मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २० बुधबार ०७:२२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनबाट मगाइएका दसैँका सामान तिहारपछि आइपुग्ने : नाका खुलाउन सरकारले पहल नगरेको गुनासो

दुई वर्षदेखि सहज रूपमा नाका सञ्चालनमा नआउँदा नेपाली व्यवसायीका अर्बौँका सामान चीनमै रोकिए

Read Time : > 2 मिनेट
२०७८ असोज २० बुधबार ०७:२२:००

कोरोना भाइरसको महामारी सुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन । अहिले रसुवागढी नाकाबाट कोटा प्रणालीअनुसार दैनिक नौ चिनियाँ कन्टेनरमा सामग्री नेपाल आयात भइरहेको छ । तर, यो परिमाण निकै कम भएको तथा सरकारले पनि पहल नगरेको व्यापारीहरूको गुनासो छ । व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार चीनबाट नेपालतर्फ सहज रूपमा आयात नहुँदा अर्बाैँको सामान चीनमै रोकिएका छन् । दुई वर्षदेखि सहज रूपमा नाका सञ्चालनमा नआउँदा नेपाली व्यवसायीका अर्बौँका सामान चीनमै रोकिएको उनले बताए । दैनिक आयात कोटा नबढेपछि दसँैका लागि मगाइएको सामान दसँैअगाडि भित्रिने सम्भावना नभएको उनको भनाइ छ । 

चीनबाट नेपाल आयात गर्ने १० भन्दा बढी ट्रान्सपोर्ट छन्, जसमध्ये मुसा ट्रान्सपोर्टको मात्रै ६ हजारभन्दा बढी सिबियक सामान चीनको केरुङमा रोकिएको पौडेलले बताए । चीनको केरुङबाट रसुवागढी नाकासम्म सामान ल्याउन ४६ वटा चिनियाँ कन्टेनर रहेका छन्, जसमध्ये दैनिक नौवटा चिनियाँ कन्टेनरले सामान ल्याइरहेका छन् । सिजनअनुसारको सामान ल्याइए पनि तोकिएको समयमा सामान नेपाल आइनपुगेको व्यवसायीहरूले बताएका छन् । पौडेलले भने, ‘दसैँको सामान तिहारपछि, जाडोको सामान गर्मीमा आउँछ, सहज रूपमा भनेको समयमा सिजनअनुसारको सामान ल्याउन समस्या भएको छ ।’

कोरोना संक्रमण सुरुअघि सयभन्दा बढी नेपाली कन्टेनरमा सामान नेपाल आयात हुने गरेको थियो । व्यवसायीहरूका अनुसार चीनको गोन्जाओबाट ल्याइएको सामान २० देखि २३ दिनभित्रमा नेपाल आइपुग्ने गरेको थियो, तर अहिले तीन महिनाभन्दा बढी समय लाग्छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार नाकाबाट सहज रूपमा सामानको आयात बढाउन पहल भइरहेको छ । नाकाबाट सहज रूपमा सामानको आयात बढाउन चीनले राखेको कोटा प्रणाली हटाउने, हुक एन्ड ड्रप प्रणाली लागू गर्नेलगायतका विषयमा पहल गरिरहेको जनाइएको छ ।  

बिहीबार महावाणिज्यदूत नवराज ढकालले फलोअपका रूपमा तिब्बत परराष्ट्र कार्यालयका निर्देशक छुकी ढोमा तथा तिब्बत वाणिज्य विभागका निर्देशक देबेईसँग रसुवागढी र तातोपानी नाकाबाट सहज रूपमा सामानको आयात बढाउन छलफल गरेका छन् । रसुवागढी नाकाबाट दैनिक ट्रकको संख्या १२ देखि १४ सम्म पु¥याउन चीन तयार भएको जनाएका छन् । यसका लागि नेपालले हालको समयभन्दा एकदेखि दुई घन्टाअगावै काम सुरु गर्नुपर्ने भएको छ भने आवश्यक कामदारको व्यवस्था गरी कार्यदक्षता वृद्धि गर्नुपर्ने बताइएको छ । 

त्यसैगरी, नेपाल आउने ट्रकहरूको संख्या बढाउन रसुवागढी नाकामा हाल सप्ताहन्तमा पनि काम भइरहेको चिनियाँ पक्षले जनाएका छन् । पछिल्ल्लो समय रसुवागढी नाकामा भएका गलत अभ्यासहरूलाई निरुत्साहन गर्न वाणिज्य विभागको पहलकदमीमा नम्बरिङ सिस्टमलगायत विभिन्न सुधार थालिएको जनाइएको छ । त्यसैगरी, तातोपानी नाकाबाट दैनिक ट्रकको संख्या बिस्तारै वृद्धि भइरहेको र यो संख्या दैनिक २० पुर्‍याइने चिनियाँ पक्षले बताएका छन् । यसका लागि नेपालतर्फ कामदारहरूको संख्या बढाउन, काम छिटो–छरितो रूपमा गर्न तथा सडक बिग्रनेलगायतको समस्याको तत्काल समाधान गर्न नेपालले आवश्यक तयारी गर्नुपर्ने चिनियाँ पक्षले जनाएको छ । 

कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । ०७६ माघ १५ देखि गएको ०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ नौवटा कन्टेनरमा सामान आयात भइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्न स्वास्थ्यको मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । 

रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायत सामग्री भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने गरेकोमा कोरोना संक्रमण सुरु भएपछि चीनले निर्यात रोकेको छ । ०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो । रसुवागढी नाका ०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । त्यसयता चीनतर्फको नेपालको व्यापार यसै नाकामा केन्द्रित रहेको छ ।