मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ८ शुक्रबार १९:१९:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

सापु आँखाको ठूलो शत्रु हो, समयमै उपचार नभए दृष्टि नै गुम्न सक्छ : रञ्जु खरेल सिटौला (भिडियो अन्तर्वार्ता)

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ८ शुक्रबार १९:१९:००

नेपालमा करिब ४६ वर्षअघि देखिएको आँखासम्बन्धी जटिल रोग सापुबाट संक्रमित हुने बिरामीको संख्या बढेको छ । विगतका वर्षमा थोरैलाई देखिएको यो रोग पछिल्लो तीन हप्तामै ९३ जनामा देखा परेको छ। चिकित्सकहरूका अनुसार आँखासम्बन्धी देखिँदै आएका अन्य रोग र समस्या हेर्दा यो रोग निकै भयानक मानिन्छ । गण्डकी प्रदेशमा यो रोगका बिरामीको संख्या सबैभन्दा बढी छ । प्रदेशस्तर तथा त्रिवि शिक्षण अस्पतालमा यो रोगका बिरामीको उपचार भइरहेको छ । सापु रोग, यसका लक्षण, रोकथाम र उपचारका विषयमा नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरेले त्रिवि शिक्षण अस्पताल, आँखा विभागकी युबिआइटिस् विशेषज्ञ रञ्जु खरेल सिटौलासँग कुराकानी गरेका छन् :

सापु कस्तो किसिमको रोग हो ?
सापु भन्ने रोगको नाम छोटो छ तर यसको परिचय निकै लामो भइसकेको छ । हामीले यसलाई ‘सिजनल हाइपर्‍याटिभ प्यान युबिआइटिस्’ भन्छौँ । सापुलाई आँखाको आपत्कालीन रोगका रूपमा पनि लिइन्छ । जब यो रोग आँखामा देखिन्छ, तब हाम्रो आँखाले अप्ठ्यारो महसुस गर्छ । आँखामा समस्या देखिँदादेखिँदै पनि हामीले बेवास्ता गरियो भने यसले आँखालाई ध्वस्त पारिदिन सक्छ । यो आँखाको लागि निकै घातक रोग मानिन्छ । यसलाई हामीले आँखाको ठूलो शत्रु भनेर जान्दा/बुझ्दा हुन्छ । यसले छोटो समयमै आँखामा गम्भीर असर पार्छ । कतिपय अवस्थामा दृष्टि नै गुम्न सक्ने डर हुन्छ।

यो रोग बाह्रै महिना लाग्दैन र देखा पर्दैन पनि । यो निश्चित समयको निश्चित वर्षको निश्चित ठाउँमा देखा पर्छ। यो लाग्न सक्ने अवस्था, यसको दर र आकारलाई हामीले सहजै अनुमान गर्न सक्छौंँ विदेशी क्यालेन्डरअनुसार बिजोडा वर्ष र नेपाली क्यालेन्डरअनुसार जोडी वर्षमा भदौदेखि मंसिरसम्मको समयमा यो रोग देखा पर्दै आइरहेको छ।

यो रोग नेपालमा कहिले देखियो र कुन कुन देशमा यसको असर छ ?
सापु रोग नेपालमा नै बढी देखिएको छ। यो नेपालीहरूकै रोग हो । नेपालबाहेक अन्य १/२ वटा देशमा मात्रै देखा परेको छ । यो रोग अहिले मात्रै देखिएको होइन, आजभन्दा करिब ४६ वर्ष पहिले नेपालमा देखिएको थियो । सन् १९७५ मा पोखरामा लामाचौर विद्यालयका विद्यार्थीमा यो रोग देखिएको थियो । सन् १९७७ सालमा पनि त्यही ठाउँमा यो रोग देखियो। त्यति वेला प्राध्यापक मदनप्रसाद उपध्यायले अध्ययन गरेर यो रोगको नाम सापु राख्नुभएको थियो । त्यसयता यो रोगबारे धेरै अध्ययन भएका छन् । रोग ४६ वर्ष पुरानो भए पनि यो रोगसँग सम्बन्धित रहस्य अझै खुल्न सकेका छैनन्। 



