मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ असोज १५ शुक्रबार ०७:४७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हिमालय माविका प्रअलाई प्रशासनिक काम गर्न रोक, लेखपाल निलम्बित

Read Time : > 1 मिनेट
२०७८ असोज १५ शुक्रबार ०७:४७:००

एक करोड रुपैयाँभन्दा बढी हिनामिना गर्ने दमक नगरपालिका– २ स्थित हिमालय माविका प्रधानाध्यापक र लेखापालमाथि कारबाही अघि बढेको छ । विद्यालय व्यवस्थापन समितिले छानबिन प्रक्रिया नटुंगिएसम्म प्रअ ओमप्रसाद आचार्यलाई प्रशासनिक काम गर्न रोक लगाएको छ । लेखापाल दयासागर आचार्यलाई निलम्बन गरेको छ । सहलेखापाल दुर्गाबहादुर खड्कालाई परीक्षा शाखामा सरुवा गरिएको विद्यालयले जनाएको छ ।

व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटाले अनियमिततामा संलग्न दुवैलाई बिहीबारदेखि नै लागू हुने गरी कारबाही गरिएको बताए । ‘प्रअ आचार्यलाई प्रशासनिक काम गर्न रोक लगाएका छौँ भने लेखापाल आचार्यलाई निलम्बन गरेका छौँ,’ अध्यक्ष सापकोटाले नयाँ पत्रिकासँग भने, ‘दुवैले छानबिनमा सघाउने लिखित प्रतिबद्धता जनाउनुभएको छ ।’ विद्यालयका निमित्त प्रअ द्रोणबहादुर श्रेष्ठले प्रअ आचार्यले प्रशासनिक काम नगरे पनि पठनपाठन गराउन भने पाउने बताए । 

प्रअ र लेखापाल मिलेर विद्यार्थीले विभिन्न शीर्षकमा तिरेको शुल्क अनियमितता गरेको गुनासो आएपछि समितिले ३१ भदौमा कृष्णप्रसाद बरालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति बनाई छानबिन गरेको थियो । छानबिनको क्रममा विद्यालयमा विभिन्न शीर्षकमा विद्यार्थीले बुझाएको एक करोड १४ लाख ७४ हजार आठ सय पाँच रुपैयाँ हिनामिना भएको फेला पारेको थियो । समितिले प्रअ र लेखापालले आम्दानीको स्रोत नै गायब बनाएर ७१ लाख ८४ हजार सात सय ५० रुपैयाँ अनियमितता गरेको ठहर गरेको थियो । यस्तै, स्रोत देखिए पनि विद्यालयको बैंक खातामा जम्मा नगरेर ४२ लाख ९० हजार ५५ रुपैयाँ हिनामिना गरेको फेला पारेको थियो । 

सामुदायिक विद्यालयमा भएको हिनामिनासम्बन्धमा नयाँ पत्रिकाले बिहीबार समाचार प्रकाशन गरेको थियो । त्यसपछि बसेको विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको संयुक्त बैठकले कारबाही प्रक्रिया अघि बढाएको हो । ‘बिहीबार विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको बैठकले अनियमिततामा संलग्नमाथि थप छानबिन गरी रकम असुल गर्न दमक नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको छ,’ निमित्त प्रअ श्रेष्ठले भने । 

विद्यालयको खातामा  ९० लाख जम्मा 
छानबिन समितिले गल्ती औल्याएपछि बिहीबारसम्म पटकपटक गरेर विद्यालयको खातामा करिब ९० लाख रुपैयाँ जम्मा भएको छ । पैसा अनियमिततामा संलग्नहरूले नै जम्मा गराएका हुन् । ‘हामी सबै पैसा तिराउने पक्षमा छौँ । तर, पैसा जम्मा गरेर मात्र उन्मुक्ति पाइँदैन । कारबाहीका लागि शिक्षक–कर्मचारीले पनि आग्रह गरेका छन्,’ निमित्त प्रधानाध्यापक श्रेष्ठले भने । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पनि सामुदायिक विद्यालयको लाखौँ रुपैयाँ अनियमितता ठूलो अपराध भएको भन्दै दोषीलाई कानुनबमोजिम कारबाही गरिने बताए ।