मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक २ मंगलबार
  • Tuesday, 19 October, 2021
कमल मादेन
२०७८ भदौ २० आइतबार १०:११:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गलत अभ्यासलाई सञ्चारमाध्यममा प्रोत्साहन 

Read Time : > 4 मिनेट
कमल मादेन
२०७८ भदौ २० आइतबार १०:११:००

हिजोआज सर्प घरमा पसेर उद्धार गरिएका तस्बिर दिनहुँजस्तो पोस्ट हुने गरेका छन् । मानौँ, नेपालमा सर्प उद्धार गरी त्यसको तस्बिर सञ्जालमा सम्प्रेषण गर्ने प्रतिस्पर्धा चलिरहेको छ ।

एउटा सञ्चारमाध्यमले ‘सर्पको चोटमा मलम लगाउने डेजी’ शीर्षकमा २५ साउनमा सम्प्रेषण गरेको समाचार विद्युतीय माध्यममा पढेँ । समाचारमा कास्की, पोखराकी १० वर्षीया डेजी भण्डारीले सर्प समाइरहेको तस्बिरसहित कुनै सर्प संकटमा परे उनबाट उद्धार हुन सक्ने उल्लेख छ । अझ  ‘कालो करेत, धामन, गोमन आदि सर्प चिन्न सक्ने डेजी सर्पसँग मिल्छिन्, सर्पलाई स्पर्श गर्छिन् र उनको न्यानो काखमा सर्प लडिबढी गर्दै रमाउँछन्’ थप विवरणमा लेखिएको छ । 

कलिलै उमेरमा केही सर्प प्रजाति पहिचान र समाउन सक्नु सर्पप्रति लगाव र साहसको प्रतीक हो । केटाकेटीका यस्ता कार्य अन्य सन्दर्भमा पनि कहिलेकाहीँ सम्प्रेषण हुने गरेको पढ्न, हेर्न पाइन्छ । तर, सर्प नै यसरी समाउन उत्प्रेरित हुनु उनका लागि मात्र होइन, उनका उमेरसमूहका बालबालिकाका निम्ति घातक सिद्ध हुन सक्छ । केटाकेटीले सर्प समाएको देखेर साहसिला स्वभावका केटाकेटी सर्प समाउन हौसिन सक्छन् । यसका लागि आमाबाबु वा दाजुदिदीले हेर्ने सामाजिक सञ्जाल उपयुक्त साधन भइरहेको हुन सक्छ । उनीहरूले कथं विषालु सर्प समाउन पुगे वा नजिक गए भने त्यस्ता सर्पले डस्न छुटाउँदैन । आमाबाबु वा अभिभावकले थाहा नपाएर समयमै उपचार नभए अकालमै मृत्युले गिजोल्छ ।

सर्पसँग जतिसुकै होसियार भए पनि यसले कुनै वेला छिसिक्क डस्न सक्छ । एकछिनको हौस्याइबाट बालबालिका सर्पको डसाइबाट प्रताडित भई ज्यान गुमाउनुपर्ने स्थिति सिर्जना हुन्छ । विश्व स्वास्थ्य संगठनले १७ मे २०२१ मा जारी गरेको एक जानकारीअनुसार संसारभर प्रतिवर्ष ८१ हजारदेखि एक लाख ३८ हजारजति मानिसको मृत्यु सर्पको डसाइबाट हुने गरेको छ ।

डेजी भण्डारीले तस्बिरमा समाएको सर्पलाई गाउँघरमा धामन भनिन्छ । यसले विशेषतः मुसा खाने भएकाले यसलाई र्‍याट स्नेक पनि भनेर चिनिन्छ । भारतको सर्पसम्बन्धी लेखिएको पुस्तकमा भने यसलाई इन्डियन र्‍याट स्नेक भनेर लेखेको पढ्न पाइन्छ । यसको वैज्ञानिक नाम भने थायस म्युकोसा हो । उज्यालो रहँदा विचरण गर्ने यो सर्पले मुसाका अतिरिक्त भ्यागुता, छेपारो, भित्ती आदि खान्छ । 

