१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

थारू बस्तीमा अट्वारीको उल्लास

अट्वारीमा दाजुभाइले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै दिनभरि पानीसमेत नखाई व्रत बस्ने गर्छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:१८:oo

कैलाली र कञ्चनपुरका थारू बस्तीमा यतिवेला अट्वारी (आइतबारी) पर्वको उल्लास छ । भाद्र शुक्लपक्षको पहिलो आइतबार दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै व्रत बसेका छन् । अट्वारी थारू समुदायको मौलिक पर्व हो । यो पर्वमा आफ्ना दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पुरुषहरू दिनभरि पानीसमेत नखाई व्रत बस्ने चलन छ । 

व्रतालुले दिउँसोतिर नदी–खोलामा गएर नुहाइधुवाइ गरेर विधिपूर्वक अग्निको पूजा गर्छन् । त्यही दिन सूर्यास्तअघि अन्डीको चामलको रोटी, बरिया, गहुँको पीठोबाट खुर्मालगायत पकवान पकाइन्छन् । पूजा सकिएपछि सूर्यास्तअघि अन्डीको चामलको रोटीलगायत परिकार तथा काँक्रो, अम्बा, केरालगायतका फलफूल खाने चलन छ । 

यी पकवान र फलफूल पूजाआजाका क्रममा अग्नि देवतालाई चढाएपछि केही भाग दिदीबहिनीलाई छुट्याउने र बचेको भाग व्रतालुले खाने गर्छन् । व्रतालुले आ–आफ्नो भागबाट निकालेर अर्को भाँडामा खानेकुरालाई अलग्याएर राख्ने गर्छन् । अलग्याएर राखेको खानेकुरा आइतबारको भोलिपल्ट कोसेलीका रूपमा दिदीबहिनीलाई अग्रासनका रूपमा दिने चलन रहेको थारू समुदायका अगुवा दिलबहादुर चौधरी बताउँछन् । अट्वारी पर्वमा विवाहिता चेलीहरू कोसेली लिएर दाजुभाइ आउने प्रतीक्षामा बसेका हुन्छन् । अग्रासन दिन आएका दाजुभाइलाई दिदीबहिनीले पनि उपहार दिने परम्परा रहेको चौधरीले बताए । 

अट्वारी पर्व दुई दिनसम्म मनाइन्छ । व्रतको अघिल्लो दिन मध्यरातमा भाले नबास्दै व्रत बस्नेहरू दर खाने गर्छन् । अट्वारीको दोस्रो दिन व्रतालुले बिहानै पूजाआजा गर्छन् । गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर पाँच भाइ पाण्डवमध्येका माइला भीमको पनि पूजा गरिन्छ । पूजाआजा सकेर व्रतालुले फुलौरी, केराउ, पटौला, ठच्चालगायत परम्परागत खानाका परिकार र माछाको सिद्रा खाने चलन पनि रहेको थारू अट्वारीमा व्रत बस्दै आएका कैलारी गाउँपालिका–७, का चिपुराम चौधरीले बताए । चौधरीका अनुसार व्रतालुहरूले पर्वको दोस्रो दिन यसरी अन्नसहितको परिकार खानुलाई ‘फरहार’ भन्ने गरिन्छ ।

 छोरीचेलीलाई ‘अग्रासन’
व्रतको दोस्रो दिन पनि व्रतालुहरूले खानाका परिकार र फलफूल खानुअघि एक भाग निकालेर छुट्टै राख्छन् । दुवै दिन आफूले खानुभन्दा पहिले निकालेर राखेका परिकार तथा फलफूल विवाहिता छोरीलाई कोसेलीका रूपमा दिने चलन छ । जसलाई थारू भाषामा ‘अग्रासन’ पनि भनिन्छ ।

विवाहिता छोरीचेली जति टाढा भए पनि अग्रासन दिनुपर्छ भन्ने मान्यता थारू समुदायमा रहेको चिपुरामले बताए । ‘माइतीबाट दाजुभाइ कोसेली दिएर आउँदा दिदीबहिनी खुसी हुन्छन्, तर अग्रासन पाएन भने उनीहरूको चित्त दुख्छ ’ चौधरीले भने, ‘त्यसैले सकेसम्म अनिवार्य रूपमा अग्रासन दिने चलन छ ।’

दिदीबहिनीको दीर्घायुको कामना गर्दै व्रत बस्ने र अग्रासन दिने गर्नाले दाजुभाइ र दिदीबहिनीको सम्बन्ध प्रगाढ हुनु यो पर्वको महत्वपूर्ण पक्ष भएको थारू समुदायका अगुवाहरूको भनाइ छ । 

ad
ad