मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ भदौ ३० बुधबार ०८:०९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाली गाँजा–चरेस अब खाडी मुलुकतर्फ तस्करी : एक लाख मूल्यको चरेस खाडी पुग्दा ३० लाख

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ भदौ ३० बुधबार ०८:०९:००

नेपाली गाँजा तथा चरेस अब खाडी मुलुकमा पनि तस्करी हुने गरेको खुलेको छ । महँगो मूल्यमा बिक्री हुने भएपछि तस्कर समूह यसतर्फ आकर्षिक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले हवाईमार्ग हुँदै कतार तस्करी गर्न लागिएको अवस्थामा गाँजा र चरेस बरामद गरेपछि यो तथ्य बाहिरिएको हो । यसका लागि तस्करहरूले संगठित ‘र्‍याकेट’ नै बनाएको प्रहरीको निष्कर्ष छ ।

 हवाईमार्ग हुँदै खाडी मुलुक पुर्‍याउँदा नेपाली गाँजा प्रतिग्राम एक हजार रुपैयाँमा बिक्री हुने भएपछि तस्करहरू संगठित तवरले नै यो धन्दामा लागेको देखिएको ब्युरो प्रमुख एसएसपी हृदय थापाले बताए । ‘नेपाली गाँजा सामान्यतः भारतका विभिन्न सहरमा तस्करी हुने गरेको यसअघिका अनुसन्धानबाट देखिएको थियो । तर, अब नेपाली गाँजा भारत मात्र नभई खाडी मुलुकसमेत पुग्ने गरेको पाइएको छ । यसका लागि तस्करहरूले संगठन नै बनाएको अनुसन्धानबाट देखिन्छ,’ उनले भने ।

प्रहरीका अनुसार तस्करले खाडीका मुलुकसम्म गाँजा तस्करी गर्न वैदेशिक रोजगारमा जाने युवा प्रयोग गर्ने गरेको खुलेको छ । वैदेशिक रोजगारका क्रममा जाँदा लाग्ने हवाई भाडा, होटेल र खाना खर्च व्यहोर्ने प्रलोभनमा तस्करले युवालाई धन्दामा प्रयोग गर्ने गरेको अनुसन्धानको निष्कर्ष छ ।

प्रयोग हुने युवा धन्दाका बारेमा जानकार नहुने र पक्राउ पर्ने पनि उनीहरू नै हुँदा खाडीमा हुने गाँजा तस्करको अनुसन्धान जटिल रहेको प्रहरीको भनाइ छ । ‘हवाईमार्ग हुँदै खाडीमा गाँजा तस्करी गर्न तस्करले वैदेशिक रोजगारका लागि जाने युवा प्रयोग गर्ने गरेको खुलेको छ । सामान्य प्रलोभनमा उनीहरू प्रयोग भएको देखिन्छ । उनीहरू भरिया मात्रै हुँदा धन्दाको सम्बन्धमा जानकार छैनन् । तर, पक्राउ पर्ने उनीहरू नै हुन् । त्यसो हुँदा उनीहरूबाट तस्करको नालीबेली आउँदैन । त्यसैले अनुसन्धान चुनौतीपूर्ण छ,’ थापाले भने ।

नेपाली गाँजा र चरेसको सेवनकर्ता खाडी मुलुकमा व्यवसाय गरी बस्ने नेपाली र स्थानीय शेख रहेको अनुसन्धानबाट खुलेको छ । ‘खाडीमा गाँजा र चरेस सेवन गर्ने नेपाली र स्थानीय शेख पनि छन् । उनीहरूले नै महँगो मूल्य तिरेर गाँजा र चरेस सेवन गर्ने गरेको अनुसन्धानबाट देखिन्छ,’ उनले भने ।

चूर्णको बट्टाभित्र गाँजा तस्करी 
गत ८ भदौ बिहान कतारको दोहा जान कतार ऐयरवेज उडान नं. क्युआर ६५९ को जहाज लाइनमा थियो । त्रिभुवन विमानस्थलस्थित अन्तर्राष्ट्रिय टर्मिनलतर्फको चेकजाँच कक्षमा चितवन खैरहनी–१० का २९ वर्षीय बुद्धिराज पाठक लगेजसहित देखापरे । परीक्षणका लागि उनले लगेज एक्सरे मेसिनमा हाले । लगेजभित्र बट्टाजस्तो शंकास्पद वस्तु देखियो । निरीक्षणमा रहेका प्रहरीको ध्यान लगेजतर्फ मोडियो । नजिकै थिए बुद्धिराज । प्रहरीले उनलाई लगेज खोल्न लगायो । लगेजभित्र ‘ग्यास्ट्रिक हरण चूर्ण’ लेखिएको स–साना १२ वटा बट्टा देखिए । खोल्दा बट्टाभित्र ग्यास्ट्रिकको औषधि नभई गाँजा भरिएको थियो । प्रहरीले १२ वटै बट्टा बरामद गर्‍यो । बट्टाभित्र आठ सय ग्राम गाँजा फेला पर्‍यो । उक्त गाँजा कतारको दोहामा प्रतिग्राम हजार रुपैयाँको दरले आठ लाख रुपैयाँमा बिक्री हुने तय भएको थियो । 

