मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 02 December, 2021
२०७८ असोज १४ बिहीबार १०:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोहोरियो व्याँसवासीको पीडा : तुइनमा झुन्डिँदै नदी वारपार

Read Time : > 1 मिनेट
२०७८ असोज १४ बिहीबार १०:११:००

व्याँस गाउँपालिकाका नागरिक फेरि पनि तुइनमा झुन्डिँदै गाउँ जान बाध्य भएका छन् । सरकारले व्याँस गाउँपालिका– २ दुम्लिङ, राप्लामालका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न नसक्दा फेरि पनि तुइनमा झुन्डँदै यात्रा गर्न बाध्य भएका हुन् । राप्ला र मालगाउँका सयौँ परिवार फेरि पनि तुइनमा झुन्डिएर वारपार गर्न थालेका छन् । सरकारले वैकल्पिक बाटोको विकल्प दिन नसक्दा उनीहरूले पुरानै शैलीको तारको प्रयोग गर्दै आवतजावत गर्न लागेका छन्। 

स्थानीय सरकारले माल गाउँका लागि हेलिकाेप्टरमार्फत खाद्यान्न गाउँ पुर्‍याए पनि दुम्लिङका स्थानीयका लागि खाद्यान्न ढुवानी हुन सकेको छैन । खाद्य संस्थानले ठेक्कामार्फत चामल पुर्‍याउने भने पनि अझै पुर्‍याउन नसकेको प्रभात बुढाथोकी बताउँछन् । उनले भने, ‘गाउँमा खाद्यान्न ढुवानी हुन नसकेपछि बाध्य भएर फेरि पनि तुइनबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’ 

तुइनको जोखिम मोलेर दुम्लिङका स्थानीयले खाद्यान्न र आवतजावत गर्नुपरेको अर्का स्थानीय महेन्द्र बुढाथोकीले बताए। बाटोको विकल्प छैन । तुइनबाट नगएर गाउँ पुग्न दुई दिन बढी लाग्छ । ‘वर्षौँदेखि मजबुर भएर तुइनमा झुन्डिनुपरेको छ,’ बुढाथोकीले भने, ‘यो क्षेत्रमा राज्यको नजर कहिले पुग्ला ।’ नेपालबाट दुम्लिङ पुग्न दुई दिन लाग्छ । भारतीय बाटो हुँदै जाँदा दुई घन्टामै गाउँ पुगिन्छ। 

यो क्षेत्रमा दुई वर्ष अघिसम्म काठको पुलमार्फत महाकाली वारपार हुने गर्थ्याे । कोभिड– १९ को लहर आएसँगै यो क्षेत्रमा लगाइएको काठेपुल भत्काइएको हो । त्यसयता अहिले नागरिकले तुइन लगाएर आवतजावत गर्न थालेका हुन् । फेसबुकमै जलन बुढाथोकी लेख्छन्, ‘जिन्दगीको कुनै निश्चित छैन, कतिखेर महाकालीमा विलीन हुने हो बाध्यता कसले बुझिदिने ?’ गत साउन १५ गते व्याँस गाउँपालिका– २ कै जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएयता यहाँका नागरिकलाई पनि तुइनमा आवतजावत गर्न निकै डर लागेको छ । तर, तुइनको विकल्प नभएपछि अहिले पनि उर्लँदो महाकालीमा आवतजावत गर्न बाध्य भएका हुन्।

व्याँसको दुम्लिङ सडक अहिले नै पुग्न सक्ने अवस्था छैन ।  यो क्षेत्रमा भर्खर मात्र नेपाली सेनाले सडक निर्माणको काम थालनी गरेको छ । मालगाउँ नजिकैबाट सेनाले काम सुरु गरेको छ । व्याँस– ३ तुसरपानी क्षेत्रमा सडक निर्माणमा भएको बेवास्ताले पनि नेपालीले दुःख पाएको दुम्लिङका स्थानीय प्रभात बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘यस्तै छ, हाम्रो परिस्थिति नेपालीको बाध्यता राज्यको ध्यान नजानु ।’ राज्यले ध्यान नदिएकै कारण मालमा घटना घटेको हो।

मालघाटमा झोलुंगे  पुल निर्माणको लागि ठेक्का भएको तीन वर्ष हुँदा पनि निर्माण कार्य अघि बढेको छैन । पुल निर्माण मात्रै भएको भए राप्ला, माल र दुम्लिङका नागरिकले राहत पाउँथे, मालका स्थानीय नरेन्द्रसिंह धामीले भने, ‘मेरो दाइ बेपत्ता भएको महिनौँ भयो, अझै पनि सरकारले यो क्षेत्रमा पुल निर्माणका लागि ठेकेदारलाई घचघच्याएको छैन।’ 

नवीनसिंह डोबाल भन्छन्, ‘व्याँसवासीका अनगिन्ती पीडा छन्, तर देशमा सरकार मरिसकेको छ, महाकालीमा तुइन लगाउँदा अझै पनि छिमेकी भारतीयको त्रास छ ।’ त्रासका बीच तुइनको डोरीमा आवतजावत गर्नुपरेको छ । एकातिर गाउँमा नुनतेल हुँदैन । खाद्यान्नलगायत दैनिक उपभोग्य सामान भारतबाटै निर्यात गर्नुपर्छ । सरकारले तुइन बन्द भएको तीन महिनासम्म पनि खाद्यान्न ढुवानी गर्न नसक्दा स्थानीयले फेरि जोखिम मोलेर तुइन लगाउन थालेका हुन्।