१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ असोज २० बुधबार ०७:२७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आइसिएचएमको शंकास्पद शैक्षिक प्रमाणपत्र प्रकरण : कलेजले उठाएको एक करोड जर्जियाको विश्वविद्यालयमा पुगेन

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ असोज २० बुधबार ०७:२७:००

शैक्षिक प्रमाणपत्रका लागि भन्दै इन्टरनेसनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट (आइसिएचएम) ले सन् २०१३ ब्याचका विद्यार्थीबाट संकलन गरेको रकम सम्बन्धन लिएको भनिएको इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जियामा नबुझाएको खुलेको छ । उक्त विश्वविद्यालयमा बुझाउनुपर्ने भन्दै आइसिएचएमले एक सय ३२ विद्यार्थीबाट एक लाख अमेरिकी डलर (एक करोड रुपैयाँभन्दा धेरै) उठाएको थियो । 

सञ्जय झा

आइसिएचएमले संकलित रकम मलेसियाको क्वालालम्पुरस्थित युनिभर्सिटी इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड युरोपियन स्टडी (युनिस)को कार्यालयमा पठाएको, तर त्यहाँबाट युनिभर्सिटी अफ जर्जियामा नपठाएका कारण कुनै पनि नेपाली विद्यार्थीको भर्ना नभएको विश्वविद्यालयका तत्कालीन मानार्थ प्रोफेसर डा. हविल क्लाउज ओस्ट्रेचरले नयाँ पत्रिकालाई इमेलमार्फत बताएका छन् । आइसिएचएमले २०१८ जुलाईमा ह्यात होटेलमा दीक्षान्त कार्यक्रम राखेर युनिभर्सिटी अफ जर्जियाको प्रतिनिधि भन्दै युनिसका जोभन डेडरलाई ल्याई विद्यार्थीलाई ट्रान्सक्रिप्ट वितरण गरेको थियो । ट्रान्सक्रिप्टमा नेदरल्यान्डका नागरिक डेडरले नै हस्ताक्षर गरेका थिए । तर, वितरित शैक्षिक प्रमाणपत्रका सम्बन्धमा विवाद भएपछि केन्ट कलेजका सञ्चालक सञ्जय झाका एक व्यापारिक साझेदारले डा. क्लाउजलाई इमेल लेखेका थिए । इमेलमा सोधिएको जिज्ञासाको जवाफ फर्काउँदै क्लाउजले ‘युनिसका नाममा डेडरले बाँडेको प्रमाणपत्र नक्कली हो’ भनेर इमेल पठाएका थिए । 

७ अगस्ट ०१८ मा लेखिएको उक्त इमेलको आधिकारिकता परीक्षण गर्न नयाँ पत्रिकाले आइतबार डा. क्लाउजलाई इमेल लेखेको थियो । उनले चार वर्षअघिको उक्त इमेलको सबै व्यहोरा सत्य भएको बताएका छन् । उनले नयाँ पत्रिकालाई भनेका छन्, ‘विषयवस्तुसँग सम्बन्धित विवरणसहित तपाईंले पठाएको इमेल प्राप्त गरेँ । यस विषयमा त्यतिवेला मैले लेखेको इमेल पनि हेरेँ । ती सबै विवरण सत्य हुन् । आशा छ, यो विषयमा अनुसन्धान हुनेछ र दोषीले कानुनी सजाय पाउनेछन् ।’

आइसिएचएमले सन् ०१८ जुनमा बिएचएमका एक सय ३२ विद्यार्थीलाई नेदरल्यान्डका नागरिक डेडरमार्फत बाँडेको शैक्षिक प्रमाणपत्र पनि झुटा रहेको नयाँ पत्रिकालाई बताएका छन् । ‘प्रमाणपत्र वितरणका लागि विश्वविद्यालयले डा. डेडरलाई कुनै अनुमति दिएको थिएन,’ उनले इमेल लेखेका छन्, ‘यस्तै नक्कली काम स्विट्जरल्यान्डको इएचई युरोपियन युनिभर्सिटीमा पनि गरेका थिए । उक्त घटनामा विश्वविद्यालयले उनलाई गलहत्याएर निकालेको थियो । यस विषयमा विस्तृतमा विश्वविद्यालयसँगै पनि बुझ्न सक्नुहुन्छ ।’ 

डा. क्लाउजले ७ अगस्ट २०१८ मा लेखेको इमेलअनुसार डेडर आइसिएचएमको निमन्त्रणामा युनिभर्सिटी अफ जर्जियाको प्रतिनिधि भन्दै २०१८ को जुनमा काठमाडौं आएका थिए । यसका लागि उनलाई मलेसियाका प्रोफेसर डा. रवीन्द्रनाथम पद्मनाथम र केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट नेपालका सञ्चालक सञ्जय झाले सघाएका थिए । 

