मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कांग्रेस उपसभापति
२०७८ भदौ ३० बुधबार १०:०६:००
Read Time : > 11 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

संविधान दिवस सन्निकट छ, भारतले स्वागत गरोस् - विमलेन्द्र निधि (भिडियो)

Read Time : > 11 मिनेट
२०७८ भदौ ३० बुधबार १०:०६:००

एक वर्षअघिदेखि कांग्रेस सभापतिमा उम्मेदवारी दिने बताइरहे पनि विमलेन्द्र निधिले उम्मेदवारी दिन्छन् नै भन्नेमा कतिपयले आशंका व्यक्त गर्छन् । अन्तर्वार्ताका लागि मध्यबानेश्वरमा निधिनिवास खोजिरहँदा उनकै एकजना टोलवासीले घर देखाइदिँदै जिज्ञासा राखे, ‘उहाँ साँच्चि नै सभापतिमा लड्नुहुन्छ ?’ आशंकाविपरीत सुनिन्छन् निधि, उम्मेदवारी दिनेमा एकदम अडिग । कांग्रेस उपसभापति निधिसँग महाधिवेशनमै केन्द्रित रही नयाँ पत्रिकाका लागि सुजित महत, दिपेश शाही र किरण दहालले गरेको वार्ता :

कांग्रेस महाधिवेशनको तिथि सरेकोसर्‍यै छ, कहिलेसम्म सम्पन्न होला भनेर ढुक्क हुन सकिन्छ ?
राष्ट्रिय नेतृत्व चयनलगायतका कामका लागि मंसिर ९ देखि १४ गतेको कार्यतालिका बनेको छ । ९–१४ गतेसम्मको कार्यतालिकामा कुनै परिवर्तन हुँदैन । मंसिर १४ गते महाधिवेशन सम्पन्न हुने सुनिश्चित छ । तल्ला तहको कार्यतालिकामा जतिसुकै परिवर्तन भए तापनि राष्ट्रिय महाधिवेशनबाहेकका सबै काम मंसिर ९ गतेअगावै तमाम भइसक्नेछन् । १६५ निर्वाचन क्षेत्रबाट आउने क्षेत्रीय सभापतिसहितको २५–२५ जना महाधिवेशन प्रतिनिधिको निर्वाचन भयो भनेर समाचार आएपछि ढुक्क हुनुस्, महाधिवेशन भयो । 

सभापतिको उम्मेदवार हुन्छु भनेर पोहोरै भन्नुभएको हो । तैपनि, हुनुहुन्न कि भन्ने आशंका छ । अन्तिम समयसम्ममा शेरबहादुर देउवासँग सहमति हुन्छ भनेर धेरैले अड्कलबाजी गर्छन् ? कुरा के हो ? 
आजसम्म पनि विमलेन्द्र निधि सभापतिको उम्मेदवार उठ्दैन कि भन्ठान्नु फजुल हो । शंकै नगरे हुन्छ । सभापतिको उम्मेदवारका रूपमा चर्चामा रहेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइरालाले मजस्तै सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरिसक्नुभएको छैन । बरु, सबैले मलाई समर्थन गर्नुहोस् । धेरैथरीका सहमतिका मोडेल छन् । उहाँहरूले मेरो नाममा सहमति गर्न सक्नुहुन्छ । 

१३औँ महाधिवेशनको वेला तपाईं र देउवाबीच १४औँ महाधिवेशनमा तपाईं सभापतिको उम्मेदवार हुने, देउवाले तपाईंलाई सघाउने भद्र सहमति भएको थियो ?
सहमति भएको भए उम्मेदवार हुने, सहमति नभएको भए उम्मेदवार नहुने भन्ने हुँदैन । सभापतिमा उम्मेदवारी दिने मेरो पनि अधिकार छ । सभापतिमा उम्मेदवार हुन जुन मापदण्ड आवश्यक पर्छ, त्यो सबै पूरा गरेको छु । अरूसँग भएको मसँग छैन भन्ने हैन । तपाईंले भद्र सहमतिको कुरा कोट्याइहाल्नुभयो ।

