
विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साइकल यात्रा’ निकालेको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यकाभित्र रहेका सम्पदाहरू बुढानीलकण्ठ मन्दिर, बौद्ध स्तूपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साइकल यात्रा’ निकालिएको हो ।
युवासहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा साइकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । उनले आफूहरूले नेपाल स्काउटलाई स्थापित संस्थाको रूपमा विकास गर्न सफल भएको दाबीसमेत गरे ।
काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमका बीच साइकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घरघरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको बताए ।
साइकल यात्रामा निस्केकाहरूले नेपालको राष्ट्रिय झन्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टि–सर्टहरू प्रर्दशन गरेका थिए ।