१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
पामिर गाैतम
२o८१ बैशाख ३१ सोमबार १o:o९:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

‘थुसेडिडिस पासो’मा  चीन र अमेरिका

Read Time : > 4 मिनेट
पामिर गाैतम
२o८१ बैशाख ३१ सोमबार १o:o९:oo

सन् २०१२ मा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम एलिसनले चीनको बढ्दो शक्ति र स्थापित शक्ति अमेरिकाबीच टकरावको विषयलाई परिभाषित गर्न ‘थुसेडिडिस पासो’ (थुसेडिडिस ट्र्याप) पदावलीको प्रयोग गरेपछि यो चीन–अमेरिका सम्बन्धको अध्ययनमा खुबै उपयोग भइरहेको छ । 

प्राध्यापक एलिसनका अनुसार थुसेडिडिस पासो यस्तो स्थिति हो, जहाँ उदीयमान शक्ति स्थापित शक्तिको प्रभुत्व र त्यसले निर्माण गरेको अन्तर्राष्ट्रिय व्यवस्थामाथि चुनौतीको रूपमा विकास भएको हुन्छ । आफूले निर्माण गरेको अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्न प्रतिबद्ध स्थापित शक्ति र त्यसलाई आफ्नो हितमा परिवर्तन गर्न उत्प्रेरित उदीयमान शक्तिबीचको बढ्दो अशान्त सम्बन्ध युद्धमा समेत परिणत हुने सम्भावना एकदमै प्रबल हुन्छ । प्राध्यापक एलिसनका अनुसार विगत पाँच सय वर्षको अवधिमा स्थापित शक्ति र उदीयमान शक्तिबीच उत्पन्न १६ टकरावमध्ये १२ टकराव युद्धमा परिणत भएको देखिन्छ । उदीयमान र स्थापित शक्तिका बीच जुन मुद्दाहरूमा युद्ध भएनन्, तिनमा पनि दुई पक्षबीच दृष्टिकोण र कार्यहरूमा निकै दूरी भएर जटिल समायोजन आवश्यकता परेको थियो । 

स्पार्टा र एथेन्सबीच (४३१–४०४ बिसी) चलेको भनिएको महायुद्धको चित्रण रहेको पुस्तक पेलोपोनेसियन युद्धको इतिहास नामक पुस्तकमा प्राचीन एथेनियन इतिहासकार थुसेडिडिसले मानव इतिहासभर स्पार्टाजस्ता राज्यहरू हुने, जसको प्रभुत्वलाई एथेन्सजस्ता उदीयमान राज्यहरूले चुनौती दिने र जसकारण सधैँ नै युद्धको बादल मडारिरहने उल्लेख गरेका छन् । उनी लेख्छन्– ‘एक स्थापित शक्तिराष्ट्र र उदीयमान शक्तिराष्ट्रबीच चल्ने शक्तिचक्रले युद्ध निम्त्याइरहनेछ ।’

एलिसनसिर्जित पदावली थुसेडिडिस पासोले नीतिनिर्माता र राजनीतिज्ञहरूलाई उत्तिकै प्रभावित पारेको छ । सन् २०१२ मा आफ्नो चीन भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पत्रकार सम्मेलनमा अमेरिका र चीनले इतिहासमा कहिल्यै नगरिएको कार्य गर्ने अभिव्यक्ति दिइन् । उनले स्थापित शक्ति र उदीयमान शक्ति एकआपसमा भेट्दा के हुन्छ भन्ने प्रश्नको नयाँ जवाफ लेख्ने प्रयासमा रहेको बताइन् । यस्तै, सन् २०१५ मा अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि थुसेडिडिस पासोबाट बच्न आवश्यक रहेकोमा जोड दिए । क्लिन्टन र सीका अभिव्यक्तिले यी दुई देशबीचको सम्बन्धको गम्भीरता र यसले अन्तर्राष्ट्रिय प्रणालीमा पार्ने प्रभावबारे स्पष्ट पार्छन् । तसर्थ, यी दुई राष्ट्रप्रमुखहरूले दिने सार्वजनिक अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी र नीतिनिर्माताहरूका लागि चासोको विषय रहन्छ ।