दशौँ, एघारौँ र बाह्रौँ हरेक महाधिवेशनमा देउवाको साथमा रहेँ । ‘तपाईं पार्टीको शीर्ष ओहोदामा पुगेपछि म सभापतिमा उम्मेदवार हुन्छु’ भनेर देउवासँग पटक–पटक भनेकै हुँ । प्रत्येकचोटि उहाँले ‘हुन्छ’ भन्नुभएकै थियो । मैले उहाँलाई निरन्तर सघाएपछि उहाँले पनि मलाई सहयोग गर्नुपर्छ नि ! १३औँ महाधिवेशनको वेला ‘तपाईंलाई नजिताई विश्राम नलिने चाहना हो, सक्दो गर्छु, तर १४औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार हुन्छु, तपाईंले मलाई सहयोग गर्नुपर्छ’ भनेर भनेको हुँ । ‘हुन्छ’ भन्नुभयो । तर, यो लिखित थिएन । यस्ता सहमति लिखितमा गर्नु ठीक पनि होइन ।

 

तपाईंको बुबा महेन्द्रनारायण निधि कोइराला परिवारभन्दा गणेशमान–कृष्णप्रसाद भट्टराईनजिक रहनुभयो । तपाईं पनि कोइरालाइतर गुटमै रहनुभयो । देउवाले कोइरालाइतर गुटको नेतृत्व सम्हालेयता उहाँकै सारथि बन्नुभयो । अहिले सहकार्य टुट्यो, उहाँसँगै प्रतिस्पर्धा गर्ने मुडमा देखिनुहुन्छ । कस्तो लाग्दै छ ?
राजनीतिमा यस्ता कुराको खासै मतलब हुँदैन । मुख्य कुरा, म कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ । सभापति बनेर पार्टीलाई कसरी अघि बढाउने, देशको राजनीतिमा कसरी योगदान पुर्‍याउने आदि विषयमै बहस गर्नुपर्ने हुन्छ । नेपाली जनताले पहिलोचोटि आफैँले संविधान बनाए । अरूले निगाह गरेको संविधानले सार्वभौमसत्ता नेपाली जनतामा निहित छ भन्दै आएकोमा सार्वभौम जनताले सार्वभौमसत्ता नेपाली जनतामा छ भनेर लेखे । संविधान हामीले जारी गर्‍यौँ, नयाँ प्रणाली ल्यायौँ । तदनुरूप चुनाव पनि गर्‍यौँ । तर, चुनावपछिको साढे तीन वर्षको अवधिमा जताततै भाँडभैलो देखियो । जनता निराश छन्, वेलाबखत चरम निराशा प्रकट हुन्छ ।

जनताको दैनन्दिनी असहज भएको छ । राष्ट्रिय जीवन असहज भएको छ । राज्यका सबै अंगहरू क्षतविक्षत भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्धहरू बनेका छैनन्, बरु भत्किएको छ । के कारणले यस्तो भयो ? संविधानको कारणले ? प्रणालीको कारणले ? जनतामा भ्रम छरिएको छ, कतिपय अवस्थामा त सुनियोजित तवरले । त्यो भ्रम चिर्ने काम कसले गर्ने ? राजनीतिक नेतृत्वले गर्ने हो । राजनीतिक दलले गर्ने हो । त्यो अहिले भइरहेको छैन ।

हिन्दू राष्ट्रको माग गर्ने कांग्रेसका साथीहरूलाई सोध्नुस्, उहाँहरू पशुपतिनाथमा कांग्रेसको झन्डा गाड्न सक्नुहुन्छ वा जानकी मन्दिरमा कांग्रेसको झन्डा फहराउन सक्नुहुन्छ ? हिन्दू राष्ट्र बनाउँछौँ भन्नेले त पार्टीको झन्डा मन्दिरमै फहराउनुपर्‍यो नि, हैन र ? मन्दिर र पार्टी कार्यालय फरक कुरा हुन् । 

