१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १६:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली भन्छन्- एमाले अब २ जेठ ०७५ मा फर्कन्न, १०बुँदेलाई हाउगुजीका रूपमा नलिनुहोस्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:३१:oo

एमाले अध्यक्ष केपी ओलीले एमाले अब २ जेठ ०७५ मा जस्ताको तस्तै नफर्कने प्रस्ट्याएका छन् । विगतमा माधव नेपालसँग लागेका तेस्रोे पक्षका नेताहरू १०बुँदे सहमतिअनुरूप पार्टी २ जेठ ०७५मा फर्केको भन्दै एकताको पक्षमा अगाडि बढेका वेला अध्यक्ष ओलीले यस्तो प्रस्टीकरण दिएका हुन् । १०बुँदे सम्झौतालाई उपयोग गर्दै अगाडि बढिएको उनको भनाइ छ । 

पोखरामा मंगलबार एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले हिजो माधव नेपालसँग लागेर अहिले पार्टीमा रहेकाहरूलाई सजिलोसँग अप्ठ्यारो नमानी अगाडि बढ्न आग्रह गरेका छन् । ‘असहज मनका साथ नचलौँ । भारी मनका साथ नचलौँ । कतिपय ठाउँमा विनासित्ति जेठ २ भनेर उचालिएका पनि छन् । यो बिरालो बाँधेजस्तो होइन । यो कसैसँगको पार्टीसँग गरिएको सम्झौता होइन,’ उनले भने, ‘माधव नेपाललाई पनि रोक्नका लागि बनाइएको कार्यदलले गरेको सम्झौता हो । हामीले यसलाई उपयोग गरेका छाैँ । यसलाई हाउगुजीका रूपमा नलिनुहोस् । सक्रियताका साथ अगाडि बढौँ ।’ 

कतिपयले जेठ २ लाई समस्याको रूपमा लिएको र के हुन्छ भनेर हेरेको भन्दै अध्यक्ष ओलीले त्यो १०बुँदे सहमति समस्या समाधानका लागि भएको भनेका छन् । ‘१०बुँदे सहमति जसोजसो गर्दा समस्या समाधान हुन्छ, त्यसैत्यसै गर्नका लागि हो,’ उनले भने । 

हिजो अन्तर्संघर्ष ठानिएर अलमलमा परेका नेता–कार्यकर्ताहरू अहिले पार्टीमा एकढिक्का भएर लागेको उनको दाबी छ । हिजो माधव नेपालतर्फ लाग्नेहरू हामी झुक्किएका रहेछौँ भन्दै आएको र आफूहरू एकै कित्तामा रहेको अध्यक्ष ओलीले बताए । ‘पार्टीमा अन्तर्संघर्ष ठानिएका वेला त्यतातर्फ लागेकाहरू अहिले पार्टी विभाजन गर्ने नियत देखेपछि पार्टी फुट्न हुन्न भनेर लाग्ने र हामी एक कित्तामा छौँ । माधव नेपालको पार्टी फुटाएर प्रतिक्रियावादीहरूलाई फाइदा पुर्‍याउने नियत रहेछ भन्ने बुझेकाहरू एक ठाउँमा छौँ । बिग्रिएका, सडेगलेको कम्युनिस्ट पार्टी ध्वस्त पार्नुपर्छ भन्नेहरू एकातर्फ छन् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी प्रतिपक्षमा छ भनेर निराश नहुनसमेत पार्टीका कार्यकर्तालाई आग्रह गरे । देशका समस्यातर्फ सरकारको ध्यान नरहेको र देशले दुःख पाउन थालेको उनले बताए । एमाले नेता–कार्यकर्ताहरू  धनुषबाट छुटेको वाँणजस्तो गतिमा अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । ‘हामी धनुषबाट छुटेको वाँणजस्तो सन्सनाएर अगाडि बढ्छाैँ । हाम्रो संकल्प देश बनाउने हो । देशका दाजुभाइहरूले मनोबल गिराउने काम गर्नुहुँदैन,’ उनले भने ।

ओलीले बेलायतमा ब्रिटिस गोर्खाले गरेको आन्दोलनलाई आफूहरूले सम्बोधन गरेको दाबी गरे । सम्बोधनका क्रममा उनले भने, ‘ब्रटिस गोर्खाको आवाज सम्बोधन गर्‍याैँ । प्रतिपक्षमा भए पनि हामीले समस्या हल गर्‍याैँ । हामी प्रतिपक्षमा भए पनि दबाब दिएर यसको निकास दिएका हौँ,’ उनले भने ।

एमालेसँग एक्लै लड्ने  कांग्रेसको हिम्मत छैन 
ओलीले एमालेसँग एक्लै लड्ने हिम्मत कांग्रेससँग नभएकोसमेत बताएका छन् । विगतमा पनि माओवादी केन्द्रसँग मिलेर आफूहरूविरुद्ध निर्वाचन लडेको चर्चा गर्दै त्यसो गर्दा माओवादीलाई फाइदा भए पनि कांग्रेसलाई भने फाइदा नहुनेतर्फ उनले सचेत गराएका छन् । ‘हामीसँग निर्वाचन लड्ने हिम्मत कांग्रेसको छैन । ऊ एक्लै लड्दैन । विगतमा पनि उसले माओवादी केन्द्रसँग मिलेर हामीसँग लडेको हो । त्यसको फाइदा मतपत्र च्यातेरै भए पनि छोरीलाई जिताएकै हुन् । यहाँ पोखरामा के भयो तपाईंहरूलाई थाहा छँदै छ,’ उनले भने । 

ओलीले गठबन्धन गरेरै चुनाव लडे पनि आफ्नो दललाई अरूले पराजित गर्न नसक्ने ठोकुवा गरे । ‘५–१० पार्टी जति उत्खनन गरेर ल्याए पनि एमालेले जित्छ ।’

माधव नेपाल ‘अत्यन्त बेसरम मान्छे’
ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘अत्यन्त बेसरमको मान्छे’ भनेका छन् । नेकपा एमाले सिध्याउने ध्याउन्नमा लागेको भनेर कटाक्ष गर्दै उनले अहिले मन्त्री पद बेच्न लागिएको टिप्पणी गरे । ‘एमालेलाई समाप्त पार्ने, मन्त्री पद बेच्न आएका छन् । पार्टीको पद बेच्न आइरहेका छन् । प्रदेशमा खान जन्मिएकाहरू हौ, खाऊ, नेकपा एमालेका कार्यकर्ता देश बनाउने सोच्छन् । खान जन्मेका होइनन्,’ उनले भने ।

ad
ad