मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ७ आइतबार
  • Sunday, 24 October, 2021
अविरल वर्षापछि बागमतीमा आएको बाढी । नदीको पानी बस्तीका घरघरमा पसेको छ । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडौं
२०७८ भदौ २२ मंगलबार ०७:२८:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

खोलाछेउ बस्ती, बस्तीमा खोला

Read Time : > 5 मिनेट
२०७८ भदौ २२ मंगलबार ०७:२८:००

सोमबार परेको वर्षाका कारण तीन सय ८२ घर डुबानमा, एक सय ३८ जनाको उद्धार

आइतबार राति काठमाडौंमा १० वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएपछि उपत्यकाका खोलानजिकका बस्तीमा बाढी पसेको छ । बाढीबाट काठमाडौंका विभिन्न ठाउँका तीन सय ८२ घर डुबानमा परेका छन् भने एक सय ३८ जनालाई उद्धार गरिएको छ ।

बागमती र धोबीखोलामा आएको बाढीले अनामनगर, मैतीदेवी, डल्लु, टेकु, ताहाचल, मनमैजु, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्वेश्वरी, जोरपाटी, कालोपुल र बानियाटार डुबानमा परेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । त्यसैगरी, जडीबुटी, थापाथली, शंखमूल युएनपार्क, कालीमाटी, बालाजु, बल्खु, हात्तीवनलगायत क्षेत्रमा रहेको बस्ती पनि डुबानमा परे । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार खोलाभन्दा होचो क्षेत्रमा बनेका घर ठूलो पानी पर्दा डुब्ने समस्या हुन्छ ।

डा.मन्दिरासिंह श्रेष्ठ वरिष्ठ जलस्रोतविद्, इसिमोड

जलवायु परिवर्तनका कारण विश्वमै विभिन्न खालका समस्या आएका छन् । त्यो समस्या नेपालमा पनि देखिएको हो । जलवायु परिवर्तनका कारण थोरै समयमा ठूलो वर्षा हुनुको कारण काठमाडौं उपत्यका डुबानमा पर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)की सिनियर जलस्रोतविद् डा. मन्दिरासिंह श्रेष्ठले जलवायु परिवर्तनसँगै थोरै समयमा धेरै पानी पर्ने गरेकाले डुबानको समस्या भएको बताइन् । ‘जलवायु परिवर्तनका कारण विश्वमै विभिन्न खालका समस्या आएका छन् । त्यो समस्या नेपालमा पनि देखिएको हो । जलवायु परिवर्तनका कारण थोरै समयमा ठूलो वर्षा हुनुको कारण काठमाडौं उपत्यका डुबानमा पर्ने गरेको छ,’ उनले भनिन् । श्रेष्ठले जलवायु परिवर्तनसँगै अव्यवस्थित सहरीकरण, नदीको बहाव नै थुनिने गरी भौतिक संरचना निर्माण हुँदा पनि उपत्यका डुबानको समस्यामा पर्ने गरेको बताइन् । 

खोलाको नजिकै स–साना टहरा निर्माण गरेर बस्ती बसाल्दा खोलाको बहाव क्षेत्र नै खुम्चिएपछि पानी बस्तीमा पस्छ । उपत्यकाका ठूला खोलाको किनारमा बाक्लो सुकुम्बासी बस्ती छ, जसकारण खोलाको क्षेत्र नै साँघुरो बनेको विज्ञको भनाइ छ । थापाथलीमा एक सय ४७ घर, गुसुमवहाल पुलदेखि विष्णुमती दोभानसम्म एक सय ९०, सिनामंगलमा एक सय १२, विष्णुमती दोभानदेखि बल्खुसम्म एक सय १३ घर, बालाजु पुलदेखि गोंगबु पुलसम्म पाँच सयभन्दा बढी सुकुम्बासीका घरहरू छन् । 

