१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Tuesday, 17 June, 2025
मुरारीराज मिश्र
२o७८ भदौ २२ मंगलबार o९:१४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

किन हेर्ने बाबुको मुख ?

Read Time : > 2 मिनेट
मुरारीराज मिश्र
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार o९:१४:oo

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः । 
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।। 
पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च । 
तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।। 

अर्थात् : पिता भनेका धर्म हुन्, पिता स्वर्ग हुन् र पिता नै सबैभन्दा श्रेष्ठ तपस्या हुन् । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन् । जुन सन्तानको सेवा र सद्गुणबाट पिता सन्तुष्ट रहन्छन्, त्यस सन्तानलाई प्रतिदिन गंगास्नान गरेको पुण्य प्राप्त हुन्छ ।उल्लिखित श्लोक जीवनमा पिताको कस्तो महत्व छ भन्ने प्रस्ट्याउन पर्याप्त छ । आँखामा आँसु नदेखाई, थकाइ, पीडा र आफ्नो आवश्यकतालाई तिलाञ्जली दिँंदै ओठमा हाँसो देखाउन सक्ने उदार छाती पितासँग मात्रै हुन्छ । हामी आमालाई पृथ्वीसँग तुलना गर्छाैं भने पितालाई आकाशसँग । सन्तानका संरक्षक पालनकर्ता हुन् पिता । यसो भन्दा आमा सन्तानकी संरक्षक होइनन् भनेको वा आमाको महत्व कम छ भनेको अर्थ नलगाइयोस् । आमाको तुलना कसैसँग हुन सक्दैन । सामान्यतया पिता भन्नाले हामी जन्मदातालाई सम्झन्छौँ । तर, पिता शब्दले व्यापक अर्थ बुझाउँछ । संस्कृतमा एउटा श्लोक छ –

‘विद्यादाता, जन्मदाता, कन्यादाता तथैव च,
अन्नदाता, भयत्राता पञ्चैते पितर स्मृताः ।’

अर्थात् विद्या दिने गुरु, जन्म दिने पिता, कन्या दिने ससुरा, अन्न दिने कृषक वा पालनपोषण गर्ने र त्रासबाट रक्षा गर्ने पाँच व्यक्तिलाई पञ्चपिताका रूपमा लिइन्छ । यस्तै, हाम्रो धर्म, संस्कृति र परम्पराले बाबुका दाजु–भाइ तथा हजुरबुबालाई पनि बाबुसरह नै पूज्य मानेका छन् ।महाभारतको वनपर्वमा यक्ष–युधिष्ठिर संवादको क्रममा ‘...पिता चोच्चतरं च खात्’ भनेर पितालाई आकाशभन्दा विशाल भनिएको छ ।

अर्थात् पिताको हृदयाकाशमा आफ्ना सन्तानका लागि जुन असीम माया हुन्छ, त्यसको वर्णन गर्न सकिन्न । पिता र सन्तानबीच कति प्रेम, स्नेह, मोह वा त्यागको भावना हुन्छ भन्ने आज्ञाकारी पुत्र श्रवणकुमार तथा राम–लक्ष्मणको वियोगमा उनीहरूका पिताले प्राण त्यागेका र पिताको सुखका खातिर आफू आजीवन अविवाहित रहने र राजगद्दीमा दाबी नगर्ने भीष्म प्रतिज्ञा गरेका देवव्रतलगायत पौराणिक उदाहरणबाट पनि बुझ्न सकिन्छ । हामीले देवता देखेका छैनौँ, तैपनि हामी आपत्–विपत् आइपर्दा रक्षार्थ र सहयोगार्थ देवतालाई नै पुकार्छाैं । हाम्रा हरेक बाधा व्यवधान फुकाइदिने र हरेक आवश्यकता पूरा गर्ने पितालाई भने हरक्षण भुल्छौँ । वास्तवमा पिता हाम्रा लागि साक्षात् देवतातुल्य स्तूत्य हुन्छन् । अर्थात् ‘सर्वदेवमयः पिता’ । 