दुईदेखि अढाई मिटरसम्म लामो हुने यो सर्प विषालु भने होइन । तर, रोमुलस विट्टेकर र अशोक क्याप्टेनलिखित स्नेक्स अफ इन्डिया : द फिल्ड गाइड (सन् २०१५) शीर्षक पुस्तकका अनुसार यो सर्प कोब्रा, ब्यान्डेड रेसर, इन्डो–चाइनिज र्‍याट स्नेक र किङ कोब्रासँग मिल्दोजुल्दो हुन्छ । कोब्रा र किङ कोब्रा खतरनाक विषालु सर्प हुन् । कोब्रा अर्थात् गोमनको संसारभर करिब डेढ दर्जन प्रजाति छन् । नेपालमा यसको दुई प्रजाति छ । किङ कोब्रा संसारकै सबैभन्दा लामो विषालु सर्प हो । वयस्क किङ कोब्राको आकार धामनभन्दा निकै लामो हुन्छ । सर्पको पूरै शरीर नदेखिएसम्म सर्प चिन्न सक्नेले पनि कतिपय सर्प कुन प्रजाति हो भनेर ठम्याउन सक्दैन । कमन करेत सर्प पनि भर्खरै काँचुली फेरेको अवस्थामा धामनजस्तै देखिन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको माहामारी रोग नियन्त्रण विभागले सन् २०१९ मा जारी गरेको नेसनल गाइडलाइन्स फर स्नेकबाइट्स म्यानेजमेन्ट इन नेपाल शीर्षक पुस्तकअनुसार नेपालमा ८९ प्रजातिका सर्प छन् । तीमध्ये १७ प्रजाति विषालु छन् । त्रिभुवन विश्वविद्यालयमा सर्पबारे विद्यावारिधि गरिरहेका धराननिवासी सह–प्राध्यापक कुलप्रसाद लिम्बुका अनुसार नेपालमा १८ प्रजातिका सर्प विषालु छन् । 

सर्प उद्धार गर्ने काम देखासिकीजस्तो भइरहेको छ । यसका लागि आवश्यक सामग्रीसहित तालिमै लिनुपर्छ । झन् अभिभावकले नै आफ्ना सन्तानलाई नांगै हातले सर्प समाउन प्रेरित गर्नु र त्यसरी समाएको तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रेषित गर्नु कदापि राम्रो होइन 
 

सर्पले डसेको सबै अस्पतालमा उपचार हुँदैन । सर्पदंश उपचार केन्द्र वा सर्पदंश प्रभावित जिल्लाका जिल्ला अस्पतालसहित केही ठूला अस्पतालमा मात्र सर्पदंश उपचारका निम्ति प्रयोग गरिने स्नेक एन्टिभेनम उपलब्ध हुन्छ । गोमनले डसेको करिब एक घन्टाभित्र प्रताडितको शरीरको श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पुगिसकेको हुन्छ । विषको मात्रा बढी प्रवेश भए बिरामी एक–डेढ घन्टामै श्वासप्रश्वास प्रक्रियामा भाग लिने अंग प्यारालाइसिस भई मृत्युको मुखमा पुग्छ । करेतले डसेको एकदेखि दुई घन्टाभित्र पेट पोल्न सुरु हुन्छ । यसले डसेको अक्सर डाम पनि देखिन्न । दाँत मसिनो हुन्छ । यसले गोमनले जस्तो टाउको फुलाएर फुआँ गरेर डस्दैन । छिसिक्क सियोले घोचेको जसो गरी डस्छ । त्यसैले यसले डसेका बिरामी थाहै नभई मृत्युको मुखमा पुग्छन् । 

हेलचेक्र्याइँको परिणाम : काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटका कृष्णकमल फुयाँल सर्प समाएर खेलाउने गर्थे । उनी काठमाडौं उपत्यकामा पाइने धेरैजसो सर्पबारे जानकार थिए । स्थानीयले उनलाई ०७६ साल चैत महिनामा आलापोटको एउटा घरमा ठूलो सर्प पसेकाले समाउन अनुरोध गरे । उनले सजिलै सर्प समाए र २५ केजीको प्लास्टिकको चामलको बोरामा राखेर बजारतिर लगे । बजारमा सर्पलाई आफ्नै घाँटीमा बेरेर चटक देखाई केही पैसा बटुले । बजारबाट सुन्दरीजलतिर लागे, तर एकाध घन्टामा उनलाई कसैले बाटामा बेहोस अवस्थामा फेला पारी अस्पताल लैजाँदाजैजाँदै बाटौमै मृत्य भयो । उनको नाडी र हत्केलामा सर्पले डसेको प्रस्ट चिह्न देखिएको थियो । त्यसवेला सामाजिक सञ्जालमा फुयाँलले सर्प घाँटीमा बेरेर चुरोट खाइरहेको तस्बिर र भिडियो भाइरल थियो । 

बजारमा उनलाई कसैले त्यो सर्प किङ कोब्रा हो, विषालु हुन्छ भनेका थिए । तर, उनले काठमाडौं उपत्यकामा विषालु सर्प हुँदैन भनेर बेवास्ता गरे । सर्प अध्येता कुलप्रसाद लिम्बु र विराटनगरका सर्पप्रेमी प्रेम विष्ट ०७१ साउन महिनामा सिन्धुलीस्थित कमला खोँचमा किङ कोब्राको गुँड छ भनेर अध्ययन गर्न पुगेका थिए । उनीहरूले किङ कोब्रा त फेला पारेनन्, तर एउटा गतिलो गोमन समाउन सके । विष्टले त्यसवेला विराटनगर र आसपासका क्षेत्रबाट उद्धार गरेका करिब तीन दर्जनजति सर्प रानीस्थित आफ्नै घरमा पालेका थिए ।