पूर्वाधारविज्ञ सूर्यराज आचार्यले पनि अस्तव्यस्त र अव्यवस्थित सहरीकरणले डुबानको समस्या देखिएको बताए । ‘काठमाडौंको भू–बनोटमा पर्याप्त भिराला जमिन छन् । जब जनघनत्व र सहरी संरचना बढ्यो, त्यहीअनुसार नदीनाला व्यवस्थापनको काम भएन । यहाँको सहरी विकास र योजनाहरू कामचलाउ किसिमका मात्रै भए । आकाशको पानीलाई समेत बग्ने ठाउँ दिइएन । फोहोर पानी र वर्षाको पानी बग्ने प्रणाली नै व्यवस्थित छैन,’ उनले भने । घरभित्र पानी पस्दा नदी क्षेत्रका बासिन्दा जोखिममा छन् ।

०६५ मै तोकियो मापदण्ड, भएन पालना
०६५ मा सरकारले बागमती, धोबीखोला, विष्णुमतीलगायत उपत्यकाका खोलाहरूको बहाव क्षेत्रसम्बन्धी मापदण्ड तोकेको थियो । १ मंसिर ०६५ को मन्त्रिपरिषद्ले ठूला नदीआसपासमा २० मिटर जग्गा छाडेर मात्रै संरचना बनाउने मापदण्ड जारी गरेको थियो, जसअनुसार भौतिक संरचना बनाउँदा बागमती, विष्णुमती तथा मनोहरा क्षेत्रमा २० मिटर छोड्नुपर्ने व्यवस्था थियो । त्योबाहेक काठमाडौंका अन्य खोलाहरूको हकमा भने फरक–फरक मापदण्ड तय गरिएको थियो । बल्खु, कर्मनासा, गोदावरी, महादेव खोला क्षेत्रमा १० तथा धोवीखोला र नख्खुखोलामा १२÷१२ मिटर छाडेर संरचना बनाउनुपर्ने मापदण्ड तय गरिएको थियो । त्यस्तै उपत्यकाका अन्य साना खोलाको नजिक संरचना बनाउँदा खोलाबाट चार मिटर दूरी छाडेर बनाउनुपर्ने नियम थियो । 

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेन्द्र बोहराले अहिले बागमती नदीको बहाव क्षेत्र ४० र अधिकार क्षेत्र ८० मिटर कायम रहेको बताए । उनका अनुसार त्यो क्षेत्रमा हरेक वर्ष बालुवा र माटोले पुरिएर १/२ फिट घट्ने गरेको छ । त्यसलाई नियन्त्रण गर्न नदीबाट हरेक वर्ष बालुवा र माटो निकाल्नुपर्ने बोहराको भनाइ छ । नदीमा पुरिएको बालुवा र माटो झिक्दा नदी गहिरो हुन्छ । ‘समितिले बागमती नदीको बालुवा र माटो झिक्न यो वर्ष एक करोड रकम छुट्याएको छ । समितिले आगामी वर्षदेखि हरेक वर्ष वर्षा सुरु हुनुअघि नै थुप्रिएको माटो बालुवा झिक्नुपर्ने योजना अघि सारेको छ,’ बोहराले नयाँ पत्रिकासँग भने । 

बहाव क्षेत्र घटाउँदा बस्तीमा खोला
धोवीखोलाको बहाव क्षेत्र १० मिटर कायम गरिए पनि अहिले ७÷८ मिटर मात्रै कायम छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी इन्जिनियर कमल अर्यालका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले करिडोर निर्माण गर्दा कतिपय ठाउँमा क्षेत्रफल पूरा नगरेका कारण पनि नदी साँघुरो भएर पानी बस्तीमा पस्ने गरेको छ ।

