मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कमल खत्री म्याग्दी
२०७८ असोज २० बुधबार १५:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक आन्दोलित

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ असोज २० बुधबार १५:२०:००

म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा कार्यरत कर्मचारीले तलब नपाएपछि आन्दोलित बनेका छन्। अस्पतालमा कार्यरत  चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले विगत तीन महिनायता तलब नपाएपछि बुधबार बिहादेखि आकस्मिकबाहेकको स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्। 

अस्पताल व्यवस्थापन समितिलाई दुई दिनअघि ४८ घन्टे अल्टिमेटमसहित ध्यानाकर्षणपत्र बुझाएका उनीहरूले चाडपर्वको मुखमा समेत तलब प्रदान गर्ने तयारी नगरेपछि दबाबका लागि बुधबारदेखि आन्दोलनमा उत्रिएका छन्।

बहिरंग कक्ष, ल्याब, आँखा उपचारलगायतका कक्षको सेवा ठप्प भएको छ। अस्पतालअघि र अध्यक्षको कार्यकक्षअगाडि स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीहरूले धर्ना दिएर बसेका छन्। हाल बेनी अस्पतालले ६४ शय्याबराबरको सुविधा दिइरहेको छ। सुत्केरी बेथा लागेर अस्पतालमा ल्याएको बिरामीलाई समेत चेकजाँच नगरेपछि समस्यामा परेको मंगला गाउँपालिका– २ बाट बेनी अस्पतालमा आएकी भगवती किसानले बताइन्।

‘सुत्केरी बेथा लागेको छ, रगत परीक्षण र भिडियो एक्सरे गर्नुपर्छ भनेका छन, तर चेकजाँचका लागि कक्षमा कोही पनि छैनन्, बिरामीलाई अप्ठ्यारो परे पोखरा पुर्‍याउनुपर्ने हुन्छ, यहाँ चेकजाँच नै भएको छैन,’ उनले भनिन्।

बिहान ९ बजेदेखि नै अस्पतालमा ओपिडी सेवाका लागि बिरामीहरू आए पनि दर्तालगायतका कुनै पनि कक्ष नखुलेपछि निराश भएर फर्कन बाध्य भएका छन्। बेनी नगरपालिका– २ भकुन्डेबाट छिमेकी वृद्धको आँखाको उपचारका लागि ल्याएर आएर आएका गणेश सुवेदीले दिनभर अस्पतालमा कुर्दासमेत उपचार पाउन नसकेको गुनासो गरे। 

बेनी अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा एक सय २३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन्। उनीहरू कसैले पनि गत साउन महिनायता तलब पाएका छैनन्। अस्पतालमा प्रसूति सेवा लिएका सुत्केरीहरूले पाउनुपर्ने आमा सुरक्षा कार्यक्रमको भत्तासमेत वितरण भएको छैन ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अन्य दुईवटा कार्यालयसमेत हेर्ने गरी लेखापाल खटाएको र अस्पताललाई प्राथमिकता दिन नसक्दा ढिलासुस्ती  भएको बताए। अहिले अस्पताल व्यवस्थापन समिति र आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मीहरूबीच वार्ता भइरहेको छ।