अहिलेको प्रणाली जुन सैद्धान्तिक–राजनीतिक आधारमा निर्माण भएको छ, त्यसमा कांग्रेसको अपनत्व छ । त्यसकारण गएको चुनावमा कांग्रेसले जितेको भए यसको सफल सञ्चालन हुन सक्थ्यो । सफल सञ्चालन गर्न नसके पनि कम्तीमा भत्काउने काम हुने थिएन । क्षतविक्षत हुन पाउने थिएन । सभापति हुनुको मेरो उद्देश्य यहीँ जोडिन्छ । कांग्रेसको मार्ग, नीति, कार्यक्रम, कार्यदिशाबारे सभापतिले भन्नु र अरू पदाधिकारीले भन्नुमा फरक पर्छ । त्यो अति जिम्मेवार दायित्व म निर्वाह गर्न चाहन्छु । त्यो कर्तव्य पालना गर्न चाहन्छु । यसका लागि म सभापति बन्न चाहन्छु । कोसँग सहकार्य भयो, कोसँग भएन भन्ने अब सान्दर्भिक हुँदैन ।

बिपीजयन्तीकै अवसर पारेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै प्रवक्ता विश्वप्रकाश शर्मा तपाईंको प्यानलको महामन्त्री भनेर चर्चा व्याप्त छ । कुरा सही हो ?
म नेतृत्वको प्यानलको महामन्त्री बन्न स्वीकार गर्नुभयो भने स्वागत गर्छु, खुसी हुन्छु । म सभापति, उहाँ महामन्त्री निर्वाचित भए कांग्रेसीजनमा उत्साह सञ्चार हुनेछ । मैले त सँगै हिँडौँ भनेर गगन थापा, मीनेन्द्र रिजाल, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण आदिलाई पनि भनिरहेको छु । चुनावमा ‘एकला चलो रे’ भनेजस्तो सभापति एक्लै त उम्मेदवार हुँदैन, प्यानलसहित धेरै पदका लागि उम्मेदवारी दिनुपर्ने हुन्छ । 

यसपालि त केन्द्रीय कार्यसमितिमा अधिकांश निर्वाचित, पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै निर्वाचित, सभापतिमा धेरै उम्मेदवार भए त पदाधिकारीका लागि योग्य उम्मेदवार नै फेला पार्न मुस्किल पर्ने देखिन्छ । तपाईंको प्यानल कहिलेतिर घोषणा हुने सम्भावना छ ? 
यो रणनीतिक कुरा हो । आन्तरिक गृहकार्य भइरहेको छ । सबैसँग सल्लाह गरिरहेको छु । वैचारिक र कार्यगत रूपमा काम गर्न सहज टिमका लागि म अध्ययनमै छु, साथीहरू पनि अध्ययन गरिरहनुभएको छ । को कुन पदमा भनेर टुंगो लागिसकेको छैन । टुंगो लागेकामा पनि घोषणा उचित समयमा हुनेछ । 

‘शेरबहादुर देउवाले समर्थन गर्नेमा विश्वस्त छु’ भनिरहनुभएको थियो । आजको मितिसम्म पनि विश्वस्त हो ?
त्यो आशा मारिसकेको छैन । पार्टी सभापति देउवाले मलाई समर्थन गर्नुहोला भन्ने कता–कता लागिरहेकै छ ।

यसपालि सभापतिका आकांक्षी धेरै छन् । धेरै उम्मेदवार हुँदा अन्ततोगत्वा फाइदा देउवालाई नै हुन्छ, सहजै चुनाव जित्नुहुन्छ भन्ने आकलन, विश्लेषण हुने गर्छ । त्यस्तै हो ?
अरूबारे भन्दिनँ । चुनाव जित्न सबैभन्दा सहज मलाई छ । मेरो वैचारिक आधार छ । नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति हुँदा संगठनमा सक्रिय सहकर्मीहरू देशैभरि क्षेत्र, जिल्ला, केन्द्रको राजनीतिमा सक्रिय हुनुहुन्छ । मप्रति सबैको विश्वास छ । सँगसँगै, अहिले कांग्रेसमा पुस्तान्तरणको चर्चा, आकांक्षा बढेको वेला हो । संघीय प्रणाली र संविधानप्रति मेरो इमानदारी, प्रतिबद्धतालाई सबैले सकारात्मक रूपमा लिनुभएको छ । मैले चुनाव जित्ने आधार यिनै हुन् ।

