मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ २२ मंगलबार ०७:००:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कम उमेरमै बढ्दो हृदयघात

विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार दक्षिण एसियाली देशहरूमा हृदयाघातको समस्या दश वर्षअगाडि नै अर्थात् कम उमेरमै देखिन थालेको छ

Read Time : > 1 मिनेट
२०७८ भदौ २२ मंगलबार ०७:००:००

-भारतीय अभिनेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा कार्डियक अरेस्टबाट अचानक मृत्यु भएपछि धेरैलाई स्तब्ध बनाएको छ । समाचार माध्यमहरूका अनुसार अभिनेता शुक्लाको छाती दुखेपछि गत बिहीबार बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको करिब ६ घन्टापछि अर्थात् बिहान १० बजेतिर मुम्बईस्थित कुपर अस्पतालका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । शारीरिक रूपमा स्वस्थ देखिने अभिनेता शुक्लाको मृत्युले पछिल्लो समय कम उमेरका युवाहरूमा बढ्दो हृदयाघात समस्याबारे बहस सिर्जना गरिदिएको छ । 

-काठमाठौंको महाराजगन्ज बस्दै आएका २१ वर्षीयसमर सुवेदीलाई गत बिहीबार एक्कासि छाती दुख्ने समस्या भयो । कार्यालयमा काम गरिरहेको समयमा एक्कासि छाती दुख्ने र श्वास फुल्ने समस्या देखिएपछि सहकर्मीहरूले उनलाई गंगालाल अस्पताल पुर्‍याए । समयमै अस्पताल पुर्‍याइएकोले उनलाई प्राइमरी एन्जियो प्लास्टीबाट उपचार गरियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूको भनाइ छ । 

चिकित्सकहरूका अनुसार केही वर्षयता ४० वर्षमुनि उमेर समूहमा मुटुसम्बन्धी समस्या र खासगरी हृदयाघातको समस्या बढ्दै गएको छ । बदलिँदो जीवनशैलीका कारण केही दशकयता मुटुको समस्या लिएर अस्पताल पुग्ने ४० वर्षमुनिका बिरामीहरूमध्ये २० देखि २५ प्रतिशत हृदयाघातका बिरामी हुने गरेका छन् । अस्वस्थ खानपानका कारण मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धुमपानका कारण युवा उमेरमै हृदयाघातका समस्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ । साथै महामारीपछि पोस्ट कोभिडका लक्षणहरूमा समेत मुटुसम्बन्धी समस्या देखिएकाले हृदयाघातघातक बन्दै गएको अध्ययनले देखाएका छन् । 

नेपालमा हृदयाघात मात्र नभई मुटुसम्बन्धी समस्या अन्य रोगको तुलनामा अगाडि नै देखिन्छ । स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदनमा उल्लेख भएको तथ्यांकअनुसार, उच्च रक्तचापका ७ लाख ४१ हजार एक सय ५० जना बिरामी थिए । यस्तै ०७७/७८ मा पनि मुटुसम्बन्धी विभिन्न समस्या लिएर अस्पताल पुग्नेहरूको संख्या ६ लाख ४६ हजार तीन सय चारजना रहेको विभागको तथ्यांकले देखाउँछ । उपचारका लागि अस्पताल पुग्नेहरूको स्ांख्याका आधारमा मुटुसम्बन्धी समस्या दोस्रोदेखि तेस्रो नम्बरमा रहेको छ ।

 दक्षिण एसिया थप जोखिममा
सामान्यतया मुटुसम्बन्धी रोगको समस्या विश्वभरि नै बढ्दै गए पनि दक्षिण एसियाली मुलुकहरू थप जोखिममा रहेको विभिन्न अध्ययनले देखाउँछन् । विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार दक्षिण एसियाली देशहरूमा हृदयाघातको समस्या दश वर्षअगाडि नै अर्थात् कम उमेरमै देखिन थालेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के भन्छन्, ‘अस्वस्थ जीवनशैली र खानपानका कारण नेपाल, भारत, बंगलादेशजस्ता देशहरूमा हृदयाघातको समस्या जोखिमपूर्ण बन्दै गएको देखिन्छ । शारीरिक रूपमा स्वस्थ देखिने युवा उमेर समूहमा बढ्दो हृदयाघातको समस्या चिकित्सा जगत्कै लागि चुनौती बन्दै गएको छ ।’ 

चिकित्सा क्षेत्रमा भइरहेको तीव्र विकासका कारण हृदयाघातबाट हुने मृत्यदर घट्दै गए पनि हृदयरोगको जोखिम भने प्रत्येक वर्ष बढिरहेको बताउँछन्, डा. मास्के । उनी भन्छन्, ‘६० को दशकतिर हृदयाघातका कारण हुने मृत्युदर २० प्रतिशतभन्दा माथि थियो । रगत पातलो बनाउने औषधिसँगै भित्रिएका विभिन्न उपचार विधिका कारण मृत्युदर छोटो समयमै निकै घटेको हो ।

विश्वभरको तथ्यांक हेर्दा हृदयाघातबाट हुने मुत्युदर २ देखि ३ प्रतिशत रहेको छ । अर्थात् नेपालमा पनि हृदयाघातबाट हुने मुत्युदर ५ प्रतिशतभन्दा कम छ भन्न सकिन्छ ।’ तर, कोभिड महामारीपछि भने मुटुरोगबाट हुने मृत्युदर निकै बढेको अध्ययनहरूले देखाएका छन् । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले पछिल्लो समय गरेको अध्ययनअनुसार महामारीको पहिलो लहरमा मुटुरोग लागेका संक्रमितको मृत्युदर ११.१ थियो भने दोस्रो लहरमा मृत्युदर बढेर २४.५ पुगेको छ । महामारीका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुँदासमेत हृदयाघातबाट हुने मृत्युदर बढेको चिकित्सकहरू बताउँछन् ।