मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक २ मंगलबार
  • Tuesday, 19 October, 2021
तस्बिरमा कीर्तिपुरको खासीबजारस्थित गढपर्खालको जीर्ण अंश।
शिल्पा कर्ण काठमाडौं
२०७८ असोज ८ शुक्रबार १७:३३:००
Read Time : > 5 मिनेट
फिचर डिजिटल संस्करण

गढपर्खाल : जसले कीर्तिपुर जोगाइराख्यो

Read Time : > 5 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७८ असोज ८ शुक्रबार १७:३३:००

कीर्तिपुरका रैथाने विजयकुमार महर्जनलाई रुचि लाग्छ– आफ्नै गाउँ–ठाउँबारे बुझ्न । जब उनले कीर्तिपुरबारे विदेशी लेखकले अध्ययन गरेको थाहा पाए, उनले साथीको पुस्तकको अंश फोटोकपी गराएर ल्याए । 
लेखक थिए– रेनहर्ड हेर्डिक। हेर्डिकले कीर्तिपुरबारे सन् १९८५ तिर अध्ययन गरेका रहेछन् । उनले यसअघि भारतको विवादित सीमाक्षेत्र लद्दाख, एसियाका पूर्वी क्षेत्रलगायतका स्थानमा अध्ययन गरी पुस्तक प्रकाशन गरिसकेका थिए । 
जर्मन भाषामा रहेको उक्त पुस्तकमा केही शब्द, तस्बिर र नक्सा मात्र महर्जनले बुझ्न सक्छन् । त्यसैले केही वर्षअघि जर्मन भाषाको कक्षा लिइरहेकी छोरीलाई उनले पुस्तकका केही अंश अंग्रेजीमा उल्था गरिदिन अह्राए। 
छोरीले थोरै अंश उल्था गरिदिइन्, पूरै २७२ पृष्ठ अनुवाद गरी साध्य थिएन। कीर्तिपुरको गढपर्खालसम्बन्धी त्यो अंशले उनलाई कीर्तिपुरलाई अझ राम्ररी चिन्न सघायो। कीर्तिपुर नगरपालिकाले दुई वर्षअघि गढपर्खाल संरक्षणका लागि सुझाब दिन अध्ययन कार्यदल बनाएको थियो । 
पाँच सदस्य सम्मिलित अनौपचारिक कार्यदलमा एक थिए– आर्किटेक्ट महर्जन । नगरपालिकाको तर्फबाट अनुज प्रधान थिए भने संयोजक थिए– प्रयागमान प्रधान । अन्य दुई सदस्य थिए– भरत महर्जन र कमलेश महर्जन। 
विजयलाई यो विषयमा अध्ययन गर्दा हेर्डिकको पुस्तकले निकै सघायो । यसैमा रहेको नक्साका आधारमा उनी सम्मिलित टोली कीर्तिपुर डुल्यो। स्थलगत अध्ययन गरे पनि औपचारिक रूपमा गठन नभएको हुँदा विजयले नगरपालिकाद्वारा आयोजित केही कार्यक्रमहरूमा प्रस्तुति दिए, तर प्रतिवेदन भने पेस गरिएको छैन।

भनिन्छ– गोर्खाली सेनालाई गढपर्खालले नै कीर्तिपुर पस्न रोकेको थियो । इतिहासकार बाबुराम आचार्य पृथ्वीनारायण शाहको जीवनीमा लेख्छन्, ‘गाउँवरिपरि सुरक्षाका निमित्त गिर्दापर्खाल (गढपर्खाल) लगाई दक्षिणपट्टि रहेका गोपुरबाट भित्र–बाहिर गर्नहुन्थ्यो।’
 

