मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ भदौ ३० बुधबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

Read Time : < 1 मिनेट
२०७८ भदौ ३० बुधबार १९:१९:००

लमजुङबाट वर्षेनी बालबालिका हराउनेको संख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा लमजुङमा एक सय ३१ जना बालबालिका हराएका छन् । 

आर्थिक वर्ष ०७३/७४ देखि ०७७/७८ भदौसम्म जिल्लामा एक सय ३१ बालबालिका हराएको प्रहरीको तथ्यांकमा उल्लेख छ । तीमध्ये ९५ बालिका र ३६ बालक छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार पाँच वर्षको अवधिमा हराएका मध्ये २८ बालक र ६५ बालिका भेटिएका छन् । 

हराएका मध्ये अझै आठ बालक र ३० बालिका भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार आ.व. ०७७/७८ मा लमजुङबाट २० जना बालबालिका हराएका छन् । जसमध्ये २ जना बालिका भेटिएका छैनन् भने १५ जना प्रहरी र आफन्तको सम्पर्कमा आएका छन् । आर्थिक वर्ष ०७७/७८ मा जिल्लाबाट १ सय २ जना मानिस हराएका छन् । 

परिवारका सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर, हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेको प्रहरीले जनाएको छ । हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची धेरै भएको प्रहरीको अनुमान छ । 

प्रहरीले हराएका महिला तथा बालबालिकाको खोजीकार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरीप्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।