मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
क्याथेरिन रटनवर्ग
२०७८ असोज १२ मंगलबार १६:३६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

किन सबै लैंगिक हिंसाका घटनाहरू समाचार बन्दैनन् ?  

Read Time : > 3 मिनेट
क्याथेरिन रटनवर्ग
२०७८ असोज १२ मंगलबार १६:३६:००

बेलायतमा ‘अफ ड्युटी’मा रहेका प्रहरी अधिकारीद्वारा सारा इभरार्डको अपहरणपछि बलात्कार र हत्या गरे। त्यसको ६ महिनापछि अमेरिकामा आफ्नो मंगेतरसँग यात्रा गरिरहेकी ग्याब्रिएला पेटितो बेपत्ता भइन्। अहिले आएर उनको मृत्यु पुष्टि भयो भने यो घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको हेडलाइन बन्यो। फरक–फरक प्रवृत्तिका भए पनि इभरार्ड र पेटितोको घटनाले महिलाहरू जुनसुकै ठाउँमा पनि लैंगिक हिंसाको खतरामा छन् भन्ने आमबुझाइलाई पुष्टि गरेको छ। 

पेटितोको केसले मिडियामा स्थान पाएको एकाध हप्तापछि बेलायतमा २८ वर्षीया शिक्षिका सबिना नेस्साको बाटामा हिँड्दै गरेको अवस्थामा दक्षिण लन्डनमा अवस्थित आफ्नै घरनजिक निर्मम ढंगले  हत्या भएको समाचार आयो। नेस्साको केसले महिलाहरू लन्डनका सडकहरूमा असुरक्षित छन् भन्ने स्थानीय त्रासलाई उत्कर्षमा पुर्‍यायो। तर, यस्तो त्रास विश्वव्यापी रूपमै छ। मानौँ लिंगका आधारमा गरिने हिँसा कोभिड– १९ जस्तै हाम्रो समाजको अर्को विकराल महामारी हो। त्यस्तो महामारी जसले हाम्रो समाजलाई आक्रान्त पारेको छ। 
 

सञ्चारमाध्यमको पूर्वाग्रह 
सन् २०२१ को मार्च र सेप्टेम्बर महिनाको बीचमा विश्वभर नै कैयौँ महिलाहरू बेपत्ता भए भने धेरैको हत्या भयो। बेलायतमा होस् या अमेरिकामा, बेपत्ता तथा मृत्यु भएका अधिकांशको नाम र अवस्थाबारे हामी अनभिज्ञ छौँ। किनभने कतिपय यस्ता घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यमहरूमा हेडलाइन बन्दैनन्। त्यसैले प्रश्न उठ्छ, केही घटनाहरू किन समाचार बन्छन् र केही किन बन्दैनन् ? 

महिलावादी मिडिया स्कलरहरूले विगतदेखि भन्दै आएका छन्– लैंगिक हिंसासँग जोडिएका घटनाहरू समाचारयोग्य छन् कि छैनन् र तिनीहरूलाई कसरी प्रस्तुत गर्ने भन्ने विषय पीडितको नश्ल, वर्ग र उमेरले निर्धारण गर्दछ। अर्थात्, पीडितलाई निर्दोषको रूपमा प्रस्तुत गर्ने कि त्यसको ठिक विपरीत पीडितकै खोट देखाउने भन्ने पनि पीडितको हैसियतले निर्धारण गर्छ।  

उपेक्षा गरिएका पीडितका परिवारहरू मात्र यसको पीडा राम्रोसँग बुझ्दछन्। वासिङ्टन पोस्टमा भर्खरै प्रकाशित भएको एक लेखमा त्यसरी बेवास्ता गरिएका परिवारहरूले प्रियजनको मृत्युबारे आफ्ना पीडालाई जोडदार ढंगले उठाएका छन्। उनीहरूले भनेका छन् कि ग्याब्रियला पेटितोको केसले यसरी सञ्चारमाध्यममा चर्चा पाउनुको कारण उनी श्वेत, मध्यमवर्गीय नागरिक तथा फोटोजेनिक हुनु हो।  तर, सञ्चारमाध्यममा स्थान नपाएका पीडित भने अश्वेत, गरिब र पारलैंगिक महिला थिए। त्यसैले तिनीहरू सार्वजनिक वृत्तमा अपरिचित भए।  