गोर्खालीलाई गाह्रो
भनिन्छ– गोर्खाली सेनालाई गढपर्खालले नै कीर्तिपुर पस्न रोकेको थियो। इतिहासकार बाबुराम आचार्य पृथ्वीनारायण शाहको जीवनीमा लेख्छन्, ‘गाउँवरिपरि सुरक्षाका निमित्त गिर्दापर्खाल (गढपर्खाल) लगाई दक्षिणपट्टि रहेका गोपुरबाट भित्र–बाहिर गर्नहुन्थ्यो।’
उनको पुस्तकमा उल्लेख भएअनुसार गढपर्खालबाहिर फेदीसम्मै घना जंगल, वन दुर्गका रूपमा पालिएको थियो । दोस्रोपटकको कीर्तिपुर आक्रमणमा (१६ सेप्टेम्बर १७६४) सैन्य दलको नेतृत्व गरेका थिए– पृथ्वीनारायणका भाइ सूरप्रतापले। 
उनले काजी दलजित शाह, श्रीहर्ष पन्थका साथ गढपर्खालवरिपरि घेरा दिए। तर, त्यहाँका रक्षकले सबै द्वार बन्द गरे। पर्खाल निकै अग्लो भएकाले नाघेर जान सकिन्नथ्यो। ‘यसकारण पर्खालबाहिर भर्याङ तेस्र्याएर पर्खालमा चढी पर्खालभित्र पसी लडाइँ गर्ने योजना बनाएर प्रत्येक अफिसर र सैनिकसमेतले अपुंगी भर्याङ तयार पारेका थिए,’ पुस्तकमा उल्लेख छ । 
पर्खाल नाघेर कीर्तिपुर पसेका सैनिकलाई ठूला ढुंगाले स्थानीयले क्षति गरे भने यसै क्रममा माथिबाट आएको वाणले सूरप्रतापको बायाँ आँखा फुटायो। दलजितलाई पनि घाइते बनायो। 
कीर्तिपुर विजयका लागि चारैतिरबाट गढपर्खाल घेर्नुपरेको थियो । केही उपाय नलाग्ने देखिएपछि गोर्खाली सेनाले ६ महिनासम्म नाकाबन्दी लगायो । मुख्य सहर सुरक्षित भए तापनि स्थानीयले तल खेतबाट आफ्नो बाली भित्र्याउन पाएका थिएनन् । सहरभित्र रहेको अन्नभण्डार रित्तिसकेको थियो। 
अन्त्यमा स्थानीयको दुःख देख्न नसकेर त्यहाँका रक्षक सिंख्वालले १२ मार्च १७६६ को रातमा गोर्खाली सेनासमक्ष आत्मसमर्पण गरे। आचार्यको पुस्तकमा उल्लेख भएअनुसार आधा रातमा द्वारहरू खोलिएपछि सेना मुख्य सहर प्रवेश गरेर विजयको घोषणा गरे । यसरी दुईपटकको आक्रमण मात्र होइन, तेस्रोपटकमा समेत गोर्खाली फौजलाई गढपर्खालले नै बाहिर रोकेर राखेको थियो । 

कस्तो थियो गढपर्खाल ?
गढपर्खाल दुई शब्द मिलेर बनेको छ, गढ र पर्खाल। गढ भन्नाले किल्ला र त्यसलाई घेर्ने संरचना पर्खाल । नेपाल भाषामा यसलाई ‘गःपखाः’ भन्छन् । अध्येतामध्येका एक महर्जन यसको कुल लम्बाइ दुई किलोमिटरभन्दा बढी, झन्डै अढाइ किलोमिटर भएको बताउँछन् । 
पर्खालसँगै जोडिएका थिए १२ ढोका । समग्रमा कीर्तिपुर एउटा घर थियो र आवतजावतका लागि १२ ढोका निर्माण गरिएका थिए । ढोका केवल नाम मात्रका थिएनन् । भुइँमा किल्ली लगाउन मिल्ने गरी पत्थरका संरचना थिए भने ‘खाप’ अर्थात् तिनका काठले बनेका पल्ला पनि थिए । 
कीर्तिपुर त्यो वेला पहाडको टुप्पोसम्म मात्र सीमित थियो। शिवदेवले सहर बसाउँदा आफूले जानेसम्म राम्रो तरिकाले बसाएका थिए। व्यवस्थित र सुन्दर । 
त्यसै क्रममा बाह्य आक्रमणबाट जोगाउन यसको निर्माण भएको हुन सक्ने प्रधान तर्क गर्छन्। ढोकासँगै पर्खाल र भर्याङ पनि थिए । कीर्तिपुरबाट ओर्लिन भर्याङ थियो, पत्थर बिछ्याएको। त्यो वेलाको समृद्ध आर्किटेक्चर लोभलाग्दो रहेको प्रधानको भनाइ छ। 
गोर्खाली फौजले कीर्तिपुर विजयको क्रममा गरेको संघर्ष एउटा पुरानो तस्बिरमा उतारिएको छ। छाउनी संग्रहालयमा रहेको युद्धको तस्बिरमा गोर्खाली फौजलाई बाँसको भर्याङ लगाएर गढपर्खाल चढिरहेको देख्न सकिन्छ। 
समिति संयोजक प्रधानका अनुसार गढपर्खाल कति पुरानो हो भनेर अध्ययन भइसकेको छैन । ‘तर, शिवदेवले कीर्तिपुर सहर बसाएका हुन् । त्यसैले सम्भवतः एघारौँ शताब्दीतिर वा नेपाल सम्वत् २१९ तिर बनेको हुनुपर्छ,’ उनले भने। 
यहाँका इँटा र निर्माण सामग्रीले यसको पौराणिकता पत्ता लगाउन सकिन्छ। तर, कसैलाई चासो छैन। त्यसैले कहिलेकाहीँ आक्रोशित बन्छन् प्रधान। स्थानीय सरकार बलियो बनेर आएपछि केही होला कि भन्ने आसमा रहेका उनलाई जनप्रतिनिधिको बेवास्ताले निराश बनाएको छ । 
कीर्तिपुरलाई उपेक्षित ठाउँ भन्छन् उनी । जसलाई राज्यका हरेक संरचनाले उपेक्षा गरे र अहिले स्थानीय तहको व्यवहार पनि त्यस्तै देखिएको छ । स्थानीय तहले अध्ययन गरी संरक्षणका लागि सुझाब दिन दुई वर्षअघि कार्यदल गठन गरे पनि केही निष्कर्ष निस्किन नसकेको उनले बताए । 