अलि अघि तपाईं, शशांक कोइराला र प्रकाशमान सिंहबीच ‘लन्च मिटिङ’ शृंखला चल्यो । त्यो मिटिङ ‘म्यासेज’ दिन वा कांगे्रस राजनीतिको तलाउमा तरंग ल्याउन ढुंगा फाल्न मात्रै थियो कि केही नतिजा पनि निस्कियो ?
त्यो त दीर्घकालीन नतिजाका लागि हो । हामी तीन मिलिदिए हुन्थ्यो भन्ने त देशैभरि कांग्रेसमा आबद्ध र शुभचिन्तकहरूको हार्दिक चाहना हो । पत्रकार, नागरिक समाज, बुद्धिजीवी, स्तम्भकारमा पनि यो चर्चा हुने गरेको सुनेको छु । त्यही चाहना परिपूर्ति गर्न सकिन्छ कि भनेर अग्रसरता लिइएको हो । नतिजा के कति आयो वा आएन भन्ने त समयक्रममा खुल्दै जाला । 

सभापतिको उम्मेदवारीमै सहमति कायम हुन नसके पनि पहिलो चरणको चुनावमा कसैले ५१ प्रतिशत भोट ल्याउन नसकी दोस्रो चरणमा पुगे देउवाविरुद्ध सबै एक हुने सहमतिका लागि भनेको सुनियो नि ? 
पाहिलो चरणमै जित्ने आस भएको हुँदा मैले दोस्रो चरणको कुरा सोचेकै छैन । 

शेरबहादुर देउवा भर्सेस एकजना मात्रै उम्मेदवार हुने सम्भावना छ कि छैन ?
मेरो ध्यान त्यतातिर छैन । त्यो त तपाईंहरूको रुचि होला । मेरो अर्जुनदृष्टि सभापतिमा उम्मेदवार हुने, कांग्रेसका साथीहरूसँग समर्थनको खोजी गर्ने, महाधिवेशन प्रतिनिधिको टुंगो लागेपछि सबैसँग सम्पर्क र संवादमा छु । १४औँ महाधिवेशनलाई आगामी चुनावसँग पनि जोडेर हेरिरहेको छु । यो निरपेक्ष महाधिवेशन होइन । त्यतिवेलासम्म कांग्रेसलाई तरोताजा बनाउने लक्ष्य छ । त्यो भनेको वैचारिक र नीतिगत रूपमा ताजा बनाउने हो । राजनीतिक दल भनेको मान्छेहरूको भीड होइन । नीतिविनाको मान्छेको भीड राजनीतिक दल हुँदैन । मैले यी सबै कुरा ट्र्याकमा ल्याउन पनि उम्मेदवारी प्रस्तुत गरेको हुँ । कसैप्रति टिप्पणी गर्नु छैन, यसअघि जो–जो सभापति, पदाधिकारी बन्नुभयो, सबैको कामको सम्मान गर्दै बाँकी काम सम्पादन गरी कांग्रेसलाई तदनुरूपको पार्टी बनाउनु पर्नेछ । वर्तमान प्रणालीप्रति जनतालाई विश्वस्त पार्नु पर्नेछ ।

अहिलेको प्रणाली जुन सैद्धान्तिक–राजनीतिक आधारमा निर्माण भएको छ, त्यसमा कांग्रेसको अपनत्व छ । गएको चुनावमा कांग्रेसले जितेको भए यसको सफल सञ्चालन हुन सक्थ्यो । सफल सञ्चालन गर्न नसके पनि कम्तीमा भत्काउने काम हुने थिएन ।
 

नीतिको कुरा गर्नुभयो, ०४६ सालपछि कांग्रेसले अनुसरण गरेको आर्थिक नीति पनि समीक्षा गर्नुपर्ने भएको हो ?
कांग्रेसलाई तरोताजा बनाउनुपर्छ भन्नुको आशय यो पनि हो कि युवापुस्तालाई पार्टीमा सहभागी गराएर अवसर दिनुप¥यो । नेतृत्वको तहमा पुग्ने वातावरण बनाइदिन सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्‍यो । आर्थिक समुन्नति युवाको संलग्नता र भूमिकामा भर पर्छ । युवा रोजगारीका लागि विदेशमा भाैँतारिने अनि हामी यहाँ आर्थिक सम्पन्नताको सपना देख्ने ? हामी समाजवादी अर्थतन्त्रमा विश्वास गर्छौं । त्यो भनेको आर्थिक समानता हो । त्यसका लागि जीवनस्तर उकास्ने हो । यसका लागि नागरिकलाई देशमै रोजगारी उपलब्ध गराउन सक्नुपर्‍यो ।