लैंगिक हिंसालाई कतिसम्मको सार्वजनिक चासो दिने भन्ने विषय पीडितको नश्ल र वर्गले निर्धारण गरिरहेको छ।  

सहानुभूतियोग्य जीवन 
सञ्चारमाध्यमहरूले गर्ने यस्ता असमान किसिमका कभरेजले बृहत् सामाजिक सत्यलाई प्रतिबिम्बित गर्दछ। त्यो सत्य हो– केही मानिसहरूको जीवन बढी सहानुभूतियोग्य हुन्छ, परिणामस्वरूप, तिनीहरूको मृत्युले मानिसहरूमा सहानुभूतिको लहर ल्याउँछ। तिनीहरूबाहेक अरूको जीवनलाई महिलावादी दार्शनिक जुडिथ बटलरले भनेकोजस्तो मूल्यहीन रूपमा लिइन्छ।

बटलरले भनेअनुसार हामी त्यस्तो समाजमा बाँचिरहेका छौँ जहाँ, बाँच्नलायक जीवनलाई निकै असमान रूपमा परिभाषित गरिएको छ। त्यसो भएकाले आफ्नो जीवनले ‘अर्थ राख्छ’ भनेर परिचय बनाएकाहरू सहानुभूतिका लायक हुन्छन् भन्ने भाष्य सामाजिक तथा सार्वजनिक रूपमा स्थापित हुन्छ। 
यसले ‘से हर नेम’ नामको ह्याजट्याग अभियानको शक्तिको व्याख्या गर्न सघाउँछ। ‘से हर नेम’ अमेरिकामा कानुन कार्यान्वयन गर्ने अधिकारीहरूबाट मारिएका र ज्यादतीमा पारिएका अश्वेत महिला तथा युवतीहरूको पक्षमा आवाज उठाउने अभियानको एउटा अंशको रूपमा आरम्भ भएको हो। यो अभियान अहिले सबिना नेस्साको केसमा पनि प्रयोग गरिएको छ। 

यसरी सार्वजनिक रूपमा पीडितको नाम आउनु भनेको जनचेतना जगाउनका लागि मात्र होइन। अथवा, हरेक पीडित व्यक्तिको इतिहास र उसको जीवनको प्रेरणा र सपनाका आधारमा उनीहरूको विशिष्ठ व्यक्तित्वलाई सम्मान गर्नु मात्रै पनि होइन। ती महिलाहरूलाई तथ्यांकमा मात्र सीमित गर्न हामी अस्वीकार गर्छौँ। हामीले तिनलाई नाम दिएर प्रत्येक जीवनले अर्थ राख्छ र हरेकको जीवन सहानुभूतियोग्य छ भन्ने कुरा विशेष महत्वका साथ र दमदार ढंगले देखाउँछौँ । 

सञ्चारमाध्यमको जवाफदेहिताबारे 
सविना नेस्साको क्रूर हत्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार बने पनि सामाजिक सञ्जालमा आफ्नो मत राख्नेहरूले मूलधारका सञ्चारमाध्यममा यो घटनालाई प्रारम्भिक रूपमा कम महत्व दिइएको टिप्पणी गरे। सञ्चारमाध्यमको नजरमा नपर्नुमा इभरार्ड र पेटितोजस्तो नभएर अश्वेत महिला भएकाले नेस्साले मूलधारका सञ्चारमाध्यममा स्थान पाइनन्।  

उनको हत्या भएको खबर बाहिर आएपछि इभरार्डको केसले सञ्चारमाध्यममा पाएको स्थान र नेस्साको केसले सञ्चारमाध्यममा पाएको स्थानबीचको फरकलाई प्राथमिकतामा राखेर ट्विटरमा व्यापक रूपमा बहस चल्यो। 

