मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ५ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ५ मंगलबार १४:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विकास रणनीति नै स्पष्ट छैन, पुँजीगत बजेट खर्च गर्न चुनौती छ : अर्थमन्त्री शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ५ मंगलबार १४:२९:oo

अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजीगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन्। मंगलबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले नेपालमा समग्र विकास रणनीतिमा समस्या रहेको बताएका हुन्। उनले विकासको कामका स्पष्ट रणनीति नभएका कारण पुँजीगत बजेटको खर्च कसरी गर्ने भन्ने चुनौती रहेको बताए। 

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले सबै अधिकार आफैँसँग राख्नाले पनि समस्या भएको भन्दै अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरूलाई र मन्त्रालयहरूले सम्बन्धित परियोजनालाई आवश्यकताअनुसार बजेट हेरफेर गर्न दिनुपर्ने बताए। आगामी दिनमा अर्थ मन्त्रालयले सो अधिकार अन्य मन्त्रालयलाई दिने पनि उनले उल्लेख गरे। ‘कसरी हामीले चालू खर्च घटाउने र पुँजीगत बजेट बढाउने भन्ने एउटा चुनौती त छँदै छ। फेरि पुँजीगत बजेटको खर्च कसरी गर्ने भन्ने अर्को चुनौती पनि सँगसँगै आएको छ। पूर्वतयारीका समस्याहरू छन्, समग्र विकास रणनीतिको समस्या हो,’ उनले भने। 

समग्र विकास रणनीति नै स्पष्ट नभएको उनको भनाइ छ। ‘सरकार बदलिँदा, मन्त्री बदलिँदा रणनीति नै बदलिन्छ। योजना नै बदलिन्छ। त्यसकारणले समस्या यहाँनिर हो। नेतामुखी, मन्त्रीमुखी योजना हुन्छ अनि कसरी त्यसले समयमा लक्ष्य प्राप्त गर्छ भन्ने समस्या छ,’ उनले भने।

अर्थमन्त्री शर्माले सरकारले प्रत्येक महिना कम्तीमा १० प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाउन लागेको बताए। खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउनका लागि आफूले प्रयास गरिरहेको उनको भनाइ छ।

उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुला गर्नुपर्ने बताए। राष्ट्र र जनताको अहितसँग सम्बन्धित सर्त छन् भने त्यस्तो लगानीको सन्दर्भमा समेत विचार गर्नुपर्ने शर्माको भनाइ छ। अर्थमन्त्री शर्माले विश्वविद्यालय अनुसन्धानकेन्द्रित हुनुपर्ने बताए। मन्त्रालयले अनुसन्धानका विभिन्न शाखा बनाउनुपर्ने कुराको अन्त्य गर्दै विश्वविद्यालयलाई अनुसन्धानमा क्रियाशील गराउनुपर्नेमा जोड दिए।