आवतजावतका लागि ढोका
टोलीका सदस्य महर्जनका अनुसार गढपर्खालका लागि कतै फराकिला पत्थर प्रयोग भएका छन् भने कतै इँटा। अध्ययनले देखाएको छ– जम्मा १२ ढोकामध्ये अहिलेको नयाँबजार छिर्ने ठाउँ नजिकैको सोह्रखुट्टे पाटीको उकालोसँगै मुख्य ढोका थियो। समग्रमा पर्खालसँगै जोडिएका १२ र सहरमुन्तिर एउटा अर्को गरी १३ ढोका थिए । 
हेर्डिकको पुस्तकका आधारमा कीर्तिपुर डुल्दा महर्जनले थाहा पाए– कतिपय ढोकाको अस्तित्व नै छैन । सोह्रखुट्टे पाटीसँगैको एउटा मुख्य ढोका थियो । त्यसभन्दा मुन्तिर अर्को ढोका थियो, जुन पर्खालसँग जोडिएको थिएन।
उमामहेश्वरबाट उत्तर लाग्ने ओरालोमै थियो दोस्रो द्वार। प्रजातन्त्रको आगमनपछि पुनर्निर्माण भए पनि त्यसको स्वरूप फेरिएको छ। तेस्रो ढोका बाघभैरवको ढोका भनिएको छ। तर, यो पनि पछि मात्र पुनर्निर्माण गरिएकोजस्तो देखिन्छ। 
महर्जनका अनुसार चौथो ढोका चिठु टोलमा थियो भने भरियापुखु ढोका पाँचाैँ हो। अर्को ढोका जुन मूलढोका भनेर हेर्डिकले आफ्नो पुस्तकमा लेखेका छन्, त्यो तुझ्वः टोलमा थियो। अहिले भने छैन। यसकै मुन्तिरको अर्को ढोकाको पनि अस्तित्व भेटिँदैन । 
तर, यहाँ सिंगै ढुंगाको किल्ली लगाउने ठाउँ छ, प्वाल नै प्वाल भएको । अर्को ढोका बाहिरी गाउँ ढोका हो । आकार उही नभए पनि यहाँ अर्को ढोका निर्माण भइसकेको छ । नायत्वाः ढोका रहेको ठाउँमा अहिले स्थानीय तहले अर्को ढोका बनाइसकेको भए पनि त्यहाँ भएको किल्ली लगाउने ठाउँचाहिँ सडकले पुरिसकेको छ। 
‘म सानो हुँदा त्यहाँ पनि भुइँमा सिंगो ढुंगाको चुकुल लगाउने ठाउँजस्तो थियो । अहिले ढलान सडक छ,’ मजर्हन भन्छन् । पालिफः ढोका खासीबजारको प्रहरी वृत्तसँगै छ, कुटुझोल जानेतर्फ। 
यसको पुनर्निर्माणपछि आकृति दुरुस्तै नमिले पनि केही भने पुरानै ढोकाजस्तो देखिएको छ । सागल टोलको ढोका लाबा पोखरीसँगै छ । चित्लाङ र थानकोटतिरबाट काठमाडौं आउने मान्छेले कर बुझाउने पाटी अझै पनि त्यहीँ छ। त्यसको छेवैमा पोखरीसँग जोडिएको थियो सागल ढोका । 
समल ढोकाअगाडि अहिले पिपलको ठूलो बोट छ । अहिले यहाँको ढोका पुनर्निर्माणको क्रममा छ । पुरानै स्वरूप र सामग्री प्रयोग गरी नबनाइए पनि अहिले त्यसको अस्तित्व जीवित राख्न नगरपालिकाले पुनर्निर्माण गर्न थालेको हो । 
अन्तिम ढोका थियो– सी ढोका। कीर्तिपुर र नैकाप छुट्याउने खोलामा स्थानीयले दाहसंस्कार गर्ने गर्छन् । शव त्यहाँ लैजान यो ढोका प्रयोग गरिँदै आएको छ । यी सबै ढोका पर्खालसँगै जोडिएका थिए भने चुकुल लगाउने व्यवस्था पनि थियो। 
ढोका बन्दै, पर्खालको अवशेष मात्र बाँकी
स्थानीय सरकारले ढोकाको अस्तित्व नमेटियोस् भनी पहिलेकै ठाउँमा द्वार निर्माण गरिरहेको छ । अहिले पनि वडा नं. ३ मा पर्ने समल ढोका बनिसकेको स्थानीय पत्रकार तथा अगुवा वीरेन्द्र शाक्य बताउँछन् । 