कांग्रेसले काम गर्दै आएको पनि छ, तर थप धेरै काम गर्नुपर्नेछ । समीक्षाको जुन कुरा छ, त्यो त प्रत्येक वर्ष गर्नुपर्छ । नयाँ नीतिमार्फत रोजगारीका अवसर सिर्जना गर्ने र उद्यमशील बनाउनेमा मेरो ध्यान हुनेछ । परम्परागत आर्थिक नीतिलाई परिमार्जन र आधुनिकीकरण गर्नेतर्फ ध्यान दिनुपर्छ । नेपाल विविधतापूर्ण मुलुक हो । हामीले पार्टी, पद्धति र हरेक निकायमा विविध सहभागिता सुनिश्चित गर्नुपर्छ । देश भनेकै नागरिकसँग सम्बन्धित हुन्छ । राष्ट्रको समुन्नति भनेको तिनै विविध वर्ग, समुदाय र क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्ने विषय हो । यो काम अबको कांग्रेसले गर्नुपर्छ । 

कांग्रेसमा नेताले क्रियाशील सदस्यतामार्फत आफ्नो मतदाता तोक्ने र त्यही मतदाताले आफूलाई मतदानयोग्य बनाउने नेतालाई रोज्ने प्रणाली विकास भयो । यसैले हरेकचोटि क्रियाशील सदस्यता वितरणमा लफडा हुन्छ । यसमा पनि केही सुधार गर्नुपर्ने देख्नुहुन्न ?
बिपी कोइरालाको पालामा त क्रियाशील र साधारण सदस्यताको सर्वाधिकार सभापतिमै थियो । उम्मेदवारले मतदाता चुन्ने परिपाटी मान्ने हो भने सुरुवातदेखि नै छ । संगठन निर्माणको एउटा प्रारम्भिक शैली थियो । त्यसलाई अलोकतान्त्रिक भनेर त कहीँ पनि पुगिँदैन । त्यसभन्दा पछिका दिनमा धेरै परिवर्तन, परिमार्जन भएका छन् । त्यसपछि कांग्रेसको विधानमा क्रियाशील सदस्यता दिने अधिकार सभापति र महामन्त्रीमा थियो ।

महामन्त्री मनोनित हुने अवस्थामा सभापतिको निर्देशनमा महामन्त्रीले नै क्रियाशील सदस्यता वितरण गथ्र्यो, फेरि पनि सर्वाधिकार सभापतिमै रह्यो । तर, त्यसलाई लोकतान्त्रीकरण र विकेन्द्रीकरण गर्ने सोचका आधारमा हामीले त्यसलाई विस्तृत बनाएका छौँ । अब वडा तहबाट नै क्रियाशील सदस्यता वितरण हुन्छ । अहिले वेबसाइटमै क्रियाशील सदस्यताको विवरण राख्न थालियो । हामीले अहिले छलफल गरिरहेको विषय त अझै बृहत् छ । कांग्रेसको विधान र अनुशासनलाई स्वीकार गर्ने र दार्शनिक, सैद्धान्तिक मान्यतालाई स्वीकार गर्नेलाई अनलाइनमार्फत नै क्रियाशील सदस्यता दिनुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ । धेरै उदार हुँदा समस्या पनि देखिन्छन्, छलफल जारी छ । 

