मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ २७ आइतबार ०६:५९:००
Read Time : > 1 मिनेट
फिचर प्रिन्ट संस्करण

टाँके भ्याली : भर्जिन पर्यटकीय स्थल

Read Time : > 1 मिनेट
२०७८ भदौ २७ आइतबार ०६:५९:००

कर्णाली भन्नेबित्तिकै अधिकांशको आँखाअघि रोग, भोक र विपन्नताको तस्बिर आउँछ । केन्द्र सरकारले पनि सोहीअनुसार योजना बनाउने गरेको छ । तर, कर्णालीमा रोग, भोक र विपन्नता मात्रै छैन । यहाँ रोग निवारण गर्ने जडीबुटी छ, भोक मेट्ने अन्न यहीँ छ भने सिंगो देशलाई सम्पन्न बनाउने पर्यटकीय स्थलहरू यहीँ छन् । तर, पहिचान गर्ने दृष्टि र इच्छाशक्तिको मात्रै कमी छ ।

भौगोलिक रूपमा विकट कर्णाली प्रदेशको हुम्लास्थित टाँके भ्याली यस्तै पर्यटकीय स्थलमध्ये पर्छ । यहाँ एकपटक पुग्ने जोसुकैले पनि टाँकेका सुन्दर दृश्य भुल्न सक्दैन । सुन्दर र रमणीय हुँदाहुँदै पनि प्रचार–प्रसारको अभावमा यो भ्याली अझैसम्म पनि मूलधारको पर्यटकीय स्थल बन्न सकेको छैन । 

हरेक बिहान सूर्यले गगनचुम्बी सेता हिमाललाई गर्ने अंकमाल र फेदीमा गलैँचा बिछ्याएझैँ घाँसे मैदानले यहाँ पुग्ने पर्यटकको मन लोभ्याउँछ । भ्यालीको बीचमा कलकल बग्ने हिमनदी छ । घाँसेखर्कमा रंगीचंगी लेकाली फूल र सम्म फाँटमा मनमौजीसँग रमाइरहेका गोठालाहरूले कसको मन लोभ्याउँदैन र । टाँके भ्याली ५,३५८ मिटर अग्लो काङला भञ्ज्याङको काखमा छ । 

यो भ्याली चंखेली गाउँपालिका–५ नेप्कामा पर्छ । चंखेलीबाट टाँके भ्याली पुग्न एक दिन पैदल यात्रा गर्नुपर्छ । यहाँ खान–बस्नका लागि स्तरीय होटेल छैनन् । भेडा र पशुवस्तु गोठमा बस्नुपरे पनि प्रकृतिसँग रमाउन खोज्नेका लागि दुई–चार दिन बितेको पत्तै हुँदैन । यो स्थानसम्म पुग्ने पदमार्ग निर्माण गर्न सके यस क्षेत्रको मात्रै होइन, जिल्लाकै प्रमुख पर्यटकीय स्थल बन्ने सम्भावना छ । 

के हेर्ने ? 
टाँके भ्याली पुगेकाहरूले यहाँ देखिने विभिन्न प्रजातिका चराचुरुंगी, जंगली जनावर, तालतलैया, झरना, छाँगा–छहराले निकै नै आकर्षित गर्ने बताउँछन् । यस्तै, जिल्लाकै सबैभन्दा ठूलो कक्षेपु झरना पनि टाँके भ्याली जाने बाटोमै पर्छ । यहाँ ६,०८८ मिटर उचाइको गोरख हिमाल हेर्न सकिन्छ । टाँके भ्यालीको उत्तरमा चीनको दोङपा प्रान्त छ । टाँके भ्यालीबाट एक दिनमै चीन पुग्न सकिन्छ । 

कसरी पुग्ने ?
नेपालगन्ज, सुर्खेतबाट गाडीको यात्राबाट हुम्लाको चंखेली गाउँपालिका पुगिन्छ । चंखेली गाउँपालिका केन्द्र पिप्लाङदेखि नेप्का गाउँ एक दिनमा पुगिन्छ । नेप्का गाउँबाट दुईदेखि तीन दिनको पदयात्रामा टाँके भ्याली सहजै पुगिन्छ ।  हिमाली भेग भएकाले न्याना लुगाकपडा बोक्न आवश्यक छ । गाउँबस्तीबाट टाढा भएकाले खाजा, खाना पनि आफैँले बोक्नुपर्ने हुन्छ । कम्तीमा पनि १०–१५ दिनको प्याकेज लिएर आउँदा टाँकेको भ्रमण रमाइलो हुन्छ । यस अवधिमा एकजनाको एक लाखसम्म खर्च हुन सक्छ ।