१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नवराज मैनाली काठमाडाैं
विजयराज खनाल काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o७:४८:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिभिल सहकारीमा फस्यो  २१९० निक्षेपकर्ताको साढे सात अर्ब

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
विजयराज खनाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o७:४८:oo

पक्राउ परेका पूर्वसांसद इच्छाराज तामाङलगायतले प्रवर्द्धन गरेको सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्सले सर्वसाधारण निक्षेपकर्ताको साढे सात अर्ब रुपैयाँ निक्षेप फिर्ता गरेको छैन । दुई हजार एक सय ९० बचतकर्ताले सात अर्ब ५८ करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको सहकारीपीडित संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले जानकारी दिए । 

सर्वसाधारणको निक्षेप फिर्ता नगरी गठी गरेको तथा संस्थाको कर्जा पनि नतिरेपछि तामाङसहित संस्थाका १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सर्वसाधारणलाई निक्षेप रकम फिर्ता नगरेको, तर नजिकका केही सीमित व्यक्ति तथा संस्थाले भने सहकारीबाट भुक्तानी पाइरहेको कार्यालयबाट सहकारीपीडित संघर्ष समितिले झिकाएको विवरणले देखाउँछ । सहकारीमा समस्या देखिएपछि कर्मचारी र तिनका आफन्त, सिभिल समूहकै केही संस्था र अध्यक्ष संलग्न निर्माण क्षेत्रका व्यक्तिहरूलाई भुक्तानी दिइएको पाइएको थियो । 

‘हामीले पटक–पटकको प्रयासपछि पनि निक्षेप फिर्ता पाउने अवस्था नबनेपछि सुरुमा ७५ बचतकर्ताले सिआइबीमा उजुरी हालेका थियौँ,’ सिभिल सहकारी पीडित संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले भने, ‘तामाङको डरले यसअघि उजुरी नदिएका थप ६० जनाले पनि मंगलबारसम्म उजुरी दिएका छन् ।’ 

तीन वर्षदेखि साधारणसभा गर्न नसकेको सिभिलले ३ असोजमा सभा गर्न सहकारी रजिस्ट्रार, हेटौँडाबाट म्याद पाएको थियो । तर, २२ असोजमा सभा गर्ने मिति तय गरेको छ । हाल सहकारीमा सञ्चालकसमेत नरहेको अवस्थामा लेखापरीक्षकको प्रतिवेदनसमेत सभाअघि बहसमा नल्याएपछि संघर्ष समितिमा आबद्ध व्यक्तिहरूले सिआइबीमा उजुरी दिएका हुन् । 

सर्वसाधारणको निक्षेप नियम मिचेर हाउजिङ क्षेत्रमा लगानी गर्दा जसरी ओरेन्टल सहकारी डुबेको थियो, त्यस्तै अवस्था सिभिल सहकारीमा आएको छ । सहकारीका संस्थापक इच्छाराज तामाङलगायतले सहकारीको पैसा हाउजिङमा लगाएर संस्थालाई कर्जा तिरेका छैनन् । 

हालसम्म उनीहरूविरुद्ध एक सय २७ जनाले उजुरी दिइसकेको र उजुरी आउने क्रम जारी रहेको सिआइबीका निर्देशक डिआइजी धीरजप्रताप सिंहले बताए । ‘एकै व्यक्तिको तीन करोडसम्म निक्षेप रहेछ,’ उनले भने, ‘७० करोड ८७ लाख १३ हजार ठगी भएको भनेर उजुरी आइसकेको छ ।’ 

विगत दुई वर्षदेखि संस्थाले सर्वसाधारणको ब्याज तथा साँवा फिर्ता दिन सकेको छैन । तर, सत्ताको आडमा तामाङ र उनका सहयोगीमाथि कारबाही हुन सकेको थिएन । संस्थाका हालका अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभकेतन ढुंगाना र पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई समेत सिआइबीले पक्राउ गरेको छ । प्रहरीले हिनामिनामा संलग्न भएको भन्दै सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई पनि पक्राउ गरेको छ । उनीहरूलाई ठगी मुद्दामा पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न मंगलबार अदालतले आदेश दिएको छ । 