मधेसमा कांग्रेस एकदमै बलियो थियो र त्यही बलमा चुनाव जित्थ्यो, सत्तामा पुग्थ्यो । मधेस आन्दोलनयता कांग्रेसप्रतिको त्यो आकर्षण मधेसी दलतर्फ सरुवा भयो र धेरै नेता–कार्यकर्ता त्यतै लागे । तपाईं पार्टी सभापतिमा जिते मधेसमा पुनः कांग्रेस बलियो हुने सम्भावना रहन्छ ? 
सभापति बने देशैभर प्रभाव पार्छु भनेर म चुनाव लड्दै छु । झापादेखि कञ्चनपुरसम्म, मुस्ताङदेखि महोत्तरीसम्म मेरो प्रभाव छ । क्षेत्रीय होइन, राष्ट्रिय राजनीति गरिआएको छु, गर्नेछु । नेपालमा जुनसुकै धारको जति पनि क्रान्ति/आन्दोलन र परिवर्तन भए, त्यसमा सबैभन्दा बढी योगदान र सहभागिता मधेसको रह्यो । पहाडका साथीहरूले पनि मधेसलाई कार्यक्षेत्र बनाएर संगठन, आन्दोलन, क्रान्ति गर्नुभयो । मधेसमा बलियो भएकै कारण कांग्रेस नेतृत्वमा क्रान्ति÷आन्दोलन सफल भए, अनि चुनावी राजनीतिमा पनि शीर्ष स्थानमा पुग्यो । सत्तामा पुग्यो । मधेस आन्दोलनपछि कमजोर भएको सत्य हो । यो तथ्य कांग्रेसका गैरमधेसी साथीहरूले हृदयंगम गर्नुभएको छ । त्यसैले उहाँहरू मलाई सभापतिमा दाबेदारी गर्न उत्प्रेरित गरिरहनुभएको छ । सघाउने वचन पनि दिनुभएको छ । यो मधेसप्रति पहाडको विश्वास पनि हो । पहाड–मधेसको आपसी विश्वास पुनर्जीवित हुँदै 
गएको छ । 

कांग्रेसमा महेन्द्रनारायण निधि, रामनारायण मिश्र, परशुनारायण चौधरी नेता हुने गर्थे । अनि शेष इद्रिस, डा. रामवरण यादव आदि । अहिले केन्द्रीय नेतृत्वमा तपाईंबाहेक प्रभावशाली मधेसी अनुहार देखिँदैन । तपाईंपछि कांग्रेसको नेतृत्वमै दाबी गर्ने खाले नेता दूर–दूरसम्म देखिँदैन । पहाडिया नेता देखाएर मधेसमा कांग्रेस बलियो होला र ? 
मधेसमा सम्भावना भएका साथीहरू नभएका होइनन् । महिला, दलित, जनजाति, मुस्लिम आदि सबैतिर छन् । त्यो सम्भावनालाई मलजल गरेर फुलाउनु–फलाउनुपर्ने छ । म सभापति भए त्यो मलजल गर्ने काम हुनेछ । मधेसबाट नेतृत्व निर्माण गर्ने वातावरण बन्नेछ । 

सभापतिमा उम्मेदवारी दिने खबर पोहोर आएसँगै तपाईंको सम्भावित उम्मेदवारीलाई भारतसँग जोडेर अड्कल, विश्लेषण गर्ने काम काठमाडौंमा सुरु भयो । तपाईं मधेसी भएकै कारण यो आशंका र अड्कलबाजी हो या यसमा कुनै दम छ ? 
कुनै दम छैन, बेकारको कुरा हो । अन्यथा नलिऔँ, नेपालमा राणाशासनदेखि अहिलेसम्म मधेसी मूलका नेताको हातमा डाडु–पन्यु त छैन नि । र, भारतको हस्तक्षेप बढ्यो भने कसका कारण बढ्यो त ? सरकार र प्रमुख राष्ट्रिय दलको नेतृत्वमै त मधेसी पुगेका छैनन् । गैरमधेसी नेतृत्वको बोलवाला र वर्चस्व भएकै वेला भएको छ । यति मात्रै भन्दा पनि तपाईंको प्रश्नको जवाफ पूरा हुन्छ । कसैलाई होच्याउन यस्ता निरर्थक कुरा गरिने गर्छ । चुनावमा टीकाटिप्पणी स्वाभाविक हुन्छ । कुनै मर्यादित हुन्छ, कुनै अमर्यादित । यो ममाथि अमर्यादित टीकाटिप्पणी हो । गएको चुनावमा म हारेँ । मलाई कसले हरायो, सर्लाहीका नेता धनुषामा मविरुद्ध उम्मेदवारी दिन किन पुगे जस्ता प्रश्नको जवाफ खोजतलास गरी विश्लेषण गर्दिए म ‘एहसानमन्द’ हुने थिएँ । 

चुनाव जित्न सबैभन्दा सहज मलाई छ । मेरो वैचारिक आधार छ । नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति हुँदा संगठनमा सक्रिय सहकर्मीहरू देशैभरि क्षेत्र, जिल्ला, केन्द्रको राजनीतिमा सक्रिय हुनुहुन्छ । मप्रति सबैको विश्वास छ ।
 