विष्टले सिन्धुलीमा समाएको गोमन सर्प पनि सामान्य झोलामा राखी मोटरसाइकलमा चढे । मोटरसाइकल खाल्टोबाट क्रस गर्दा कुहिनोमा छिसिक्क केहीले घोचेको जस्तो महसुस गरे । मोटरसाइकल रोकेर हेर्दा थोरै रगत आएको थियो, दाँतले डसेको चिह्न थियो । त्यो झोलामै बोकेको गोमनले डसेको रहेछ । उनलाई सिन्धुली–बर्दिवासबीचको एक सर्पदंश उपचार केन्द्रमा प्रारम्भिक उपचार गरियो । थप उपचारका निम्ति एम्बुलेन्समा स्नेक एन्टिभेनम चढाइरहेकै अवस्थामा धरानस्थित बिपी हस्पिटल पुर्‍याइयो । विष्ट अस्पताल भर्ना हुँदा बेहोस अस्वस्थामा थिए । उनको आँखाको ढक्कन प्यारालाइसिस र श्वासप्रश्वासमा समस्या भइसकेको थियो । केही दिनमा डिस्चार्ज हुँदा उनले ७० हजार रुपैयाँ तिर्नुपर्‍यो । ५६ भाइर एन्टिभेनम लगाउनुपरेको थियो । 

सामाजिक सञ्जाल : नेपालमा सर्प उद्धार गर्ने व्यक्तिहरू पनि उल्लेख्य संख्यामा छन् । हिजोआज सर्प घरमा पसेर उद्धार गरिएका तस्बिर दिनहुँजस्तो पोस्ट हुने गरेका छन् । मानौँ, नेपालमा सर्प उद्धार गरी त्यसको तस्बिर सञ्जालमा सम्प्रेषण गर्ने प्रतिस्पर्धा चलिरहेको छ । यसबाट सर्प उद्धारसँगै सर्प मारिने क्रम केही घटेको र मानिसको जिउधन सुरक्षामा टेवा पुगिरहेको अवस्था छ । 

सर्प अध्ययन अनुसन्धान गर्नेले सामाजिक सञ्जालमा सम्प्रेषण भएका तस्बिरबाट कहिल्यै नदेखेका सर्पहरू देख्ने अवसर पाएको र पहिचान गर्न नसकेका सर्पहरू पहिचान गर्न मद्दत पुगेको पनि होला । यो सर्प उद्धार र तस्बिर सम्प्रेषणको सकारात्मक प्रभाव भएको २२ जुन २०२१ मा प्रकाशित ‘सिटिजन साइन्स एन्ड अनलाइन डेटा : अपरचुनिटिज एन्ड च्यालेन्जेज फर स्नेक इकोलोजी एन्ड एक्सन एगेन्स्ट स्नेकबाइट’ शीर्षकको लेखमा उल्लेख छ। 

तर, सामाजिक सञ्जालमा राखिएका तस्बिरहरू हेर्दा सर्प उद्धार गर्नेले पर्याप्त सावधानी अपनाएको देखिन्न । सर्प उद्धार गर्न सर्प समाउने टुप्पो घुमेको लामो लौरोजस्तो फलामको औजार, हातमा सर्पले डस्दा केही नहुने पन्जालगायत शरीर तथा विशेषतः खुट्टामा मजबुत जुत्ता आवश्यक पर्छ । 

आँखामा चस्मा हुनुपर्छ । किनभने, सर्पले विष फाल्न सक्छ । तर, नांगै हातले सर्प समाएको तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन्छन् । यो सर्पप्रति हदैसम्मको हेलचेक्र्याइँ हो । कृष्णकमल फुयाँलले हेलचेक्र्याइँबाटै ज्यान गुमाए । प्रेम विष्टले पनि सामान्य झोलामा गोमन बोक्दा झन्डै ज्यान गुमाए । सर्प संरक्षण संघ–संस्थाले सर्प उद्धार गरेर राम्रै काम गरिरहेको भए पनि उद्धार गर्ने विधि गलत छ । 

सर्प उद्धार गर्ने काम देखासिकीजस्तो भइरहेको छ । यसका लागि आवश्यक सामग्रीसहित तालिमै लिनुपर्छ । झन् अभिभावकले नै आफ्ना सन्तानलाई नांगै हातले सर्प समाउन प्रेरित गर्नु र त्यसरी समाएको तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रेषित गर्नु कदापि राम्रो होइन । आमपाठकमा गलत सन्देशकै कारण यसरी सर्प समाउन सकिने रहेछ भन्ने बुझाइ पैmलँदै गएको छ । सञ्चारमाध्यमहरूले पनि यस्ता तस्बिर प्रकाशन गर्न हुन्न भन्ने हेक्का राख्नुपर्छ ।