिरहेका छन् ।

मेलम्चीमा आएको लेदोसहितको बाढीले त्यस क्षेत्रका पाँचवटा पुल बगायो । ती पुल कहिले बन्ने हुन अत्तोपत्तो छैन । चोक्पु पुल बगाएको ठाउँमा तुइन हालिएको छ । तर, नागरिकको जोखिम थप बढेको छ । 

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले मनाङमा यस वर्ष ठूलो वर्षा भएकाले भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए । डुम्रे बेँसीसहर चामे सडक योजनाका प्रमुख अच्युत विलास पन्तले तिमाङ खोलामा पुल निर्माण गर्न पुलको डिजाइन र ठेक्का प्रक्रियाअगाडि बढाइएको बताए ।

 मेलम्चीको बाढीले बगाएका पाँचवटा पुल कहिले बन्ने हुन्, अत्तोपत्तो छैन
गत १ असारमा मेलम्ची खोलामा आएको बाढीले चोक्पु पुल बगाएपछि हेलम्बु शिरानका बस्ती मेलम्चीघ्याङ र तार्केघ्याङबीच सम्बन्धविच्छेद भयो । वारिपारि रहेका दुई गाउँका स्थानीयबीच अ‍ैँचोपैँचो र मर्दापर्दाको सम्बन्ध रहेकाले दुवै गाउँले सकसमा परे । अनेक ठाउँ गुहारे । पुल निर्माणको टुंगो लागेन ।

गाउँपालिकाले हालै दुई गाउँ जोडिने गरी तुइन हालिदिएको छ । तुइनले केही राहत त दिएको छ, तर जोखिम भने बढाएको छ । सो ठाउँमा एक वर्षअघि ०७७ असारमा बागमती प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय चौताराले मोटरेबल पुल बनाउन चार करोड ५६ लाख ९२ हजार रकम विनियोजन गरेको थियो । लगत्तै निर्माणको काम पनि सुरु भएको थियो । पुल निर्माण सम्पन्न भएपछि गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी प्रक्रिया चल्दै थियो । तर, १ असारमा मेलम्ची खोलाको मुहान क्षेत्र भेमाथाङबाट आएको बाढीले बगाइदियो । हेलम्बुमा मात्रै यस्ता पाँचवटा पुल बगाएको छ । ती पुल कहिले बन्ने हुन् ठेगान छैन ।

 पुल भत्किएको साढे तीन महिना हुँदा पनि निर्माण सुरु भएन
पूर्वी चितवनको लदरी खोलामा पुल नहुँदा खैरहनी नगरपालिकाको २ र ३ नम्बर वडावासीले सास्ती व्यहोर्दै आएका थिए । पुल बनाउने अठोट गर्दै स्थानीयले डेढ दशकअघि महायज्ञ लगाएर अर्थ संकलन थाले । सरकारले पनि केही सहयोग गरेपछि लदरी खोलामा पुल ठडियो । तर, गत १७ असारमा पुल भत्कियो । लगातारको पानीले बढेको बहाव पुलले थेग्न सकेन ।

१७ असारमा भत्किएको लदरी खोलाको पुल । बाढीले पुल भत्काएपछि स्थानीय खोलाबाटै ओहोरदोहोर गर्न बाध्य छन् ।

पुल भत्किएयता आवागमन पूर्ण रूपमा ठप्प छ । स्थानीय फेरि पनि जोखिम मोलेर खोलाबाटै यात्रा गर्न बाध्य छन् । त्यसैले अब खैरहनी नगरपालिकाले पुल निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको छ । खैरहनीका नगरप्रमुख लालमणि चौधरीले पुल बनाउन स्थानीयले ठूलो इच्छाशक्ति देखाए पनि स्थानीय स्रोत–साधन र मजदुरको प्रयोग गरिएकाले बलियो पुल बन्न नसकेको बताए ।

पुल बनाउन राज्यबाट बजेट नपाएपछि महायज्ञ लगाएर आर्थिक संकलन गरी स्थानीयले बनाएको लदारी खोलाको पुलले यसपटकको बाढी थेग्न सकेन । बुल बगेपछि खैरहनी नगरपालिकाको २ र ३ नम्बर वडाबासी जोखिम मोलेर खोलाबाटै यात्रा गर्न बाध्य छन् । 

‘तत्कालीन अवस्थामा स्थानीयले महायज्ञ लगाएर पैसा संकलन गरेका थिए । सायद, अर्थकै अभावमा पुलको सही डिजाइन र गुणस्तरको काम भएन । त्यसैले लामो समयसम्म टिकेन,’ नगरप्रमुख चौधरीले भने । उनले अब नगरपालिकाले नयाँ पुल बनाउने बताए । ‘नगरपालिकाले नयाँ पुलका लागि डिपिआर तयार गरेको छ । प्रदेश सरकारले पनि सहयोगको आश्वासन दिएको छ । त्यसै ठाउँमा छिट्टै नयाँ पुल बनाउँछौँ,’ उनले भने ।

माडी–ठोरी हुलाकी राजमार्गअन्तर्गत माडी नगरपालिका ३ र ४ को सिमानामा पर्ने मगोई खोलामा निर्माणाधीन पुल ११ भदौमा बाढीले बगायो । पुलको सेल्ट्रिङ र प्लाई अत्यधिक पानीको बहावमै बगे । निर्माणाधीन पुलमा किन क्षति पुग्यो भन्ने छानबिन भएको छैन । तर, माडी नगरपालिकाले अहिले निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले नै पुल सम्पन्न गर्ने बताएको छ । नगरपालिकाका विपत् व्यवस्थापन स्रोतव्यक्ति गोविन्द न्यौपानेले बर्खा सकिएलगत्तैबाट काम सुरु गर्ने ठेकेदारले जानकारी गराएको छ । 

सिरहामा सुरेन्द्रकुमार कामती, सिन्धुपाल्चोकमा रामकृष्ण थापा, लमजुङमा शान्ता कमली, भरतपुरमा विवेक पोख्रेल र  भैरहवामा दिपेश पछाई