 विश्वका नेताहरूले सम्बोधन गर्ने मञ्चहरूमध्ये सबैभन्दा महत्वपूर्ण र प्रतिष्ठित मञ्चको रूपमा संयुक्त राष्ट्रसंघको महासभा स्थापित छ । संयुक्त राष्ट्रसंघको ७६औँ महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ का विरुद्ध सहयोग र जलवायु परिवर्तनविरुद्ध लड्न राष्ट्रहरूबीच सहकार्य र सहयोग एवं बहुपक्षीयताको समर्थनमा आवाज उठाएका छन् । यद्यपि, यी दुई शीर्ष नेताको सम्बोधनमा एकअर्काप्रति शंका र अन्तर्राष्ट्रिय व्यवस्था सञ्चालनलाई लिएर मतभेद भने प्रस्ट देखिएको छ । दुवै राष्ट्रप्रमुखले एकअर्काको नाम उल्लेख नगरी नै आरोप–प्रत्यारोप गरे ।

संयुक्त राष्ट्रसंघ महासभामा चीनले आफ्नो प्रभाव रोक्न अमेरिकाले लिने कुनै पनि कदमप्रति कडा प्रतिवाद गरेको छ, जसले शीतयुद्धको आरम्भ निकट भविष्यमा हुने निश्चित छ

बाइडेनले आफ्नो सम्बोधनमा स्थायी सुरक्षा र समृद्धिका लागि मित्रराष्ट्रहरूसँगको सम्बन्ध निकै महत्वपूर्ण रहेकाले अमेरिकाले आफ्नो गठबन्धनको पुनः निर्माणलाई प्राथमिकता दिएको र साझेदारहरू पुनर्जीवित गरेको अभिव्यक्ति दिए । वर्तमान विश्व राजनीतिमा विकसित समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न अमेरिकाले आफ्ना सहयोगी देशहरूसँग मिलेर नयाँ रणनीतिक अवधारणाको दिशामा कार्य गरिरहेको उल्लेख गरेका छन् ।

बाइडेनको सम्बोधनमा प्रविधि विकासका मुद्दामा लोकतान्त्रिक साझेदार देशहरूसँग सहकार्य र सहयोगलाई प्राथमिकता दिने उल्लेख छ । चीनको नाम उल्लेख नगरी बाइडेनले साइबर हमला, बौद्धिक सम्पत्तिको रक्षालगायत विभिन्न चुनौतीका प्रसंग निकालेका छन्, जुन अमेरिका–चीन सम्बन्धमा अहिले विवादको विषय हो । बाइडेनले अमेरिका र आफ्ना सहयोगी राष्ट्रको हितलक्षित कुनै पनि प्रकारको साइबर हमलाको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । बाइडेनले अमेरिका नयाँ शीतयुद्धको पक्षमा नरहेको तर कुनै शक्तिराष्ट्रले अमेरिकाको सहयोगी र मित्रराष्ट्रको बलपूर्वक सीमा बदल्न खोजेमा वा आर्थिक दबाब, प्राविधिक शोषणको माध्यमद्वारा हावी हुन खोजेमा अमेरिका ती सहयोगी राष्ट्रको पक्षमा उभिने चीनलक्षित अभिव्यक्ति दिएका छन् ।

अमेरिकाले चीन सरकारले सिन्जियाङ, तिब्बत र हङकङमा चरम मानवअधिकार हनन गरेको आरोप लगाउँदै आएको सन्दर्भमा बाइडेनले आफ्नै जनताको स्वतन्त्रतापूर्वक श्वास फेर्न पाउने अधिकार कुण्ठित गर्ने निरंकुश शासकहरूको भविष्य कहिल्यै नहुने पनि अभिव्यक्ति दिए । समग्रमा बाइडेनले आफ्नो सम्बोधनमा ट्रम्प प्रशासनको अमेरिका पहिलोको नीति र बहुपक्षीय नीतिप्रतिको उपेक्षा अन्त्य गर्नेतर्फ संकेत गरेका छन् । अमेरिकाले शीतयुद्ध नचाहेको उल्लेख गरे पनि अमेरिकी प्रभुत्व र त्यसबाट निर्मित विश्व व्यवस्था, मूल्य तथा मान्यताहरूको रक्षार्थ लोकतान्त्रिक देशहरूसँगको गठबन्धन, सहकार्य र सहयोगमा अमेरिकाले निकै नै जोड दिनुले चीनको बढ्दो शक्ति अमेरिकाको विशेष चासोको विषय रहेको प्रस्ट हुन्छ ।