०५७ सालमा स्थापना भएको यो सहकारीमा विगत तीन वर्षअघि समस्या सुरु भएको थियो । अन्य सहकारीभन्दा महँगो ब्याज दिएर उसले साढे सात अर्बभन्दा धेरै निक्षेप संकलन गरेको थियो । आफ्नो पुँजीको १० प्रतिशत रकम मात्र सदस्यहरूलाई कर्जा लगानी गर्न पाउने व्यवस्था भए पनि सिभिल होम्सलाई मात्र आठ अर्ब लगानी गरिएको थियो । नियामक निकायको कमजोरीले पनि अहिले सर्वसाधारण समस्यामा परेको प्रहरी अधिकारी बताउँछन् । 

सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्रावधानविपरीत एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनाहरूमा लगानी गरेको सिआइबीले जनाएको छ । लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकेपछि समस्या सुरु भएको थियो ।

सिभिल होम्समा लगानी गरियो, बेचेको पैसा गायब 
तामाङनिकट नौवटा कम्पनीमार्फत सहकारीको पैसा हाउजिङ क्षेत्रमा लगानी गरिएको थियो । तर, त्यसरी लगानीपछि घर बिक्रीको पैसा भने सहकारीमा ल्याइएन । यसबाट नियोजित रूपमा संस्थामा हिनामिना गरिएको प्रहरी आशंका छ । ‘सिभिल होम्स बेचेको पैसा कहाँ लगियो भनेर हामी खोजी गरिरहेका छौँ,’ सिआइबीका डिआइजी सिंहले भने, ‘एकातर्फ नियम मिचेर लगानी भयो भने अर्काेतर्फ पैसा नै गायब बनाएको देखिन्छ ।’ 

सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्टलगायत कम्पनीमार्फत तामाङलगायत सञ्चालकले सहकारीको रकम दुरुपयोग गरेका थिए । त्यसमध्ये कतिपय लगानीमा प्रतिफल भए पनि कतिपय लगानी घाटामा गए । सुन्धाराको सिटिसी मललगायतमा भएको लगानीको प्रतिफल नआएपछि तामाङ समस्यामा परेका थिए । उनका सबै सम्पत्ति यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रोक्का गरिसकेको छ । पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्षसमेत रहेका तामाङमाथि दबाबकै भरमा सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि रोकिएको थियो । यसअघि समस्यामा फसेपछि उनले सिभिल बैंकमा श्रीमतीको नाममा रहेको सेयरसमेत बिक्री गरेका थिए । ‘जसरी हचुवाका भरमा हाउजिङ क्षेत्रमा लगानी गर्दा सुधीर बस्नेत डुबेका थिए, तामाङको पनि त्यस्तै अवस्था देखियो,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारी भन्छन्, ‘तर, तामाङले भने सम्पत्ति लुकाएको आशंका छ ।’

आफूअनुकूलका व्यक्ति र संस्थाका नाममा भुक्तानी, सर्वसाधारणलाई दिइएन 
सहकारीबाट ०७६ वैशाखदेखि ०७७ असारसम्म १० हजार चार सय १६ पटकसम्म विभिन्न व्यक्ति र संस्थाको नाममा भुक्तानी भएको छ । यस अवधिमा कुल एक अर्ब आठ करोड भुक्तानी भएको देखिन्छ । तर, कुल भुक्तानीको १५ प्रतिशत रकम निश्चित समूहलाई वितरण गरिएको छ । यसरी भुक्तानी पाउनेमा दी काठमान्डु हाउजिङ, ग्रिन हिल सिटी, पायोनियर प्लास्टिक इन्डस्ट्रिज, संस्थाका सबैभन्दा ठूला बचतकर्ता जनक विष्ट, दुर्गादेवी मानन्धर, सिभिल सेभिङ्स, सिभिल क्यापिटल मार्केट लिमिटेड र सिभिल होम्स छन् । 