देउवापुत्र जयवीरसिंह राजनीतिमा छिरे । तपाईंका, अरू नेताका छोराछोरी पनि ढिलोचाँडो छिर्लान् । तपाईंहरू त संघर्ष, जेलनेलका जोखिमका बाबजुद पिताको पदचाप पछ्याउनुभएको थियो । अहिलेको पुस्तालाई केले आकर्षण गरिराखेको छ ? 
लोकतन्त्रका लागि संघर्ष गर्दाको वेला र लोकतान्त्रिक प्रक्रियामा राजनीतिक सहभागिता गर्दाको व्यवहार र आयाम फरक हुने गर्छ । अमेरिकामा जर्ज वासिङ्टन संघर्ष गरेर सफलतापछि राष्ट्रपति भए, जो बाइडेन फरक परिवेशमा । अब अहिलेका राष्ट्रपतिलाई ‘तिमी स्वतन्त्रता सेनानी होइनौ, जेल गएका छैनौ’ भन्न त मिलेन नि । राणाकालविरुद्ध संघर्ष गरेको पुस्ता त अब करिब–करिब नहोला, तर पञ्चायतविरुद्ध लडेको, माओवादी विद्रोहमा सास्ती भोगेको, फेरि राजाविरुद्ध लडेको पुस्ता कांग्रेसमा एकसाथ छ । हामी राजनीतिमा नयाँ पुस्ता खोजिरहेका छौँ भने युवापुस्तालाई सम्मिलन त गराइदिनुपर्यो। एउटाका लागि एकखाले र अर्कोका लागि फरक खाले टिप्पणी उचित हुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि जन्मेको पुस्तालाई ‘तँ यो प्रणालीका लागि लडेको होइनस्’ भन्नु न्यायोचित हुँदैन । तात्कालीन परिस्थितिकै आधारमा मूल्यांकन गर्नुपर्छ । 

कांग्रेसमा विरासतको राजनीति कति बलियो छ ? नेताका छोराछोरी आउनुको सकारात्मक र नकारात्मक प्रभाव के–कस्ता हुन्छन् ? 
बलियो पनि छैन, कमजोर पनि छैन । कांग्रेसमा जति संसारमा जताततै छ । राजनीतिमा मात्र किन, हरेक क्षेत्रमा हुन्छ । यो समाजशास्त्रीय÷मानवशास्त्रीय व्याख्या, विश्लेषणको विषय पनि हो । खेलाडीका छोराछोरी खेलाडी हुन सक्छन्, संगीतकारका छोराछोरी संगीतकार हुन सक्छन् । डाक्टरका छोराछोरी डाक्टर नै भए भने ‘ए तिमी त डाक्टरको छोरी–छोरा भएकाले भयौ’ भन्न त मिल्दैन । मेरो हजुरबुबा राजेश्वर निधि राणाविरुद्ध भूमिगत रूपमा सक्रिय थिए । बुबा कांग्रेस स्थापनाअघि नै राणाविरुद्ध सक्रिय भइसक्नुभएको थियो । बुबाको दुई छोरा, चार छोरीमा म एक्लो राजनीतिमा छु । व्यक्तिका आफ्नै रुचि हुन्छन् । संगीत, नृत्यमा घराना हुन्छ । टिक्ने त आफ्नै क्षमतामा हो । 

तपाईं कांग्रेसको उपसभापति पनि । अहिलेको सत्ता गठबन्धन चुनावसम्मै हुनुपर्ने कि कांग्रेस एक्लै चुनावमा जाने भन्नेमा पनि पार्टीभित्र विवाद छ । तपाईं के भन्नुहुन्छ ? 
वेला आएपछि कुरा गर्नुपर्छ । वेला भएको छैन । चुनावअघि नै कांग्रेसको महाधिवेशन छ । महाधिवेशनबाट नेतृत्व चयन हुन्छ । त्यसपछि 
कुरा हुन्छ । 