अनुसन्धानमा संलग्न ब्युरोका डिएसपी फणिन्द्र प्रसाईले आठ सय ग्राम गाँजा तस्करीका लागि तस्करले तीनवटा चेन बनाएको बताए । ‘आठ सय ग्राम गाँजा चूर्णको बट्टाभित्र फेला परे । गाँजा लिएर जाने बुद्धिराज पाठक पक्राउ परे । उनलाई उक्त गाँजा चितवन खैरहनी–१० का ३६ वर्षीय विष्णु श्रेष्ठले दिएका रहेछन् । उनलाई पनि पक्राउ गर्‍यौँ । उनलाई पनि बरामद गाँजा मोरङ सुन्दर हरैँचा–६ का ३८ वर्षीय कुमार श्रेष्ठले दिएका रहेछन् । उनलाई पक्राउ गरेपछि चेन सकियो होला भन्ने ठान्यौँ । तर, उनले पनि कुनै व्यक्तिसँग १६ हजार रुपैयाँमा उक्त गाँजा खरिद गरेका रहेछन् । उनलाई हामी खोजिरहेका छौँ,’ उनले भने ।

प्रहरीका अनुसार गाँजा तस्करमा संलग्नमध्ये कुमारले यसअघि पनि कतारमा गाँजा तस्करी गरेका थिए । त्यसअघि उनी कतारमा वैदेशिक रोजगारका क्रममा गएका थिए । साथबाट गाँजा बरामद भएपछि कतार प्रहरीले उनलाई पक्राउ गरेको थियो । सात दिन हिरासतमा राखेपछि उनलाई कतार प्रहरीले नेपाल डिपोर्ट गरेको थियो । 

चार केजी चरेस खाडी पुग्दा ३० लाख रुपैयाँ 
वैदेशिक रोजगारका लागि कतार हिँडेका म्याग्दी मंगला–३ का ३६ वर्षीय श्यामप्रसाद रोका र ३५ वर्षीय वीरबहादुर रोकामगर २१ भदौको बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको कक्षमा पुगे । सुटकेससहित थिए दुवै । नियमित चेकजाँचका लागि दुवैले आफ्नो लगेज एक्सरे मेसिनमा हाले । तर, मेसिनले सुटकेसभित्र शंकास्पद वस्तु रहेको संकेत गर्‍यो । प्रहरीले सुटकेससहित दुवैलाई नियन्त्रणमा लियो । सुटकेसको फल्मबटमभित्र प्याक गरिएको अवस्थामा चार किलो ३५ ग्राम चरेस फेला पर्‍यो ।

वीरबहादुर र श्यामप्रसाद छाँगाबाट खसेझैँ भए । किनकि उनीहरूलाई बिहान मात्रै नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक अपरिचितले उक्त सुटकेस कतार लगिदिन भन्दै दिएका थिए । यसबापत गेस्ट हाउसमा बसेका र खाना खाएको रकम उनै अपरिचितले व्यहोरिदिएका थिए । तर, ‘सुटकेसभित्र के थियो ?’ त्यसको जानकारी अपरिचितले दुवैलाई दिएको थिएन । 

वीरबहादुर र श्यामप्रसादलाई सुटकेस दिने म्याग्दी मंगला–३ का ४४ वर्षीय दिलबहादुर गुरुङ रहेको अनुसन्धानबाट खुलेपछि प्रहरीले उनलाई पक्राउ गर्‍यो । दिलबहादुरलाई पनि उक्त सुटकेस धादिङ गंगाजमुना–४ का ३३ वर्षीय अनिलबहादुर घलेले दिएका रहेछन् । प्रहरीले उनलाई पनि पक्राउ गर्‍यो । अनिलले उक्त सुटकेस धादिङकै सुनबहादुर गुरुङबाट पाएका रहेछन् । उनी पनि पक्राउ परे । सुनबहादुरले बरामद सुटकेस धादिङ खनियाबास–५ का २८ वर्षीय याङ्की भनिने जितबहादुर तामाङबाट लिएका रहेछन् । प्रहरीले उनलाई पनि पक्राउ ग¥यो । उनलाई सुटकेस दिने धादिङकै ३६ वर्षीय माइला भनिने कृष्णबहादुर तामाङ रहेछन् । उनले पनि सुटकेस अरूबाट लिएको प्रहरीलाई बयानमा भनेका छन् । 

‘लागुऔषध तस्करीमा जति धेरै चेन प्रयोग भयो, त्यसको मूल्य त्यति नै धेरै हुन्छ । चार केजी चरेस तस्करी गर्न तस्करले आठवटासम्म चेन बनाएको खुल्यो । यसैबाट थाहा हुन्छ, नेपाली चरेस खाडी मुलुकमा कति महँगो मूल्यमा बिक्री हुन्छ भन्ने । अनौपचारिक रूपमा बुझ्दा बरामद चरेस दोहा पुग्दा ३० लाख रुपैयाँमा बिक्री हुने तय थियो,’ डिएसपी प्रसाईले भने ।