खोलामा मनपरी तरिकाले पुल बनाउने, भित्रको माटो र बालुवा ननिकाल्ने, बहाव क्षेत्रफल कायम गर्दा कम क्षेत्रफल छाड्नेजस्ता कारणले खोला बस्तीमा पस्ने गरेको पाइएको छ । ललितपुरको कर्मनासा खोलाको बहाव क्षेत्र १० मिटर हो, तर हाल धेरैजसो ठाउँमा ६ मिटर मात्रै कायम छ । बागमती नदीको बहाव सुन्दरीजल–गोकर्णसम्म २०, जोरपाटी–पशुपतिसम्म ४०, पशुपति–सिनामंगलसम्म ३०, मनोहरा दोभान क्षेत्रमा ४० र विष्णुमती दोभान–चोभारसम्म ८० मिटर खोलाको बहावक्षेत्र कायम छ । हाल चोभार केही पर खोलामा फोहोर थुप्रिएर पानी होल्ड हुने समस्या सिर्जना भएको छ । 

कर्मनासाको धार नै परिवर्तन
बढ्दो बस्तीले ललितपुरको उत्तरी क्षेत्र सिलौटे–हात्तीवन हुँदै बग्ने कर्मनासा खोलाको धार नै परिवर्तन भएको छ । सिलौटेदेखि हात्तीवनको पुलसम्म करिब एक किलोमिटर क्षेत्रमा खोलाको धार परिवर्तन भएको हात्तीवनका स्थानीयवासीको भनाइ छ । खोलाको धार परिवर्तन गर्दा र खुम्च्याउँदा हात्तीवन क्षेत्र बर्सेनि डुबानमा पर्छ । हात्तीवनका स्थानीय विकास महर्जनले नक्साअनुसार खोला नबगेको बताए । उनले व्यक्तिको जग्गामा खोला परेको र खोलाको जग्गा व्यक्तिले समेत प्रयोग गरेको बताए । उनले भने, ‘कतिपय ठाउँमा खोलाको जग्गा व्यक्तिको कब्जामा छ, हात्तीवनमा एक किमि करिडोरको धार परिवर्तन भएको छ, नक्सामा खोला बग्ने क्षेत्र धापाखेल र हरिसिद्धि देखिएको छ ।’ अर्का स्थानीय दीपक महर्जनले पनि खोलाको क्षेत्रमा साँघुरो पार्दा खोला बस्तीमा पस्ने गरेको बताए । उनले भने, ‘यस क्षेत्रमा कतिपय व्यक्तिले खोलाको जग्गामा डोजरसमेत चलाएका छन्, खोलाको जग्गा संरक्षण गर्नेबारे सरकारी निकायले चासो दिएका छैनन् ।’ ०२१ को नापी नक्साअनुसार खोलाको बहाव क्षेत्र १० मिटर कायम थियो । तर, हाल ६ मिटरमा साँघुरिएको छ । कतिपय व्यक्तिले खोलाको जग्गा मिचेर बैंकमा धितो राखी ऋणसमेत लिएको प्रमाण भेटिएको महर्जनको भनाइ छ । 

सूर्यराज आचार्य, पूर्वाधारविज्ञ

काठमाडौंको भू–बनोटमा पर्याप्त भिराला जमिन छन् । जब जनघनत्व र सहरी संरचना बढ्यो, त्यहीअनुसार नदीनाला व्यवस्थापनको काम भएन । यहाँको सहरी विकास र योजनाहरू कामचलाउ किसिमका मात्रै भए । आकाशको पानीलाई समेत बग्ने ठाउँ दिइएन ।
 

सेलायो ड्याम बनाउने योजना
समितिले एक वर्षअघि शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा ड्याम बनाउने योजना बनाएको थियो । त्यसको डिपिआर पनि तयार भइसकेको छ । ८५ लाख घनमिटर पानी अट्ने ड्यामको डिपिआर तयार भए पनि काम अझै सुरु भएको छैन । १० अर्ब लागतमा पाँच वर्षमा सकिने सो योजना सकिएपछि बागमतीमा निरन्तर पानी आउने र बाढीको डर नहुने दाबी गरिएको छ । समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार भारी वर्षा भएको वेला ड्याममा पानी संकलन हुन्छ । त्यसले बाढी नियन्त्रण हुन्छ । ड्याममा संकलन भएको पानी हिउँदमा बागमतीमा छाडिने गरी योजना तयार गरिएको हो । ‘डिपिआर तयार भइसकेको छ, यो वर्षदेखि काम सुरु हुन्छ,’ उनले भने, ‘ड्याम बनेपछि बागमती र धोबीखोलामा बाढीको डर कम हुनेछ ।’

एकाएक ठूलो वर्षा किन ?

मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ वर्षाको आकलन गरे पनि यति ठूलो वर्षाको प्रक्षेपण गरेको थिएन । तर, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली मध्य र पूर्व नेपाल भएर स्थानीय वायुमा मिसिँदा कालो बादल मडारिएर ठूलो वर्षा हुन पुगेको हो । ‘मनसुनी वर्षा छरिएर हुन्छ, तर यो प्रणालीले एकै ठाउँमा केन्द्रित वर्षा गराउँछ,’ महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘यो दुर्लभ घटना हो, तर यसलाई क्लाउड ब्रस्ट भन्न मिल्दैन ।’ महाशाखाले सोमबार दिउँसो विशेष बुलेटिन जारी गर्दै ‘पश्चिमी बंगालको खांडीमा अवस्थित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने’ बताएको छ । मंगलबारसम्म देशका धेरै स्थानमा वर्षा हुनेछ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको आकलन महाशाखाले गरेको छ ।

काठमाडौं उपत्यकामा हालसम्मकै पाँचौँ ठूलो वर्षा

त्रिभुवन विमानस्थल क्षेत्रभन्दा पनि ठूलो वर्षा भक्तपुरको नगरकोटमा, एक घन्टामै ५४ र पाँच घन्टामा १०९ मिलिमिटर वर्षा मापन 

काठमाडौं उपत्यकामा पाँचौँ ठूलो वर्षा भएको छ । चार दिनयता उपत्यकामा तापक्रम बढेसँगै देखापरेको स्थानीय वायुमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु सम्मिश्रण हुँदा आइतबार राति काठमाडौं उपत्यकामा ठूलो पानी परेको हो । 

पानी सोमबार बिहानसम्म परेको थियो । मौसमविद्हरू एक घन्टामा ६०, तीन घन्टामा ८०, ६ घन्टामा एक सय र २४ घन्टामा १२० मिलिमिटर वर्षा भएमा अतिभारी भन्छन् । यो वेला बाढीपहिरोको जोखिम हुने भएकाले अलर्ट जारी गरिन्छ । तर, आइतबार राति भक्तपुरको नगरकोट क्षेत्रमा एक घन्टामै ५४ मिलिमिटर, पाँच घन्टामा १०९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग हावापानी विज्ञान महाशाखाको तथ्यांक छ । विमानस्थल क्षेत्रमा राति पाँच घन्टामा १०५ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

पछिल्लो २४ घन्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा १२१. ५ मिलिमिटर वर्षा मापन हुँदा नगरकोटमा त्योभन्दा बढी १२२.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो वर्षालाई प्राविधिक रूपमा २४ घन्टामा भनिए पनि आइतबार रातिदेखि सोमबार बिहान ८:४५ बजेसम्मको तथ्यांक हो । 

‘२४ घन्टाको तथ्यांकलाई हेर्दा यो धेरै ठूलो वर्षा त होइन, तर छोटो समयमै ठूलो पानी परेको छ,’ महाशाखाका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन्, ‘नगरकोटमा १० मिनेटमै ९४ मिलिमिटरसम्म वर्षा रेकर्ड भएको छ, यो भनेको ठूलो दर्केको पानी हो ।’ छोटो अवधिमै ठूलो वर्षा हुँदा सोमबार बिहान बागमती र त्यसका सहायक नदी छेउका बस्ती डुबानमा परेका थिए ।