केन्ट ग्रुपबाट सञ्चालित केन्ट कलेजको सेयर दिने भन्दै ठगी धन्दामा समेत संलग्न रौतहट ईशनाथ–३ का ५० वर्षीय झा पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् । उनले धनुषा दुहबी– ३१ का ४२ वर्षीय प्रवीणकुमार झाको दुई करोड ४४ हजार एक ३४ रुपैयाँ ठगेका हुन् । ११ भदौमा पक्राउ परेका झालाई २९ भदौमा काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको हो । शंकास्पद प्रमाणपत्र वितरणका सम्बन्धमा पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीमाथि अनुसन्धान थालेको छ । 

विद्यार्थीमाथि यसरी भयो खेलबाड 
आइसिएचएमले सन् २०१३ अघि भारतको कर्नाटक राज्यस्थित कर्नाटक स्टेट ओपन युनिभर्सिटीबाट सम्बन्धन लिएको थियो । भारत सरकारले उक्त विश्वविद्यालयले विदेशी कलेजलाई दिने गरेको सम्बन्धनमा बन्देज लगाएपछि आइसिएचएमको सम्बन्धन पनि टुट्यो । आइसिएचएम अर्को विश्वविद्यालयको खोजीमा जुट्यो । तर, सम्बन्धन प्राप्त नहुँदासम्म पनि विद्यार्थी भर्ना भने रोकेन । तीन वर्षसम्म आइसिएचएमले विश्वविद्यालयको सम्बन्धनविना नै कलेजमा विद्यार्थी अध्ययन गरायो । 

२०१६ मा उनीहरू युनिभर्सिटी इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड युरोपियन स्टडिज (युनिस)को सम्पर्कमा पुगे । शिक्षा मन्त्रालयमा प्राप्त विवरणअनुसार उनीहरूले युनिसमार्फत इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जिया (तत्कालीन टिब्लिसी कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट)बाट २ सेप्टेम्बर २०१६ मा सम्बन्धन लिए । तर, कतैबाट सम्बन्धन नलिएको तीनवर्षे अवधिका विद्यार्थीको शैक्षिक प्रमाणपत्र दिलाउनुपर्ने थियो । जर्जिया विश्वविद्यालयबाटै प्रमाणपत्र मिलाउने योजनामा लागे । केन्टका सञ्चालक सञ्जय झाले नेपालबाट नेतृत्व लिए ।

कलेजले विद्यार्थीबाट एक करोडभन्दा बढी पैसा पनि उठायो । युनिसलाई बुझायो, तर जर्जिया विश्वविद्यालयमा पठाएन । उता, विश्वविद्यालयमा विद्यार्थीको भर्ना नै भएन । यता विश्वविद्यालयकै प्रतिनिधि भन्दै डा. जोभन डेडरलाई नेपाल ल्याएर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरियो । जर्जिया विश्वविद्यालयका तत्कालीन मानार्थ प्रोफेसर डा. हविल क्लाउज ओस्ट्रेचरले नेपाली विद्यार्थीलाई वितरित ती सबै प्रमाणपत्र जर्जियन कानुनअनुसार नक्कली भएको बताएका छन् ।

अदालतमा पनि सञ्जयको सेटिङ ! 
काठमाडौं जिल्ला अदालतले ठगी मुद्दाका अभियुक्त सञ्जयलाई २४ भदौमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गर्‍यो । जिल्ला अदालतको आदेशविरुद्ध उनी रिट निवेदन लिएर उच्च अदालत पाटन पुगे । उच्चले ७ असोजमा उनको मुद्दाको पेसी तोक्यो । सञ्जयको रिटविरुद्ध अर्को रिट निवेदन लिएर मुद्दाका वादी प्रवीण झा पनि उच्च पुगे । उच्चले ८ असोजमा पेसी तोक्यो । नियमअनुसार यस्ता रिटको साता बिराएर प्रत्येक बिहीबार पेसी तोकिन्छ । तर, सञ्जयको हकमा उच्चले एकै सातामा तीनपटक (१४, १७ र १९ असोज) पेसी तोक्यो । दसैँ बिदा हुने भएकाले यस्तो गरिएको उच्चको भनाइ छ । तर, अदालत स्रोत भन्छन्, ‘सञ्जयको सेटिङमा यस्तो गरिएको हो ।’

आइसिएचएमलाई शिक्षा मन्त्रालयले पत्र काट्यो
शंंकास्पद शैक्षिक प्रमाणपत्र वितरणका सम्बन्धमा अनुसन्धान गर्न शिक्षा मन्त्रालयले आइसिएचएमलाई मंगलबार पत्र काटेको छ । पत्रअनुसार आइसिएचएमले मन्त्रालयको अनुसन्धानलाई अब सघाउनुपर्नेछ । अनुसन्धानका क्रममा मुद्दासँग जोडिएका सम्बन्धित अधिकारीले बयान दिनुपर्नेछ ।