१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मैलुङ–स्याफ्रुबेँसी सडक एक सातामा सञ्चालनमा आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:२२:oo

वर्षायामभर अवरुद्ध चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक मर्मत सुरु भएको छ । वर्षाका कारण साढे दुई महिनादेखि अवरुद्ध सडक मर्मतको काम सुरु गरिएको हो । 

वर्षायाम सुरु भएसँगै पहिरो गई अवरुद्ध रहेको मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनका लागि मर्मतको काम सुरु गरिएको गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । सडक सञ्चालनका लागि ब्लास्टिङ गरी मर्मतको काम भइरहेको उनले बताए । सडक सुचारु गराउन स्काभेटर, लोडर, टिपरलगायतका ६ वटा उपकरण प्रयोग गरिएका छन् । अवरुद्ध सडक एक साताभित्रमा सञ्चालनमा आउने भण्डारीले बताए । 

सडकमा आवत–जावतका लागि जोखिम बढेसँगै गत असार १ देखि योजनाले सार्वजनिक सूचनामार्फत वर्षायामभर सडक सञ्चालनमा नआउने भनेको थियो । सडक अवरुद्ध भएसँगै बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेँसी सडकमार्फत सवारीसाधनको आवत–जावत भइरहेको छ । वर्षायाम कम भएसँगै अहिले सडक सञ्चालन गर्न लागिएको जनाइएको छ ।  
राष्ट्रिय प्राथमिकताप्राप्त मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो ।

सो सडकखण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती, मैलुङ, स्याफ्रुबेँसीको दूरी २९ किलोमिटर मात्रै छ ।

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चेखण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नुपर्दैन । यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने र छिट्टै गन्तव्यमा पुगिने हुँदा कन्टेनरचालकहरू यो सडकतर्फ आकर्षित हुँदै गएका थिए ।  

ad
ad