१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format ११:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घरेलु हिंसाका कारण प्रेमीको सहयोगमा पतिको हत्या, १७ दिनपछि पत्नी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५१:oo

भारतीय भूमिमा आफ्नै पतिको हत्यामा संलग्न रहेको आरोपमा सिराहा प्रहरीले हत्याको १७ दिनपछि गोलबजारस्थित घरबाट पत्नीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार गोलबजार नगरपालिका– ४ निपनिया कुटी टोल घर भएका ३९ वर्षीय दुखरन महरा मोचीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकी पत्नी ३८ वर्षीया  हरिहरदेवी महरालाई पक्राउ गरेको हो। गत १८ भदौमा भारतको बिहार जयनगरस्थित बरही गाउँको नहरमा घाँटी रेटिएको अवस्थामा भेटिएका महराको हत्याको अनुसन्धानको क्रममा पत्नीको संलग्नता पुष्टि भएपछि पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

आत्महत्या गर्न नसकेपछि पतिको हत्या
मृतक महरा करिब १० वर्ष पहिले वैदेशिक रोजगारबाट फर्किएर निपनियास्थित आफ्नै घरमा फर्निचर तथा किराना पसल सञ्चालन गर्दै आएका थिए। फर्निचर र किराना पसलको आम्दानीले आफूसहित पत्नी, तीन छोरा र एक छोरीको जीविका चलाउन गाह्रो भएपछि उनीहरूबीच बेमेल सुरु भएको थियो। आफूले विदेशमा कमाएको पैसा खर्च गरिदिएको भन्दै वेलावेलामा उनीहरूबीच घर झगडासमेत हुने गरेको छिमेकीहरू बताउँछन्।

पत्नीसँगको घरझगडा कुटपिट, किराना पसलमा आगजनीसम्म पुगेपछि पतिको शारीरिक र मानसिक यातनाको कारणले हरिहरदेवीले दुईपटक आत्महत्याको कोसिस गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पतिको यातनाका कारण आजित भएकी हरिहरदेवीले आत्महत्या गर्न नसकेपछि पतिको हत्याको योजना बनाएको खुलेको हो। 

उपचारको बहानामा ऋण लिएर हत्या
करिब दुई वर्षअघि पाठेघरको शल्यक्रियाका लागि पतिसँगै जयनगर पुगेकी आरोपी महराको स्थानीय अस्पतालका एम्बुलेन्सचालक मुकेश यादवसँग चिनजानपछि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ। पतिले यातना दिएपछि उनले भारतीय प्रेमी मुकेशसँग सहयोग मागिन्। ४०–५० हजार रुपैयाँ दिने गरी उनीहरूले हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । 

हत्याको योजनापछि उनले पतिसँगको सल्लाहमा घरखर्च चलाउने भन्दै १७ भदौमा गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार रुपैयाँ ऋण लिइन्। ऋण झिकेलगत्तै आफूलाई सञ्चो नभएको भन्दै उनले जचाउने बहानामा पतिलाई जिल्ला सदरमुकाम हुँदै सीमावर्ती माडर लगेकी थिइन्।

हरिहरदेवीले माडर पुगेको र कबोल गरेको रकम पतिको खल्तीमै रहेको जानकारी प्रेमी मुकेशलाई दिइसकेकी थिइन्। त्यही साँझ करिब ६ बजेतिर जयनगरस्थित रेल्वे स्टेसनमा मुकेश पनि आएपछि तीनजनाले सँगै चिया पिएका थिए। त्यहाँबाट मुकेशले खाजा खान भनी मोटरसाइकलमा राखेर लगेपछि नाम नखुलेका अन्य दुईजनाको सहयोगमा दुखरनको हत्या गरेकाे प्रहरीले जनाएको छ। सिराहा प्रहरीका अनुसार ‘मृतकको खल्तीमा रहेको डायरीमा लेखिएको टेलिफोन नम्बरको आधारमा भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेपछि मृतकको पहिचान खुलेको थियो।

घर फर्किएपछि विलाप
भारतीय प्रेमीसँगको योजनाअनुसार भारतीय भूमिमा पतिको हत्या गराएको भोलिपल्ट १८ भदौमा घर फर्किएकी हरिहरदेवी आफ्नो पति मोटरसाइकल किन्न रकम लिएर निस्किएकाले लुटेराहरूले हत्या गरी रकम लुटेको भन्दै अलापविलाप गरेपछि गाउँलेले पनि शंका नगरेको छिमेकीहरूको भनाइ छ। ‘आफ्नै पतिको हत्या गराउन सक्लिन् भन्ने सोचेका थिएनौँ,’ एक स्थानीयले भने, ‘हत्याको १७औँ दिन प्रहरीले मृतककी पत्नीलाई हत्याको आरोपमा पक्राउ गरेर लगेपछि पो झस्कियौँ ।’ आरोपी महरालाई जिल्ला प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।