हाम्रो संविधानमा भारतको ‘रिजर्भेसन’ थियो, अझै छ । भारतले हिन्दू राष्ट्र नेपाल चाहेको अनुमानकारिता हुने गर्छ । हिन्दू राष्ट्र चाहने शक्ति कांग्रेसमा पनि छ । तपाईं के भन्नुहुन्छ ? 
कांग्रेसले हिन्दू राष्ट्रको एजेन्डा बोक्नेवाला छैन । म सनातनी हिन्दू हुँ । पार्टी सभापति उम्मेदवारीका लागि सम्पर्क कार्यालय खोल्दा विभिन्न मन्दिरका पुजारी उपस्थित हुनुहुन्थ्यो । तपाईंहरू यहाँ आउनुभन्दा ठीक अघि पाथिभरा मन्दिरका पुजारी आउनुभएको थियो, आशीर्वाद लिएँ । उहाँले लगाइदिएको टीका निधारमा छ । हिन्दू हुनुमा गर्व छ । तर, राष्ट्रको, राज्यको धर्म हुन्छ भन्नेमा सहमत छैन । हाम्रो मुलुक हिन्दूबहुल हो । यसको मलतब राष्ट्रको धर्म हिन्दू हुनुपर्छ भन्ने होइन ।

हामी बहुधार्मिकतामा विश्वास गर्छौं । धार्मिक स्वतन्त्रतामा विश्वास गर्छौं । हिन्दू राष्ट्रको माग गर्ने कांग्रेसका साथीहरूलाई सोध्नुस्, उहाँहरू पशुपतिनाथमा कांग्रेसको झन्डा गाड्न सक्नुहुन्छ वा जानकी मन्दिरमा कांग्रेसको झन्डा फहराउन सक्नुहुन्छ ? हिन्दू राष्ट्र बनाउँछौँ भन्नेले त पार्टीको झन्डा मन्दिरमै फहराउनुपर्‍यो नि हैन र ? मन्दिर र पार्टी कार्यालय फरक कुरा हुन् । मिसमास गरेर बिटुल्याउने काम नगरौँ, पवित्रता कायम राखौँ । 

हाम्रो संविधानमा भारतको ‘रिजर्भेसन’को सवालमा भन्छु, संविधानको स्वागत नगरेर गल्ती गरेको छ । हालै भारतको सत्तारूढ भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आउँदा मेरो पनि भेट भयो । मैले भनेँ, ‘नेपालको संविधानलाई नोट गरेका छौँ भन्नुभएको छ, हामीलाई संविधान जारी गर्न तपाईंहरूको अप्रुभल चाहिने होइन ।’ सार्वभौम नेपाली जनताले लेखेको संविधान हो । सार्वभौमसत्ता हामीमा छ । जिम्मी कार्टरले ‘लोकतन्त्र कुनै देशको आन्तरिक मामिला होइन’ भनेको मैले केन्द्रीय कारागारमा बन्दी छँदा पढेको हुँ । कारागारमा रहेका हामी कांग्रेसी बन्दीले ताली बजाएका थियौँ । भारत होस् वा बेलायत वा अरू कुनै लोकतान्त्रिक देश, दुनियाँमा कहीँ पनि लोकतन्त्रको पक्षमा उभिन्छौँ भन्ने गर्छन् ।

म्यानमारमा आङसान सुकी नजरबन्दमा रहँदा यसअघिको संसद्मा मेरै प्रस्तावमा संसद्मा प्रस्ताव पारित भएको छ– हामी लोकतन्त्रको पक्षमा छौँ भनेर । हाम्रो संविधानलाई स्वागत गर्न त्यहाँको नेतृत्वले आनाकानी गरेको भारतीय जनतालाई पनि निको लागेको छैन । भारतीय नागरिक, बुद्धिजीवी, कूटनीतिज्ञ आदिसँग कुरा गर्दा नेपालको संविधानलाई स्वीकार नगरेकोमा चित्त बुझाएका छैनन् । इतिहासमै पहिलोचोटि जनताले संविधान बनाए, अनि सात दशकदेखि लोकतान्त्रिक प्रणालीमा चलिरहेको छिमेकीले स्वागत नगर्दा हामीलाई नमज्जा त लाग्छ नि । यसमा मेरो जवाफ कूटनीतिक नभई सीधा छ– हाम्रो संविधान दिवस सन्निकट छ, भारतले स्वागत गरोस् । ‘देर आएद, दुरुस्त आएद’ हुनेछ ।