१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कृष्ण रिजाल काठमाडाैं
२०७८ भदौ २५ शुक्रबार ०८:४४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट आउने भएपछि खर्च र निकासा रोकियो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७८ भदौ २५ शुक्रबार ०८:४४:००

संसद्मा प्रतिपक्षको अवरोध कायम रहेकै वेला बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी : स्रोत सुनिश्चित नभएका कार्यक्रम काटिने, आर्थिक पुनरुत्थान र राहत कार्यक्रम थपिने

सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरेपछि चालू बजेटको निकासा रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले बिहीबार पत्राचार गर्दै अनिवार्य दायित्वबाहेकका खर्च र निकासा रोकेको हो ।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट कार्यान्वयनमा आइसकेको छ । त्यसकै आधारमा सरकारले खर्च तथा राजस्व परिचालन गरिरहेको छ ।

महालेखाले पत्रचार गर्दै आर्थिक वर्ष ०७८/७९ को सरकारको बजेट रकम निकास सम्बन्धमा तलब, भत्ता र निवृत्तिभरणबाहेकको कुनै पनि बजेट निकासा बिहीबारदेखि शनिबारसम्म (तीन दिन) नगर्न–नगराउन भन्दै पत्राचार गरेको हो ।

यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकास माग गर्ने र निकास गर्ने अधिकारी नै जिम्मेवार हुने व्यहोरासमेत महालेखाले जानकारी गराएको छ ।

 के आउँछ प्रतिस्थापन विधेयकमा ?
प्रतिस्थापन विधेयक आए पनि चालू बजेटमा ठूलो संशोधन नहुने अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बताए । यद्यपि, आवश्यकताअनुसार केही हेरफेर हुने उनले बताए । ‘केही कार्यक्रम काटिने र केही थपिने तयारी गरिएको छ, यसो हुँदा बजेटको आकार भने बढ्ने छैन, बरु सामान्य रूपमा घट्ने देखिन्छ,’ उनले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीले घोषणा गरेअनुसार आर्थिक पुनरुत्थानका तथा राहतका कार्यक्रमहरू ल्याउन जोड दिइएको छ ।’

 प्रतिस्थापन विधेयकको प्रक्रिया के हुन्छ ? 
प्रतिस्थापन विधेयक ल्याउन अहिलेको अध्यादेश स्वीकृत हुनुपर्छ । संसद्मा दर्ता भइसकेको अहिलेको बजेट अध्यादेश स्वीकृत भएन भने प्रतिस्थापन विधेयक ल्याउन मिल्दैन । बुधबार नै बजेट अध्यादेश संसद्मा प्रस्तुत गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण सफल भएन । शुक्रबार पनि अवरोध गरिए प्रतिस्थापन विधेयक ल्याउन गाह्रो हुनेछ । किनभने संसद्मा अध्यादेश पेस भएको ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्छ । बजेट अध्यादेश संसद्मा दर्ता भएको ६० दिन पुग्न एक साता बाँकी छ ।