अबका दिनमा पैतृक सम्पत्तिमा सन्तानको हक लागेझैँ सन्तानको आम्दानी र सम्पत्तिमा पनि आमाबाबुको निश्चित प्रतिशत हक लाग्ने कानुन बन्नुपर्छ
 

हाम्रा धार्मिक ग्रन्थहरू, वेद, पुराण, शास्त्र र परम्पराले पितालाई यति उच्च स्थान दिँदादिँदै पनि आजको भौतिकतावादतिर लम्किरहेको हाम्रो समाजमा मातापिताहरू आफ्नै सन्तानको अवहेलनामा परिरहेछन् । समाज आधुनिक बन्दै छ, आमाबुबाहरू एक्लिँदै छन् । हिजोआजका सन्तानमा पैतृक धनसम्पत्तिमा हक खोज्ने तर बुबाआमाप्रतिको कर्तव्य भुल्ने, उचित सम्मान र रेखदेख नगर्ने, उनीहरूलाई मार्गदर्शकभन्दा पनि बोझ मान्ने प्रवृत्ति मौलाउँदै छ । संयुक्त परिवारको प्रचलन हट्दै गएको सहरी संस्कृतिले गर्दा आफ्नो पाखुरीमा बल र सम्पत्ति सकिएपछि सन्तानले गर्ने हेला तथा सन्तानमा पलाएको विदेशमोह र विदेश गएपछि नफर्किने प्रवृत्तिजस्ता कारणले पनि मातापिताको वृद्धवस्था कष्टकर हुँदै गएको छ । यो सबै सन्तानलाई नैतिक शिक्षा र असल चरित्र दिन नसक्नुको परिणाम हो । 

प्रत्येक सन्तानले आफूलाई आफ्ना मातापिताले कस्ता कष्ट व्यहोरेर हुर्काएछन् भन्ने महसुस आफू मातापिता भएपछि गर्नुपर्ने हो । तर, समाजमा देखिएका कतिपय दृष्टान्तले त्यस्तो महसुस गरेको देखिन्न । एउटा बाबुले आफ्ना जति ओटा सन्तान भए पनि कसैगरी हुर्काउँछन्, तर सबै छोरा मिलेर आमाबाबुलाई (अपवादबाहेक) बुढेसकालमा राम्ररी राख्न सकेको देखिन्न । सन्तान स्वार्थी भएजस्तै मातापिता पनि स्वार्थी भइदिए भने समाज कस्तो होला ? यो कुरा सन्तानले बुझ्नु जरुरी छ ।

मातापिताको सम्मानार्थ समाज र राज्यबाट पनि पहल हुनुपर्ने हो । तर, राज्यले यसतर्फ नजरअन्दाज गरेको देखिन्छ । आमा र बुबाको मुख हेर्ने पर्वमा दिँदै आएको बिदासमेत कटाइएको छ । यी दिनमा शिक्षण संस्थामा मात्रै भए पनि सार्वजनिक बिदा दिन र माध्यमिक तहसम्मको पाठ्यक्रममा नैतिक शिक्षा अनिवार्य गर्नु जरुरी छ । यस्तै, पैतृक सम्पत्तिमा सन्तानको हक लागेझैँ सन्तानको आम्दानी र सम्पत्तिमा पनि आमाबाबुको निश्चित प्रतिशत हक लाग्ने कानुन बन्नुपर्छ । यसले उनीहरूलाई आफ्ना जन्मदाताप्रतिको कर्तव्यबोध वा जिम्मेवारी स्मरण गराउँछ ।

आज हामीले गरेका कर्म र व्यवहारको सिको हाम्रा सन्तानले गर्ने हुन् । पछि पछुताउन नपरोस् । त्यसैले समय छँदै विचार पुर्‍याऊँ । मातापिताको सम्मान उनीहरूको जीवनकालमै गरौँ । जिउँदोमा लात, मरेपछि घिउ–भात भनेझैँ मृत्युपछिको आडम्बरले केही अर्थ राख्दैन । जिउँदो छँदा उनीहरूलाई सधैँ रुवाएर मृत्युपश्चात् गोहीको आँसु चुहाउनु व्यर्थ छ ।