विश्व राजनीतिमा एउटा उदीयमान राष्ट्रको प्रमुख चासो के हुन सक्छ ? जब कुनै देशको समग्र शक्तिमा वृद्धि हुँदै जान्छ, त्यसले विश्व राजनीति र विश्वव्यापी शासन प्रणालीको निर्णय लिने विषयमा आफ्नो प्रभाव र अन्तर्राष्ट्रिय समुदायमा आफ्नो प्रतिष्ठा वृद्धि पनि चाहन्छ । उदीयमान शक्तिराष्ट्रलाई स्थापित शक्ति र उसका सहयोगी राष्ट्रहरू मिलेर आफ्नो बढ्दो प्रभाव रोक्न प्रयास लिएकोमा चिन्ता हुन्छ ।

सीको संयुक्त राष्ट्रसंघ महासभाको सम्बोधनमा पनि चीनको चाहना र चिन्ताको भावना प्रस्ट देखिन्छ । आफ्नो सम्बोधनका क्रममा सीले शक्तिराष्ट्रहरूले गर्ने गुटबन्दी, उनीहरूमा निहित शून्य योग खेलको मानसिकता, विश्वव्यापी शासन प्रणालीमा अपनाउने बहिष्करणका नीति, विश्व शान्ति, विकास, समानता, न्याय र लोकतन्त्रको प्रतिकूल रहेकाले त्यस्तो मानसिकतालाई त्याग्न अपिल गरेका छन् । अमेरिकालाई लक्षित गर्दै सीले एउटा देशको सफलतालाई अर्काे देशले आफ्नो विफलताको रूपमा लिन नहुने र विश्व सबै राष्ट्रको विकास र उन्नतिलाई समायोजन गर्न पर्याप्त रहेको औँल्याए । अन्तर्राष्ट्रिय सम्बन्धमा राष्ट्रहरूबीच मतभेद र समस्या उत्पन्न हुनु स्वाभाविक भएको तर त्यसलाई वार्ताद्वारा समाधान गर्न जोड दिँदै सीले आपसी सम्मान, समानता, न्याय र सबैको हितमा रहने एक नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न आवश्यक भएको बताएका छन् ।

अफगानिस्तानमा दुई दशक लामो अमेरिकी असफल हस्तक्षेपतर्फ इंगित गर्दै सीले तथाकथित लोकतान्त्रिक परिवर्तनका नाममा हुने बाह्य हस्तक्षेपले हानिबाहेक केही नगर्ने बताए । चीनको बढ्दो शक्ति चीनका छिमेकी देशहरूका लागि खतरा हुने पश्चिमा आरोपलाई खण्डन गर्दै सीले चिनियाँ जनताले सधैँ शान्ति, सौहाद्र्र र सद्भावको दर्शनलाई प्राथमिकता दिएको अभिव्यक्ति दिए । चीनले कहिल्यै कुनै पनि देशमाथि आक्रमण नगरेको र नगर्ने बताउँदै आफूभन्दा साना र कमजोर देशलाई धम्की नदिने र आधिपत्य स्थापना गर्ने कार्यमा नलाग्ने, बरु आफूले हासिल गरेको उपलब्धि विश्व समुदायको हितका लागि लगाउने बताएका छन् ।

महासभामा इरानका पूर्वराष्ट्रपति मोहम्मद अहमदिनेजाद भन्छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा दिइने अभिव्यक्ति निकै महत्वपूर्ण हुन्छ । विभिन्न देशका अधिकारी र नेताहरू सबभन्दा महत्वपूर्ण र जल्दाबल्दा विषयमा आफ्नो महत्वपूर्ण वक्तव्य दिन यहाँ उपस्थित हुन्छन् ।’

कोभिड संकटपछि झनै विश्वमा प्रभावशाली भएर उदाएको चीनप्रति सशंकित अमेरिका र आफ्नो प्रभाव विस्तारमा कुनै अड्चन नचाहने चीनका राष्ट्रप्रमुखले महासभाको सम्बोधनमा दिएका अभिव्यक्तिले यो समयको महत्वपूर्ण विषयको उजागर गर्छन् । संयुक्त राष्ट्रसंघ महासभामा चीनले आफ्नो प्रभाव रोक्न अमेरिकाले लिने कुनै पनि कदमप्रति कडा प्रतिवाद गरेको छ, जसले शीतयुद्धको आरम्भ निकट भविष्यमा हुने निश्चित छ । 
 

ad
ad