‘यद्यपि, त्यो पहिलेको स्वरूपमा छैन । ढोकाहरू कतिपय पञ्चायतमा बने, कतिपय बहुदलमा बन्यो,’ यसलाई अहिले स्थानीय तहले पनि निरन्तरता दिएको बताउँदै शाक्यले थपे, ‘मूलढोका, ढोकासीसहितका ढोकाहरू स्थानीय तहको अग्रसरतामा बनेका छन्। अहिलेसम्म नौवटा बनिसके, तीनवटा बाँकी छन्।’

प्रजातन्त्रको आगमनसँगै झन्डै आधा दर्जन ढोका पुनर्निर्माण गरिएका थिए । तर, कुनै पनि मौलिक स्वरूपमा छैनन् । पर्खाल ढोकामध्ये अहिले देवढोकामा मात्र पुरानो खाप बाँकी छ। ढोका समयसँगै पुनर्निर्माण भएकोझैँ देखिए तापनि खापको काठ निकै पुरानो छ भन्छन् अध्येता महर्जन । पर्खाल र ढोका दुवै अग्ला थिए । 
धेरैजसो ठाउँका पर्खाल भत्किसके भने केहीमाथि घर बनिसक्यो । बाँकी रहेका पर्खालमा झार उम्रिसके । अहिलेसम्मको अध्ययनले पर्खाल चार फिट चौडाइको भएको देखाएको छ । ढोकाको उचाइ तीनदेखि चार मिटरसम्मको थियो। ठूला ढोकाचाहिँ पाँच मिटर लामा पनि थिए । ढोकाको चौडाइ भने दुई मिटर ।

संरक्षणमा उदासीन 
यी ढोका संरक्षणले आफ्नो इतिहास आउने पुस्तामा हस्तान्तरण हुने धारणा राख्छन् प्रधान । उनी भन्छन्, ‘दिल्लीको लालकिला छ, अन्य स्थानमा पनि इतिहास जोगाउने काम भएको छ । कीर्तिपुरमा भएको इतिहास पनि मेटाइयो, बाँकी रहेको संरक्षण गर्न कसैले चासो दिएका छैनन्।’
प्रधानका अनुसार यस्ता संरचना संरक्षणको साटो स्थानीय पनि अतिक्रमणमा लागेका छन्। ‘चीनको ग्रेटवालजस्तै यसलाई पनि प्रवद्र्धन गर्न सकिन्थ्यो । तर, प्रयास भएको छैन,’ प्रधान थप्छन्, ‘केले बनेको थियो, कहिले बनेको हो जस्ता थुप्रै कुरा अध्ययन हुन बाँकी छ।’