यो रोग कुनै मौसम वा वातावणीय अवस्थाका कारण फैलिन्छ वा फैलिँदैन ? 
यो रोग बाह्रै महिना लाग्दैन र देखा पर्दैन पनि। यो निश्चित समयको निश्चित वर्षको निश्चित ठाउँमा देखा पर्छ। यो लाग्नसक्ने अवस्था, यसको दर र आकारलाई हामीले सहजै अनुमान गर्न सक्छौँ। विदेशी क्यालेन्डरअनुसार बिजोडा वर्ष र नेपाली क्यालेन्डरअनुसार जोडी वर्षमा भदौदेखि मंसिरसम्मको समयमा यो रोग देखा पर्दै आइरहेको छ । खासगरी वर्षायाम रोकिएर चिसो बढ्नै लाग्दा यो रोग देखापरेको पाइन्छ । त्यसपछि यसका बिरामी पनि निश्चित क्षेत्र वा प्रदेशमा बढ्छन् । अहिले गण्डकी प्रदेशमा यो रोगका बिरामीको संख्या धेरै छ । भविष्यमा यो रोगका बिरामीको संख्या बढ्छ वा बढ्दैन भन्ने हामीले पहिले नै आकलन गर्न सक्छौँ।

यो रोग एउटा आँखाबाट अर्को आँखा वा व्यक्तिमा सर्छ कि सर्दैन ?
सर्वप्रथम त यो रोग सर्छ भन्ने नै होइन। यो सरुवा रोग हुँदै होइन। यो रोग एउटा आँखाबाट अर्को आँखामा पनि सर्दैन र व्यक्ति व्यक्तिमा पनि सर्दैन।

आँखामा देखिने अन्य रोग र समस्या हेर्दा यो रोग कत्तिको भयानक र जटिल मानिन्छ ?
आँखासम्बन्धी अन्य रोग र समस्यालाई हेर्दा यो रोग भयानक छ। यसले आँखामा निम्त्याउने अवस्था निकै खतरनाक मानिन्छ। सापु लागेपछि एकदम द्रुतगतिमा अगाडिको भागदेखि पछाडिको भागसम्म आँखाको पत्रहरू बिग्रन थाल्छन्। त्यसैले यो रोग लागेको थाहा पाउनेबित्तिकै उपचार खोज्नुपर्छ । ४८ घण्टा कटेपछि आँखाको धेरैजसो भागमा पिप जम्छ जसले आँखालाई नराम्ररी असर पारेको हुन्छ। पिप जम्नुभन्दा अगाडि रातो भएकै अवस्थामा तुरुन्त उपचार गर्नतिर लाग्नुपर्छ। 

यो रोग कुन उमेर समूहका मानिसमा बढी देखा परेको पाइन्छ ?
यो रोग बालबालिकामा धेरै छ। यसको संक्रमण हुन थालेपछि अचानक आँखामा समस्या देखिन्छ। योबाट पीडितमध्ये ६०/७० प्रतिशत बालबालिका छन् । त्यसैले यो रोगबाट अझ बढी बालबालिकालाई जोगाउनुपर्छ।

यो रोगको उपचारमा ढिलो गर्दा के हुन्छ ?
यो रोग आँखाको निम्ति धेरै नै खतरनाक हो । यसका लक्षण देखिएको घण्टा वा मिनेटभरमै उपचार खोज्नुपर्छ। आँखा पाकेको रोग हो भनेर हेलचक्र्याई गर्दै बस्दा ४८ घण्टाभित्रमा आँखाको दृष्टि गुम्न सक्ने डर हुन्छ। 

यो रोगको उपचारमा हाम्रा अस्पताल र स्वास्थ्यकर्मी कतिको सक्षम छन् ?
पहिले–पहिले हामीसँग त्यति राम्रो प्रविधि र उपचार सहज थिएन। यो रोग लागेका दुई तिहाई दृष्टि गुम्थ्यो। तर अहिले यसको उपचारमा धेरै सुधार आएको छ। बिरामीमा पनि सचेतना बढेको छ । तर पनि यो रोग लागेकामध्ये एक तिहाइलाई अन्धोपना भइरहेको छ । हालसम्मको उपचार पद्धति र निको भएको दरलाई हेर्दा लगभग ७० प्रतिशतको आँखाको दृष्टि फर्काउन सकिएको छ । उपचारमा ढिलो आउनेहरूको दृष्टि फर्काउन सकिएको छैन।