आफ्नो हाउजिङमा लगानी गरेर तामाङले यसरी डुबाएका थिए सहकारी 

०५७ मंसिरबाट सञ्चालनमा आएको सहकारीले साउन ०७५ देखि नै नियमविपरीत कर्जा लगानी गर्न थालेको थियो । सोही समयदेखि नै तामाङआबद्ध सिभिल होम्सलगायत परियोजनाका उनी नै सञ्चालक रहेको सिभिल सेभिङ्स एन्ड क्रेडिटले लगानी गर्न थालेको थियो । नेपाल राष्ट्र बैंकसमेतको सघन अनुगमनपछि सिभिल होम्सलगायत परियोजना कर्जा पाँच वर्षभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाइए पनि कर्जा चुक्ता नभई झन्डै चार गुणाले कर्जा वृद्धि भएको थियो । यस्ता परियोजनामा पुरानो कर्जा चुक्ता नै नभई थप लगानी गर्नेसमेत गरिएको थियो । 

सहकारी संस्थाकै घरजग्गा बिक्री गरेर आएको एक अर्ब रकमसमेत फिर्ता हुन नसकेको, कर्जा दायित्व भएका अन्य कम्पनीको चल–अचल सम्पत्ति बेचेर पनि कर्जा चुक्ता नगरेको भेटिएको थियो । सिभिल समूहले चलाइरहेको सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्टलगायत नौवटा परियोजनामा लगानी भएको पाइएको थियो । समूहभित्रैको लगानी असुल हुन नसक्दा ०७६ यता सहकारीमा तरलता अभाव हुन थाल्यो र बचत दायित्व नै पूरा गर्न सक्ने अवस्था भएन । ३१ असार ०७६ मा जी पौड्याल एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टले पेस गरेको अडिट रिपोर्टमा सिभिल होम्समा मात्रै नौपटकसम्म आठ अर्ब २० करोड ऋण लगानी गरेको उल्लेख छ । प्रतिवेदनले करिब ९७ करोड कर्जा भुक्तानी अवधि बाँकी रहेको, तर अवधि सकिएका कर्जाको पनि भुक्तानी नभएको देखाउँछ । त्यस्तै, सिभिल इस्टेट्सलाई दुईपटक गरेर ६ करोड ६८ लाख कर्जा लगानी गरेकोमा एक करोड ६८ लाखको कर्जाको अवधि बाँकी छ । यसरी लगानी गर्दा पनि ऋणीले पुरानो कर्जा भुक्तान नै नगरेको रिपोर्टमा उल्लेख छ । 

समूह संस्थाले मात्र नभई ऋणीहरू अञ्जली महर्जन, अन्दिता महर्जन, भिररत्न तुलाधर, राजेश शर्मा पौडेल, अमिता वैद्य, सरिता जोशी वैद्य, एनी मित्तल, अभिजितबहादुर राउत, जनक विष्ट, मीरा अग्रवाल, यज्ञरत्न कंसाकार, विश्वनाथ श्रेष्ठ र भगवानप्रसाद श्रेष्ठले यस्तै सुविधा पाएको फेला परेको थियो । बचतबाहेक आफ्नो पुँजीको १० प्रतिशत रकम मात्र सदस्यहरूलाई कर्जा लगानी गर्न पाउने व्यवस्थाविपरीत सहकारीले लगानी भेटिएको थियो । चार करोड २० लाखबराबर रकम लगानी गर्न सक्ने भए पनि सिभिल होम्स, लालकाजी गुरुङ, सिभिल इस्टेट, सिभिल अपार्टमेन्टलाई सहकारीले प्रतिऋणी सीमाभन्दा दुई सय गुणासम्म अधिक लगानी गरेको थियो । 

ad
ad