मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ ३१ बिहीबार १०:५४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युरोपलाई किन महाशक्तिको रूपमा गणना गरिँदैन ?

युरोपेली फौजले अमेरिकी सहयोगविना काबुल विमानस्थलसमेत खुलाउन नसकेबाट तिनको कमजोरी उजागर भयो

Read Time : > 3 मिनेट
२०७८ भदौ ३१ बिहीबार १०:५४:००

अफगानिस्तानबाट अमेरिकी बहिर्गमनप्रति आलोचनात्मक हुने धेरै कारण छन् । देश छाड्न विमानस्थलमा जम्मा भएका आतंकित अफगानहरूको तस्बिर भयानक नलाग्नेलाई समेत भिडमाथिको प्राणघातक आक्रमणले त्रस्त बनायो । एउटा अलोकप्रिय युद्धको अव्यवस्थित तथा अपमानजनक अन्त्य र त्यसको भयानक मानवीय संकट कैयौँ गलत राजनीतिक निर्णयको प्रतिफल थियो । पश्चिम समर्थित अफगान सरकारको तीव्र पतनले युरोपमा आरोपको शृंखला सुरु गरायो ।अफगानिस्तानको सत्तामा तालिबानको फिर्तीले नेटोको भविष्य र आन्द्र महासागरको दुई किनारका मुलुकबीचको सम्बन्धमा उत्पन्न असुरक्षा थप सघन भएको छ । यो चिन्ता व्यवहारमा बदलिने कुरा भने निश्चिन्त भइसकेको छैन ।

युरोपेली संघभित्र भूराजनीतिक आत्मचिन्तन गर्ने कुराले दीर्घ परम्पराको रूप लिइसकेको छ । हरेकपटक संघले यसतर्फ दरिलो घोषणा त गर्छ, तर त्यो रणनीतिक स्वायत्तताको आशावादी परिकल्पनामै सीमित रहन्छ । युरोपेली संघ स्वतन्त्र महाशक्ति बन्न अग्रसर हुनुपर्छ भन्ने विचार सन् १९९० को दशकदेखि चर्चामा छ । यो विचारले पछिल्लो समय नयाँ बहस सिर्जना गरेको छ । यो परिकल्पनाले संघमा सुधार हुनुपर्ने बलियो आह्वानलाई प्रोत्साहित गर्छ, जसको नेतृत्व धेरैजसो फ्रान्सले गर्ने गरेको छ । तर, उत्साहका साथ हुने आह्वान बिस्तारै हराएर जान्छ । युरोपेली संघका सदस्यबीचको बेमेल र त्यसमा पनि नेटो सदस्य राज्यबीचको असमझदारीले (जसमा प्रतिरक्षा खर्चप्रतिको सांस्कृतिक अरुचि आंशिक भूमिका निभाउँछ)ले ठूलो अवरोध हुने गरेको छ । 

विभिन्न सदस्य मुलुकका सैन्य एकाइ रहने गरी निर्माण हुने विशाल युरोपेली फौज बन्यो भने त्यसले युरोपेली संघको साझा सुरक्षा र प्रतिरक्षा नीति अँगाल्नुपर्नेछ । सन् २००७ मा यस्तो फौजले झन्डै ‘पूर्ण काम गर्न सक्ने क्षमता’ हासिल गरेको थियो । तर, त्यो कहिल्यै पनि परिचालन हुन सकेन । त्यसका पछाडि आन्तरिक विमतिकै भूमिका थियो । 

पछिल्लो समयमा सुरु भएको युरोपेली स्वतन्त्र फौजको बहसले पनि हालसम्म पुरानै ढाँचा पछ्याएको छ । काबुलबाट अन्तिम उद्धार विमान उड्नुअघि नै युरोपेली नेताहरूले रणनीतिक स्वशासनको आह्वान गर्न थालेका थिए । युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि जोसेफ बोरेलले बहिर्गमनले युरोपेली नेतालाई जगाउनुपर्ने बताउँदै ‘संघले आफ्नो सुरक्षा क्षमतामा थप लगानी गर्नुपर्ने र रणनीतिक रूपमा सोचविचार गर्ने तथा कदम चाल्ने क्षमता विकास गर्नुपर्ने’ बताएका थिए ।

युरोपेली संघले आफ्नो बजेटका प्राथमिकतालाई पुनःसमायोजन गरेर कल्याणकारी कार्यक्रमलाई कटौती नगरेसम्म उसको भूराजनीतिक प्रभावले आर्थिक शक्तिको प्रतिनिधित्व गर्दैन । तर, युरोपेली मतदाताले कल्याणकारी कार्यक्रमलाई उच्च मूल्यांकन गर्ने भएकाले त्यहाँका नेताले यो जोखिम लेलान् कि नलेलान्, भविष्यले देखाउनेछ ।
 