यो रोगको कारक तत्वहरू केके हुन् र कुनकुन माध्यमबाट सर्छ ?
सापु रोगको कारणबारे सन् २०१७ सालमा डब्लुएचओको सहयोगमा हामीले अध्ययन गरेका थियौँ। भारतमा पनि यसको अध्ययन भएको थियो। यसको कारक सेतो पुतली हो भनेर प्रमाणित भइसकेको छ। तर सबै सेतो पुतलीले सापु गराउन सक्दैनन् ।  त्यसका पनि प्रजातिहरू छन् । धेरै कारणलाई विश्लेषण र अध्ययन गर्दा सेतो पुतलीको प्रजातिमा तीनवटा कालो धर्सा र पुच्छरमा पहेँलाे रौँको झुप्पा भएको पुतलीले सापु गराएको भेटिएको छ। तर त्यसले कसरी सापु गराइरहेको छ त्यो खोजी र अध्ययनको विषय हो । 

नेपालमा यो रोगका बिरामीको संख्या कत्ति छ ?
नेपालको गण्डकी प्रदेशमै यो रोग व्यापक रूपमा छ । त्यहाँ ६२ जनामा यो रोग देखिएको छ । ती बिरामी कास्की बागलुङ स्याङ्जा, पर्वत गोर्खालगायत जिल्लाका हुन् । त्यस्तै प्युठान, गुल्मी र अर्घाखाँचीमा पनि यो रोगका १६ जना बिरामी छन् । यो रोग मध्यपहाडी क्षेत्रमा बढी देखिएको छ । उच्च र समथर भेगमा निकै कम छ वा देखिएको छैन भन्दा पनि हुन्छ । त्यस्तै, संखुवासभा र  ताप्लेजुङमा ३ जना बिरामी भेटिएका छन् , धादिङ र नुवाकोटबाट पनि ३ बिरामी उपचारको लागि टिचिङ आउनुभएको छ । सबै गरेर तीन हप्तायता ९३ जना सापु रोगबाट संक्रमित बिरामी भेटिनुभएको छ। योअनुसार हाल देखिएको संख्या निकै ठूलो मान्न सकिन्छ । केही वर्षअघि ५५ जनासम्ममा देखिएको थियो । तर अहिले यो रोगका बिरामी अचानक बढेका छन् । 

सापु भएको कसरी थाहा पाउने, यसका लक्षणहरू के के हुन् ?
राति राम्ररी नै सुतेका व्यक्तिहरूमा बिहान उठ्दा आँखा रातो हुने, उज्यालो हेर्न गाह्रो हुने, केहीछिन मधुरो र केहीछिन गाढा देखिने, आँखा रातो रातो हुने र नानीमा सेतो पिप देखिनेजस्ता लक्षण देखा पर्छन् । यो विशेषता भएको अरू रोग छैनन् । यसका बिरामीहरू आफू सेतो पुतलीको संसर्गमा आएकोले आँखामा यो रोग लागेको बताउनुभएको छ । 

यो रोगको रोकथाम र यसबाट बच्ने तरिका के होला ?
सापु रोग आउन सक्ने भनेर हामीलाई पहिले नै थाहा हुन्छ । आँखा अस्पतालहरूले यसको पूर्वतयारी गरिसकेका छन् । यसको पूर्वाधार र जनचेतनामा अझै बढी ध्यान दिनुपर्छ । यो रोगबाट बच्न सेतो पुतलीबाट जोगिनुपर्छ। यो  पुतली रातिमा बढी सक्रिय हुन्छ । रातिमा बाहिर ननिस्कने बच्चालाई पुतलीको संसर्गमा जान नदिने, झ्याल लगाउने, झुल लगाउने, रातिसम्म उज्यालो बत्ती नबाल्ने, किनकि बत्तीमा पुतली आकर्षित हुन्छ। यसबाहेक आँखा वा मुख छुनुअघि राम्ररी हात धुनुपर्छ । 

यसको उपचार प्रक्रिया केहो, कत्तिको झन्झटिलो र खर्चिलो छ ?
यो रोग लागेपछि कहिले उपचार गर्न पुगिन्छ भन्ने कुरा मुख्य रहन्छ। सुरुवाती चरणमा हो भने छिटो निको हुन्छ र अलि धेरै दिन भएको छ भने जटिल हुन सक्छ । यो समयमा आँखा रातो भयो भने तुरुन्तै स्वास्थ्य केन्द्र जानुपर्छ ।