मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २ शनिबार ०६:४०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियन कप २०२२ छनोट आजदेखि : नेपालले फिलिपिन्सको सामना गर्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २ शनिबार ०६:४०:००

एएफसी एसिया कप २०२२ को छनोटमा नेपालले आफूभन्दा फिफा वरीयतामा निकै माथि रहेको फिलिपिन्स र हङकङको सामना गर्दै छ । समूह एफको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसिया कपमा स्थान बनाउनेछ । 

 नेपाली राष्ट्रिय महिला टोलीले शनिबार एएफसी महिला एसियन कप २०२२ को छनोट प्रतियोगितामा फिलिपिन्सको सामना गर्दै छ । उज्वेकिस्तानको जेएआर रंगशालामा हुने छनोटमा नेपाल रहेको समूह एफमा फिलिपिन्स र हङकङ छन् । महिला फिफा वरीयतामा नेपालभन्दा फिलिपिन्स माथि छ । फिफाको पछिल्लो वरीयतामा फिलिपिन्स ६८औँ र नेपाल एक सय एक स्थानमा छन् । हङकङ ७६औँ स्थानमा छ । हङकङ नेपालभन्दा २५ स्थान माथि छ । नेपालले छनोट खेलमा दुवै प्रतिद्वन्द्वी आफूभन्दा फिफा वरीयतामा माथि रहेकाविरुद्ध खेल्नेछ । 

फिफा वरीयतामा आफूभन्दा ३३ स्थानमाथि रहेको फिलिपिन्सविरुद्ध नेपालले आफ्नो क्षमता देखाउने अवसरका रूपमा लिएको छ । तथ्यांकमा नेपाल फिलिपिन्स र हङकङसँग कमजोर नै देखिन्छ । नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५–० को हार सामना गरेको थियो । हङकङसँग दुईपटकको अन्तर्राष्ट्रिय खेलमा नेपाल दुवैपटक पराजित भएको थियो । सन् १९८६ मा नेपालले हङकङसँग १–० र १९८९ मा ३–० को हार नतिजा व्यहोरेको थियो । 

बंगलादेशविरुद्धको मैत्रीपूर्ण तयारी
छनोट प्रतियोगितामा सहभागी हुन नेपालले तयारीका रूपमा बंगलादेशसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल खेल्यो । नेपालले बंगलादेशलाई पहिलो खेलमा २–१ ले हराएको थियो । दोस्रो खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकेको थियो । बंगलादेशसँगको मैत्रीपूर्ण खेलले नेपाली खेलाडीमा भएका कमीकमजोरी थाहा पाएको नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले बताएका छन् । 

मैत्रीपूर्ण खेललगत्तै नेपाली टोली बुधबारै छनोट खेल खेल्न उज्वेकिस्तान पुग्यो । त्यहाँ नेपाली महिला खेलाडीले दुई दिन हल्का अभ्यास गरेका छन् । उज्वेकिस्तानले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सहभागी पाहुना टोलीलाई सबै प्रोटोकल पालना गर्नुपर्ने बताएको छ । यसै कारण सहभागी खेलाडीले समय मिलाएर अभ्यास गरिरहेका छन् । नेपालका प्रशिक्षक फिलिप्सले खेलाडीहरू नयाँ ऊर्जाका साथ फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्ने बताएका छन् । 

 खेलाडीमा नयाँ ऊर्जा
‘हामी यहाँ छनोट खेल खेल्न आएका छौँ, खेलाडीले नयाँ ऊर्जाका साथ आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन्,’ खेलअघि शुक्रबार आयोजित प्रिपोस्टम्याच कन्फरेसन्समा नेपालका प्रशिक्षक फिलिप्सले बताए, ‘यो खेलमा खेलाडीले आफ्नो खेल तथा क्षमता देखाउने अवसरका रूपमा लिनेछन् ।’ 

उनले बंगलादेशसँगको खेलबाट धेरै पक्षमा सुधार गर्ने मौका पाएको जनाए । अहिले अभ्यास खेलमा खेलाडीले आफ्ना गल्ती सुधार गरेको उनले बताएका छन् । ‘बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा गल्ती र कमजोरी थाहा पायौँ, छनोटअघि हामीले त्यहीँ सबै पक्षमा सुधार गर्ने प्रयास गरिरहेका छौँ,’ फिलिप्सले भने, ‘सम्भवतः हामी ती सबै गल्ती सच्याउँदै फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्छौँ ।’ 

एएफसी एसिया कप छनोटलाई प्रशिक्षक फिलिप्सले नेपाली महिला फुटबल टोलीका लागि सुनौलो अवसरका रूपमा लिएका छन् । उनी भन्छन्, ‘नेपाली महिला फुटबलका लागि यो एउटा अवसर हो, महिला फुटबल प्रवद्र्धन मात्र होइन आफ्नो खेल र क्षमता देखाउने अवसर हो ।’ टोलीमा युवा महिला खेलाडीको बाहुल्यता रहँदा फरक जोस भएको उनले जनाए । ‘युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ ऊर्जा थपिएको छ,’ उनले भने, हामी राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौँ ।’

 हङकङको टोली बलियो
फिलिपिन्सले कोभिड १९ का कारण अनुभवी खेलाडी सहभागी गराउन नपाएको जनाएको छ । छनोट प्रतियोगिताका लागि यूवा खेलाडीहरूलाई सम्मलित गरेको फिलिपिन्सका अधिकारीहरूले बताएका छन् । ‘कोभिड –१९ का कारण धेरै टोलीलाई कठिनाइ भएको छ । हाम्रा पनि धेरै खेलाडी व्यावसायिक खेलका लागि जापान, अमेरिकालगायतका देशमा छन्,’ फिलिपिन्सका अधिकारीले भनेका छन्, ‘पर्याप्त अनुभव भएका युवा खेलाडी भएकाले हामी राम्रो खेल प्रदर्शन गर्नेछौँ ।’ 

यसैगरी हङकङले कोभिडको समयमा पनि छनोट प्रतियोगिताकै लागि भनी प्रशिक्षण निरन्तरता गरेको छ ।प्रतियोगिताका लागि हङकङको टोली बलियो रहेको उनीहरूका अफिसियलहरूले बताएका छन् । ‘हामीले कोभिडको समयमा पनि प्रशिक्षणलाई निरन्तरता दिएका छौँ हाम्रो तयारी पनि राम्रो छ,’ आयोजित पत्रकार सम्मेलनमा हङकङका अफिसियलले भने । यसैबीच शुक्रबार एएफसी महिला एसियन कपको छनोटको पहिलो खेलअघि सम्पूर्ण महिला टोलीको दोस्रो पिसिआर परीक्षण गरिएको छ ।