बारेलले उल्लेख गरे जस्तै अफगानिस्तानबाट बाहिरिने समय र शैली अमेरिका एक्लैले निर्णय गरेको थियो । अर्को शब्दमा भन्दा बाइडेनले अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिबद्धता र मित्रहरूको सम्बन्ध नवीकरण गर्ने जुन वाचा गरेका थिए, त्यसलाई बेवास्ता गरेर अहिले उनी अमेरिकाले घरेलु नीतिलाई प्राथमिकता दिए जस्तो देखिन्छ । बाइडेनको कार्यकालको सुरुमा उनको कुरामा युरोपेली नेताको पूर्ण विश्वास देखिन्थ्यो । युरोपेली नेताहरू अहिले अमेरिकाले आफ्नो आन्तरिक घाउ निको नबनाएसम्म विश्वमञ्चमा नेतृत्वदायी भूमिका निभाउन नसक्ने सोचमा पुगेका छन् । बाइडेन प्रशासनले आफ्नो विदेश नीतिलाई ‘मध्यम वर्गको विदेश नीति’ नाम दिएको छ । उनको प्रशासनका कुनै सदस्यले पनि खुलेर अन्तर्राष्ट्रिय हस्तक्षेपको वकालत गरेका छैनन् र यो चाँडै बदलिने सम्भावना पनि देखिँदैन ।

तर, अफगानिस्तानबाट बाहिरिने निर्णय बाइडेन एक्लैले गरेको भए पनि उनका युरोपेली मित्रहरू पनि अफगानिस्तानको अव्यवस्थित बहिर्गमनको दोषी छन् । अमेरिकाका युरोपेली मित्रसँग बाइडेनको बहिर्गमन योजनाको विरोध गर्ने प्रशस्त अवसर थियो । त्यसमध्ये एउटा अवसर जुनमा आयोजित नेटो सम्मेलन पनि थियो । तर, त्यहाँ उनीहरूले कुनै विरोध जनाएनन् । विरोध जनाएको भए पनि युरोपेली नेतासँग आफ्नो अडानलाई बल दिने क्षमता हुँदैनथ्यो । युरोपेली फौजले अमेरिकी सहयोगविना काबुल विमानस्थलसमेत खुलाउन नसकेबाट तिनको कमजोरी उजागर भयो । अर्थात्, अहिलेका लागि युरोपसँग स्वतन्त्र रणनीतिक दृष्टिकोण अगाडि बढाउने क्षमताको अभाव छ । यसका लागि कमजोर राजनीतिक इच्छाशक्ति र प्रतिरक्षा क्षेत्रमा विनियोजित अत्यन्त न्यून वित्तीय स्रोत मुख्य जिम्मेवार छ ।

रणनीतिक स्वतन्त्रताको वास्तविक मूल्यको मुद्दामा सोचविचार गर्ने कुरा युरोपेली संघका नेता र तिनका मतदाताको हातमा छ । एक प्रक्षेपणअनुसार युरोप सैन्य शक्तिका रूपमा उभिन बर्सेनि ८१८ अर्ब डलर खर्च गर्नुपर्नेछ । यो रकम नेटोको १००० अर्ब डलरको बजेटबाट युरोपको सन् २०१९ को सुरक्षा खर्च घटाउँदा आउने रकम हो । जबकि, सन् २०२१–०२७ को बजेटका लागि युरोपेली संघले सुरक्षा र प्रतिरक्षा क्षेत्रमा जम्मा १५.३ अर्ब डलर छुट्याएको छ । यसको अर्थ रणनीतिक स्वशासन हासिल गर्ने खालको खर्च वृद्धिका लागि संघले भविष्यमा थप राजनीतिक इच्छाशक्ति विकास गर्नुपर्छ । अर्को आप्रवासी लहर नजिकिने सम्भावना र अफगानिस्तान पुनः आतंकवादीको आश्रयस्थलको रूपमा उदाउन सक्ने अवस्थामा यो असम्भव छैन ।

जे भए पनि वास्तविक रणनीतिक स्वशासन व्यावहारिक अल्पकालीन उद्देश्यभन्दा पनि दीर्घकालीन आदर्शजस्तो हो । सौभाग्यवश युरोपेली संघले अमेरिकासँग प्रतिरक्षा सहकार्य बढाएर पनि थप स्वायत्तता हासिल गर्न सक्छ । अमेरिका घरेलु मुद्दामा केन्द्रित हुन थाले पनि दुई पक्षबीच धेरै साझा रणनीतिक स्वार्थहरू छन् । अहिलेका लागि अमेरिकालाई यसको स्मरण गराएर देशलाई एकाकीपनबाट बाहिर निकाल्नु युरोपेली संघको उच्च प्राथमिकतामा हुनुपर्छ । 
युरोपले आफ्नो बजेटका प्राथमिकतालाई पुनःसमायोजन गरेर कल्याणकारी कार्यक्रमलाई कटौती नगरेसम्म उसको भूराजनीतिक प्रभावले आर्थिक शक्तिको प्रतिनिधित्व गर्दैन । तर, युरोपमा कल्याणकारी कार्यक्रमलाई उच्च मूल्यांकन गरिने हुँदा त्यहाँका नेताले यो जोखिम लेलान् कि नलेलान्, भविष्यले देखाउनेछ ।

जर्जटाउन विश्वविद्यालयकी आगन्तुक अध्यापक एना पलासियो स्पेनकी पूर्वविदेशमन्त्री र विश्व बैंककी पूर्व वरिष्ठ उपाध्यक्ष हुन् ।
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य