मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २ शनिबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २ शनिबार १६:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न  निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २ शनिबार १६:४१:oo

प्रहरी प्रधान कार्यालयले चाडबाडकेन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ। नजिकिँदै गरेको दसैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहित रूपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

“चाडपर्वमा कुनै पनि घटना हुन नपाउने गरी ठाउँअनुसारको योजना निर्माण गर्न भनेको छौँ”, प्रहरी त्यसतर्फ केन्द्रित भइसक्यो”, प्रवक्ता कुँवरले भने, “कुनै जिल्ला कार्यालयले लागू पनि गरिसके र बाँकीले लागू गर्ने तयारीमा छन् ।”

यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुन सक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन भनिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। चोरी, अपहरण, कालोबजारी, चन्दा आतंकजस्ता आपराधिक क्रियाकलाप हुने भएकाले त्यस्ता गतिविधि हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गरिनेछ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा भने शुक्रबारदेखि नै यो  योजना लागू गरिएको छ। उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

योजनाअन्तर्गत बढी भिडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक तथा वित्तीयसंस्था र यातायात क्षेत्रमा निगरानी बढाउन थालिएको छ। ठाउँठाउँमा सुरक्षा जाँचका लागि चौकी बढाउने, सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने र तत्काल परिचालन हुने (क्विक रेस्पाेन्स) टोली गठन गरिएको जनाइएको छ। रासस