मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक २ मंगलबार
  • Tuesday, 19 October, 2021
विजयराज खनाल काठमाडाैं
२०७८ असोज १ शुक्रबार ०६:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन वर्षपछि दोहोरो अंकमा पुग्यो मुद्दती निक्षेपको ब्याज

दुई महिनाअघि मुद्दती निक्षेपमा बैंकहरूले ७ प्रतिशत हाराहारीमा ब्याज दिने गरेकामा अहिले ९ देखि १० प्रतिशतसम्म पुर्‍याएका छन्

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७८ असोज १ शुक्रबार ०६:२३:००

तीन वर्षपछि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम १० प्रतिशतसम्म पुगेको छ । मंसिर ०७५ मा अधिकतम १२ प्रतिशतसम्म रहेको मुद्दती निक्षेपको ब्याजदर त्यसयता घटेर ७ दशमलव ५ प्रतिशत हाराहारीसम्म पुगेको थियो । त्यसयता पहिलोपटक ब्याजदर दोहोरो अंकमा पुगेको नेपाल बैंकर्स एसोसिएसनले बताएको छ । 

‘करिब तीन वर्षपछि बैंकहरूले निक्षेपमा दिइरहेको अधिकतम ब्याजदर दोहोरो अंकमा आइपुगेको हो,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए, ‘केही समयपछि अहिले बैंकहरूमा पुँजी स्रोतको अभाव देखिएको छ, यद्यपि कात्तिकबाट अवस्थामा सुधार हुने हाम्रो अपेक्षा छ ।’ 

बैंकहरूले दुई महिनाकै अवधिमा मुद्दती निक्षेपको ब्याजदरमा करिब ३ प्रतिशत बिन्दुसम्म वृद्धि गरेका छन् । दुई महिनायता सबैभन्दा धेरै वृद्धि सानिमा बैंकको निक्षेप ब्याजदरमा भएको छ । सरकारले आर्थिक वर्षको सुरुमा खर्च बढाउन नसक्ने हुँदा वित्तीय क्षेत्रमा तरलताको कमी भएको हो ।

चालू आवका लागि आएको बजेट पारित हुन नसक्दा सरकारलाई थप खर्च गर्न समस्या परेको छ । सरकारी खर्च नबढ्दा बजारमा पुँजी प्रवाहमा कमी आएको छ । यसले गर्दा बैंकहरूको स्रोतमा कटौती भएको छ । बुधबारसम्म बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ अधिक तरलता बाँकी छ । सरकारले बुधबारसम्म राजस्व र अन्य स्रोतबाट एक खर्ब ८० अर्ब रुपैयाँ आम्दानी गरेकोमा ८९ अर्ब रुपैयाँ खर्च गरेको छ । करिब ९१ अर्ब रुपैयाँ सरकारी ढुकुटीमा रहेको छ । 

बुधबार महालेखा नियन्त्रकको कार्यालयले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयकका रूपमा विनियोजन विधेयक पेस भइसकेकाले सबै प्रकारका सरकारी भुक्तानी फुकुवा गरिएको उल्लेख गरेको छ । बैंकहरूले ऋणपत्रमा अधिक लगानी गरेका कारणसमेत कर्जा लगानीका लागि पुँजी अभाव हुँदै आएको थियो । बजारमा देखिएको तरलता अभावलाई सम्बोधन गर्न राष्ट्र बैंकले रिपो तथा स्थायी तरलता सुविधा पनि प्रदान गरिरहेको छ । 

गत वर्षभरिमा रिपोमार्फत कुल ६७ अर्ब ९४ करोड र स्थायी तरलता सुविधामार्फत तीन खर्ब ७० अर्ब गरी कुल चार खर्ब ३७ अर्ब रुपैयाँ प्रणालीमा प्रवाह गरेको थियो । चालू आवको पहिलो दुई महिना नबित्दै राष्ट्र बैंकले करिब चार खर्ब रुपैयाँभन्दा बढी प्रणालीमा पठाएको छ ।  

 बुधबारसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट १८ अर्ब ९४ करोड एक रातलाई प्रयोग गर्न सकिने ओभर नाइट रिपो र सातदेखि १४ दिनका लागि पाइने रिपो ५० अर्ब प्रयोग गरिसकेका छन् । बिहीबार थप २० अर्ब रुपैयाँको १४ दिने अवधिको रिपो राष्ट्र बैंकले जारी गरेको छ । त्यस्तै, सात दिनका लागि पाइने स्थायी तरलता सुविधाअन्तर्गत बैंकहरूले तीन खर्ब ४४ अर्ब रुपैयाँ उपयोग गरिसकेका छन् ।

 कात्तिकसम्ममा सरकारको खर्च क्षमता बढ्ने, दसैँ–तिहार नजिकिँदै गएकाले रेमिट्यान्स आप्रवाहमा समेत वृद्धि हुने र बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जा उपभोग बढाउन सक्ने भएकाले पनि निक्षेपको ब्याजदर सो समयपछि केही घट्न सक्ने अनुमान भने बैंकरहरूको छ । 

‘बैंकहरूले दुई खर्बबराबर पुनर्कर्जा प्रयोग गर्न सक्ने भए पनि पुँजी स्रोतमा यसको गणना नहुने यसअघिको व्यवस्थाका कारण कमै पुनर्कर्जा लिइरहेका थिए,’ दाहालले भने, ‘तर, पुँजी स्रोतमा यसको गणनासमेत हुने भएकाले बाँकी करिब ७० अर्ब रुपैयाँ स्रोतको प्रयोग हुनेछ ।’ साउनसम्म बैंक तथा वित्तीय संस्थाले एक खर्ब ५७ अर्ब रुपैयाँ पुनर्कर्जा उपभोग गरिसकेका छन् ।