प्रसिद्ध टेलिभिजन प्रस्तोता तथा कलाकार जमिला जमिलको ट्विटजस्ता इभरार्डको घटनामा जस्तै नेस्साको केसमा पनि ‘उही ऊर्जा र उही आक्रोश’ देखिनुपर्ने माग गरिएका अभिव्यक्तिहरू आए। यस्ता अभिव्यक्तिहरूले मिडिया कभरेजमा असमान व्यवहार गर्ने बेलायतका परम्परागत सञ्चारमाध्यमहरूलाई उनीहरूको असमान व्यवहारप्रति बढ्दै गइरहेको आमआक्रोशलाई बेवास्ता गर्न निकै कठिन बनायो। 

बेलायती मूलधारका सञ्चारमाध्यमहरूले अहिले नेस्साको घटनालाई प्रत्येक दिन फलो गरिरहेका छन्। यसले सामाजिक सञ्जाल तथा इन्टरनेटमा हुने हस्तक्षेपहरू प्रभावकारी हुन्छन् भन्ने देखाउँछ। वास्तवमा प्रभावशाली व्यक्तिहरू र सामाजिक सञ्जालमा आएका त्यस्ता अभिव्यक्तिहरूले पुरातनवादी सञ्चारमाध्यममा भएको नश्लीय चेतलाई हटाउनका लागि दबाब सिर्जना गरेको छ।  

ह्याजट्याग आन्दोलनहरू त्यत्तिकै जन्मिने होइनन्। जे भए पनि पछिल्ला वर्षहरूमा लैंगिक र नश्लीय हिंसाबारे आक्रोश, प्रतिक्रिया र आमजागरुकता बढ्दै गइरहेको छ। त्यसैले प्रभावशाली व्यक्तिहरू तथा ‘ब्ल्याक लाइभ्स् म्याटर’, ‘से हर नेम’, ‘मि टु’जस्ता ह्याजट्याग आन्दोलनहरूको प्रभाव कस्तो रह्यो भन्ने थाहा पाउनका लागि सडकमा देखिएका ‘महिला मार्च’ देखि जर्ज फ्लोयडको हत्यापछि सुरु भएको हजारौँ प्रदर्शनहरूलाई हेर्न सकिन्छ। 

यस्तो शक्तिशाली संयोजनले अश्वेत तथा गैरश्वेत महिलाका जीवनलाई कम मूल्यवान छ भनेर उनीहरूको जीवन सहानुभूतिको लायक छैन भन्ने सोचाइविरुद्ध खरो रूपमा उत्रनका लागि मद्दत पुर्‍याएको छ। 

त्यसैले हामीले हाम्रा अभियान '#SayHerName: Sabina Nessa' जस्ता ह्याजट्यागबाट सुरु गर्न सक्छौँ। तर, हामी त्यतिमा मात्र रोकिनुहुँदैन। हामीले सञ्चारमाध्यमहरूलाई सबैखाले जीवनलाई समान रूपमा प्रस्तुत गर्न दबाब दिँदै जवाफदेही बनाउनु आवश्यक छ। हामीले लिंगका आधारमा गरिने विभेदको महामारीलाई निर्मूल पार्नु छ। विश्वका प्रत्येक जीवन जिउन लायक छन् र सबै उत्तिकै सहानुभूति पाउन पनि लायक छन् भन्ने विश्वास जगाउनु छ। त्यसैले यस्तो विश्व निर्माण गर्ने अभियानमा हामी अनवरत रूपमा लाग्नुपर्छ। 

(युनिभर्सिटी अफ नटिङघममा अमेरिकन स्टडिजकी एसोसियट प्रोफेसर क्याथेरिन रटनवर्गको अलजजिरामा प्रकाशित लेखको भावानुवाद हिमाल पौडेलले गरेका हुन्।)